१ वैशाख २०८२ सोमबार
image/svg+xml १४:१४ अपराह्न
राजनीति

पूर्व राजालाई एमाले सांसदको प्रश्न: जनता र दलहरूले निर्मल निवास घेरे के हुन्छ?

नेकपा एमालेका सांसद रघुजी पन्तले पूर्व राजा ज्ञानेन्द्र शाहलाई जनताले दिएको सम्मानको गरिमा राख्न सुझाव दिएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीको प्रश्नको उत्तर दिँदै सांसद पन्तले यस्तो चेतावनी दिएका हुन्। 

‘पूर्व राजाले यसो मान्छे जम्मा गरेर जुलुसको नेतृत्व गर्दै मलाई साथ दिनुपर्‍यो भन्ने हो भने अरू नेपाली जनता र राजनीतिक दलहरूले निर्मल निवास घेरे भने के हुन्छ ?,’ सांसद पन्तले भने,‘उनीहरूलाई पनि त्यो अधिकार छ नि !’

जनआन्दोलनका बेला तत्कालीन राजतन्त्रले गरेको दमनका बाबजुद पनि शान्तिपूर्ण ढङ्गले पूर्व राष्ट्राध्यक्षको सम्मान दिएकामा त्यसको गरिमा राख्न उनले पूर्व राजा शाहसँग आग्रह गरे । 

‘अरू देशमा हिंसात्मक क्रान्ति भएको छ । र,  राजाहरू काटिएका इतिहास छन् । हामीले शान्तिपूर्ण ढङ्गले स–सम्मान, त्यत्रो दमनका बाबजुद पनि पूर्व राजालाई ससदबाट गणतन्त्रको घोषणा गरेर, संविधान बनाएर बिदा गर्‍यौं । उहाँलाई पूर्व राष्ट्राध्यक्षको सम्मान दिएकै छ । त्यो खाल सुरक्षा संयन्त्र उपलब्ध गराएकै छ । त्यो सम्मानलाई हिजोको राजाले बोक्नसक्नुपर्‍यो नि,’ सांसद पन्तले भने। 

राजनीतिक रूपमा मलाई साथ दिनुस् भन्ने अधिकार दलका नेताको रहेको पनि उनले बताए। उनले भने, ‘त्यो त एउटा दलको नेताले गर्नु कुरा हो, प्रचण्डजीलाई गर्न सुहाउँछ, राजेन्द्र लिङ्देनजीलाई सुहाउँछ अरू राजनीतिक दललाई सुहाउँछ, पूर्व राजालाई सुहाउँदैन ।’

प्रकाशित: १३ फाल्गुन २०८१ १९:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App