नेकपा एमालेबाट निष्कासनमा परेका पूर्व उपाध्यक्ष भीम रावलले अहिले ‘मातृभूमि जागरण अभियान’का नाममा देश दौडाहामा छन्। यस क्रममा रावल शनिवार पूर्वको विराटनगर पुगे। बुधवार मात्रै रावलले पत्रकार सम्मेलन गरेर आफ्ना असन्तुष्टिहरू पोखेका थिए ।
त्यसपछि शनिवार एकाएक रावल विराटनगर झरेका थिए । जहाँ उनको स्वागतमा राजावादी देखि नेकपा एकीकृत समाजवादी(नेकपा एस)का नेताहरूको लाम देखिएपछि तरङ्ग पैदा भयो। नेकपा एसका केन्द्रीय सदस्य वसिम आलमको नेतृत्वको समूह पनि विमानस्थल पुगेको थियो ।
रावलको स्वागतमा नेकपा एसका नेता पुग्नु अस्वाभाविक भएन। एमालेले निष्कासन गरेपछि रावललाई स्वयं नेकपा एसका नेताहरूले आफ्नो पार्टीमा आउन आह्वान नै गरिरहेका छन्।
तर, रावलको स्वागतमा राजावादी पुग्नु रोचक कुरा थियो। झन्डै पाँच दशक कम्युनिस्ट पार्टीमा बिताएका नेताको स्वागतमा राजावादी आउनु आफैमा नौलो खबर थियो । उनको स्वागतमा पछिल्लो समय राजावादी अभियान चलाइरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँ समूहका कार्यकर्ता थिए।
रावलको पूर्वी क्षेत्रको यो भ्रमणमा राजावादीसँग सङ्गत यत्तिमै सीमित रहेन। उनलाई ठाउँ ठाउँमा राजावादीले पछ्याइरहे, स्वयं रावल आफै राजावादीलाई भेट्दै हिँडे। कतिपय ठाउँमा अस्वाभाविक लाग्ने अभिव्यक्ति समेत दिए ।
रावलको पूर्वी यात्रा
विमानस्थलबाट रावल सुनसरीतर्फ लागे। उनी सुनसरीमा हुन गइरहेको भरौला भेट्रान कपको उद्घाटनका लागि भरौला पुगेका थिए। जहाँ उनलाई प्रतियोगिताको उद्घाटनको लागि प्रमुख अतिथिका रूपमा बोलाइएको थियो ।
तर, रावलले त्यो प्रतियोगिता उद्घाटन भने गर्न पाएनन् । प्रतियोगिता नै रद्द भयो । सार्वजनिक भएका समाचार अनुसार एमालेको दबाबमा आयोजकले त्यो कार्यक्रम रद्द गरेको भनिएको छ ।
रावल एमालेबाट निष्कासन हुनुअघि नै त्यो कार्यक्रम तय गरिएको र रावललाई प्रमुख अतिथिका लागि निमन्त्रणा गरिएको बताइन्छ । एमालेले रावललाई निष्कासन गरेपछि आयोजकलाई आपत् आइलाग्यो । अन्ततः आयोजक आफैले पानी हालेर मैदानमा हिलो रहेको भन्दै उद्घाटन कार्यक्रम रद्द गरेको आरोप पनि आयोजकलाई लागेको छ। एमालेको माथिल्लो तहबाट नै कार्यक्रम रोक्न निर्देशन दिइएको भन्नेहरू पनि छन्।
त्यसपछि रावल सुनसरीको भरौल चोकबाटै फर्किए । त्यहाँबाट उनी इटहरी उपमहानगरपालिका–६ स्थित आई सिनेमा हल पुगे। त्यहाँ राजावादीको कार्यक्रम थियो । प्रसाईँ समूहले चलाएको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानले त्यहाँ कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममा अभियानका कोसी प्रदेश संयोजक राजु तामाङ्ग, सुनसरी जिल्ला संयोजक सरोज सिंह लगायत ३०÷३५ जनाको सहभागितामा त्यहाँ कार्यक्रम गरियो ।
रावलले त्यहाँ आफूलाई बोलाएकोमा आयोजकलाई धन्यवाद दिए। उनले नागरिक बचाउ अभियान भनेको नै देश बचाउ भनिएको टिप्पणी सुनाए । ‘नागरिक बचाउ भनेको नै देश बचाउ भनेको हो,’ रावलले भने, ‘प्रत्येक नागरिक–जनता बस्ने, उनीहरूको रक्षा हुने, रोजगारी पाउने, विदेश जान नपर्ने यो स्थितिबाट नागरिकहरूलाई बचाउ भन्ने अभियान हो जस्तो लाग्छ।’ उनले आफू पनि पनि मातृभूमि जागरण अभियानमा रहेको बताए ।
त्यसपछि रावल इटहरी–६ स्थित राप्रपा नेता विष्णु रिजालको घर पुगे। त्यहाँ उनले राप्रपाका पूर्वकेन्द्रीय सदस्य रामु पोख्रेल र राप्रपा इटहरी उपमहानगर कमिटीका उपाध्यक्ष घनश्याम श्रेष्ठ लगायतहरुसँग भेटघाट गरेका थिए।
भेटघाटमा रावलले २०६२/६३ को आन्दोलन गणतन्त्र ल्याउनका लागि नभएकोसम्म भन्न भ्याएको चर्चा छ । समाचारमा आएअनुसार रावलले भनेका थिए, ‘२०६२/६३ मा गणतन्त्र ल्याउने भन्ने थिएन । यो म तपाईंहरुलाई जानकारी गराउँछु । धर्मनिरपेक्षता पनि थिएन। सङ्घीयता पनि थिएन। हामीले सङ्गठन गर्ने, अभिव्यक्ति दिने, सङ्गठन बनाउने यो राजतन्त्रबाटै हुन्छ भनेर आन्दोलन सुरु ग¥यौं ।’ जब आन्दोलन उत्कर्षमा पुग्यो त्यसपछि घुसाउनेहरूले धर्मनिरपेक्ष र सङ्घीयता घुसाएको भनेका थिए।
त्यहाँको भेटघाटपछि रावल राति बस्नका लागि इटहरी–२ स्थित सोल्टी होटेल पुगे। सोही दिन कार्यक्रम विशेषले सुनसरी पुगेका उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह पनि त्यही होटेलमा थिए। बेलुका सिंह र रावलबिच करिब आधा घण्टा जति भेट भएको थियो । तर के विषयमा छलफल भयो भन्ने कुरा अहिलेसम्म बाहिर आएको छैन।
आइतबार रावल इटहरीबाट धरान पुगे। उनी धरान उपमहानगरपालिका–१६ स्थित निमेष गुरुङको घर पुगेका थिए। उनी पारिवारिक भेटघाटमा पुगेको बताइएको छ। गुरुङ भूपू सिङ्गापुरे लाहुरे हुन्। गुरुङको घरमा एमाले पूर्व वडा अध्यक्ष कमिटी अध्यक्ष राजकुमार कटुवाल, धरान–१३ का वडा समिति सदस्य घनश्याम तिम्सिना लगायतको उपस्थिति थियो।
सोही भेटघाटमा मिसिए एकीकृत समाजवादीका केन्द्रीय सचिव राजेन्द्र राई । कोसी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका राई रावललाई भेट्न भोजपुरबाट धरान पुगेका थिए। भेटघाटका क्रममा रावलले आफ्नो अभियानको बारेमा बताएका थिए ।
त्यहाँबाट विराटनगर आएका रावलले विराटनगरमा पत्रकार सम्मेलन गरेका थिए। पत्रकार सम्मेलनमा उनले आफू वैकल्पिक शक्ति निर्माणमा जुटेको बताए। रावलले अहिले देशमा रहेका कुनै पनि पार्टीमा आफू नलाग्ने बरु देशभक्तहरूको नयाँ पार्टी गठनमा जुटिसकेको बताए ।
रावलले नयाँ पार्टी कहिले घोषणा गर्ने भन्ने विषयमा कुनै टुङ्गो नभए पनि हाल मातृभूमि जागरण अभियानमा जोडेर देशैभर सङ्गठन निर्माणमा आफू जुटेको स्पष्ट पारे । उनले भने,‘हाललाई सम्पूर्ण देशभक्तहरूलाई मातृभूमि जागरण अभियानमा समेटेर देशैभर सङ्गठन निर्माण गर्दै लैजाने र उपयुक्त समयमा पार्टीमा रूपान्तरण गर्ने गरी अघि बढेको छु।’
रावलको पूर्वी क्षेत्र भ्रमणका क्रममा एमाले नेता–कार्यकर्ता अक्सर कसैले भेटेनन्। रावललाई भेटे सबैलाई पदबाट निष्कासन गर्ने एमालेले निर्देशन दिएको चर्चा छ।
प्रकाशित: २३ पुस २०८१ १८:५३ मंगलबार