नेकपा एमालेबाट निष्कासित पूर्व उपाध्यक्ष भीम रावलले बिहीबारको एमाले समीक्षा विरुद्ध पाँच बुँदे प्रतिवाद गरेका छन् । एमालेबाट निष्कासित गरिएपछि बुधवार रावलले पत्रकार सम्मेलनको आयोजना गरी ३१ पेजको आफ्नो धारणा सार्वजनिक गरेका थिए ।
यसैबीचमा बिहीबार एमालेको सचिवालय बैठक बसेको थियो । सचिवालय बैठकपछि पत्रकारसँग कुरा गर्दै उप महासचिव प्रदीप ज्ञवालीले रावलको अभिव्यक्तिबारे पार्टीमा कुनै छलफल नभएको भन्दै त्यसलाई एमालेविरुद्धको गाली गलौचको सिलसिला मात्रै भएको टिप्पणी गरेका थिए । उनले रावलको अभिव्यक्ति २०७७ सालमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अध्यक्ष केपी शर्मा ओली विरुद्ध लगाएको १९ पृष्ठको आरोपको कपि पेस्ट भएको प्रतिक्रिया दिएका थिए ।
शुक्रवार त्यसको प्रतिवाद गर्दै रावलले आफ्नो पाँच बुँदे थप धारणा सार्वजनिक गरेका छन् । रावलले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको धारणामा आफूले अकाट्य तथ्यका आधारमा सोधेका प्रश्न गालीगलौज हुने तर, एमालेले आफूमाथि लगाएका झुट र तथ्यहीन कुराहरू गालीगलौज नहुने भन्दै प्रश्न सोधेका छन् ।
रावलको प्रतिवाद जस्ताको तस्तै:
१) देश, जनता, एमालेको सिद्धान्त र मान्यता विपरीत गरेका कामको जवाफ दिन नसक्ने भएपछि मैले बोलेका तथ्य सङ्गत कुराहरू ‘प्रचण्डले बोलका कुराहरूको फोटोकपी’ रे! केपी ओलीले प्रचण्डसँग लगनगाँठो गरी एमाले बनाउने र भत्काउने गरेको काम, नेकपा छँदा गरेका विभिन्न राष्ट्र र जनताको हित विपरीत गरेका काम, आम निर्वाचन पछि फेरी प्रचण्डसँग गरेको साँठगाँठ र फेरी प्रचण्डसँग पारपाचुके गरेको काम तथा त्यसपछि गरेका गलत कामहरूको चर्चा ’प्रचण्डको आरोपको फोटोकपी’ नै हुन् र ?
२) २०६२÷६३ को जनआन्दोलनका बेला तुलसी गिरी, तथा चुनाव र सरकारमा राप्रपा, राप्रपा, नेपाल, परिवार दल, जसपा, लोसपा र नेपाली काङ्ग्रेससँग साँठगाँठ गर्ने केपी ओली दक्षिणपन्थीको वाहक र पृष्ठपोषक रहेको अकाट्य तथ्य सार्वजनिक हुँदाहुँदै ‘दक्षिण पन्थीको नाइके’ भीम रावल रे ! आफू नाइके भएको तथ्यमाथि पर्दा पो हाल्न सकिन्छ कि भन्ने कस्तो छट्टु तरिका !
३) वामालेका ‘काम्लो ओढेर घिउ खाने’ कतिपयका ’काम्ला’ उधी सकेका छन्, केहीका ‘काला’ टाल्ने दुष्प्रयास भइरहेको छर्लङ्ग हुँदाहुँदै ‘भीम रावलले काम्लो ओढेर घिउ खाएको’ रे!
४) भीम रावलले यो पद उ पद ’पाएको’ ले सत्य–तथ्य र देश तथा जनताको हितमा केही नबोली चुप लाग्नु पर्ने रे! अरूले (त्यसमध्ये कति बदनाम र अयोग्य) अनेकौँ पटक पदमाथि पद पाएको स्वाभाविक रे भीम रावलले पाएका पद र अवसर पाउनै नहुने र बढी रे !
५) उनीहरूले गरेका झुटा र तथ्यहीन कुराहरूको आधारमा ममाथि गरिने प्रहार ‘गाली गलौच’ होइन रे ! मैले अकाट्य तथ्यको आधारमा सोधेका प्रश्नहरू र दिएका जानकारी ‘गाली गलौच’ ! रे !
सत्ता र शक्तिको उन्माद भनेको यही हो । त्यसले सत्य, न्याय र विवेकलाई देख्न सक्दैन । झुट प्रचार र थोत्रो पर्दाले सत्य–तथ्य छोपिने छैन ।
प्रकाशित: १९ पुस २०८१ १६:४२ शुक्रबार