३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

'म लक्ष्मण बनेर कर्तव्य पूरा गरिरहें, उनले रावण बनेर मलाई विभीषणको आरोप लगाइरहे'

राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री एवं प्रवक्ता डा.मुलुक ढकालले आफूमाथि आक्रमण हुँदा प्रतिरक्षाका क्रममा केही गल्ती भएको स्वीकारेका छन्।

उनले आफूमाथि छापामार शैलीमा राजनीतिक आक्रमण हुँदा प्रतिरक्षाका क्रममा मबाट अनजानमा केही गल्ती भएको बताएका हुन्।

सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, ‘प्रस्तुतिमा शैलीजन्य केही त्रुटिहरू प्रतिरक्षाका क्रममा मबाट भएकै छन् तर मैले यो बिचमा जे जति कुराहरू बोलेको छु, एक शब्द झुटो बोलेको छैन र मैले झुटो बोलेको छैन भनेर साबित गर्न जुनसुकै परीक्षण दिन पनि तयार छु। सत्यलाई सधैँ लुकाउन पक्कै पनि सकिँदैन।’

उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई रवि लामिछाने क्लबबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनका लागी मैले पार्टीको आन्तरिक जीवनमा सङ्घर्ष उद्घोष गर्ने बित्तिकै मलाई रवि लामिछाने क्लबले पार्टीबाट अवैधानिक ढङ्गले छापामार शैलीमा निष्कासन गरेको भन्दै मलाई आफैँले बनाएको पार्टीबाट क्लबले अवैधानिक ढङ्गबाट निष्कासन गरेपछि हाल म निर्वाचन आयोगमा न्याय निरूपणका लागि पुगेको पनि उल्लेख गरेका छन्।

ढकालले कति पय कुराहरू समय क्रमसँगै प्रमाणित हुँदै गएको र कतिपय हुँदै जाने भन्दै  पार्टीमा मैले मुलतः तीन कुराहरूका लागि सङ्घर्ष सुरु गरेको बताएका छन्।

तीन कुराहरू गरे राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछाने क्लबबाट राष्ट्रिय स्वतन्त्र पार्टी बन्छ भन्दै उनले क्लबबाट पार्टी बन्ने मात्र होइन, यसले नेपाली जनताको आशालाई जोगाउँदै, त्यसलाई भरोसामा बदल्ले पनि बताएका छन्।  

यी हुन् ढकालका ३ मुद्दाः

१. राष्ट्रियता

कहिले सेनाको बारेमा, कहिले मनरो डक्ट्रिन त कहिले भुटानी करण गरेर पटक पटक राष्ट्रघाती एवं देशद्रोही अभिव्यक्ति दिइरहेका व्यक्तिलाई पार्टीबाट बर्खास्त गरी पार्टीलाई राष्ट्रियताको पक्षमा सदा अडिग रहने शक्तिको रूपमा विकास गर्नपर्छ।

२. पारदर्शिता र जबाफदेहिता

पार्टीको आर्थिक हिसाब किताब पारदर्शी हुनपर्छ। त्यस्तै, पार्टीको निर्णय प्रक्रियालाई पारदर्शी र जबाफदेही बनाउनपर्छ। पार्टी सभापतिमाथि लागेका सबै आरोपहरू उपर पार्टीभित्रै स्वतन्त्र छानबिन समिति गठन भई उहाँ पनि आफ्नो विगतप्रति पार्टी र जनतासामु पारदर्शी र जबाफदेही हुनपर्छ। पार्टीमा कोही पनि प्रश्न माथि छैन भन्ने थिति बसाल्नपर्छ।

३. वैकल्पिक शक्तिको एकीकरण

हिजोका दिनमा हात उठाएका आधारमा केही साथीहरू जोडिए। कति पय साथीहरू छुट्नु भयो। अब सम्पूर्ण वैकल्पिक एवं स्वतन्त्र शक्तिहरूलाई एकीकरण गरी वृहत् नागरिक सभाको माध्यमबाट राष्ट्रिय स्वतन्त्र पार्टी पुनर्गठन गर्नपर्छ। समीक्षा प्रतिवेदनमा उठाइएका पार्टी सुधारका विषयहरूलाई समेटेर नवीन पार्टी निर्माण गर्न सकिन्छ। २०८४ को चुनावलाई लक्ष्यमा राखी पुराना राजनीतिक शक्तिहरू विरुद्ध सम्पूर्ण वैकल्पिक एवं स्वतन्त्र शक्तिहरू एक भई नेपाली जनताको सुशासन र विकासको आकांक्षा पूरा गर्नका लागी पारदर्शिता, जवाफदेहिता र नैतिकताको मूल मन्त्रसहित होमिनपर्छ।

प्रकाशित: १८ श्रावण २०८१ ०९:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App