२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

मन्त्रीको गुनासो: ‘खादा माला’ले काम गर्नै दिएन

कार्यालय समय हुनु अगावै शुक्रबार बिहान सिंहदरबारको दक्षिण गेटबाहिर खचाखच भीड जम्मा भइसकेको थियो । सिंहदरबारको प्रवेश अनुमति (पास) लिन अटेसमटेस भएको भीड कति बेला पास पाइएला र भित्र छिरौँला भन्ने हतारोमा देखिन्थ्यो । 

त्यो भीड छिचोल्दै भित्र सिंहदरबार परिसरमा पुग्दा झन् उस्तै बाक्लो भीड देखियो । हातमा बोकेका झोलाहरू खादा माला सहजै देख्न मिल्ने गरी त्यो भीड मन्त्रालयहरूभित्र पस्न खोजी रहेको थियो । 

सिंहदरबारमा नियुक्त भएर आएका नवमन्त्रीहरू बधाई दिन यस्तो भीड त्यहाँ उपस्थित थियो । पछिल्लो समय दुई ठुला दल नेपाली काँग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार गठन गरेसँगै यस्तै भीड दिनहुँ सिंहदरबारमा लाग्ने गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनेको पहिलो दिनमै सरकारले पूर्णता पाएको थियो । यो सँगै सिंहदरबारमा सोही दिनबाट मन्त्रीहरूलाई शुभकामना दिनेहरूको भीडले तँछाडमछाड गरिरहेको कर्मचारीहरू बताउँछन् ।  कतिसम्म भने सिंहदरबारका कर्मचारीहरूलाई बधाई दाताहरूलाई पास जारी गर्न पनि उस्तै व्यवस्था रहेको एक कर्मचारी बताउँछन् । 

देशभर ठुलो सङ्ख्यामा कार्यकर्ता भएका दुई ठुला दल मिलेर सरकार बनाउँदा एकैसाथ ती कार्यकर्ता काठमाडौँ ओर्लिएर मन्त्रीहरू बधाई दिन सिंहदरबारमा लर्को लागिरहेको देखिन्छ ।  

मन्त्रीहरूलाई बधाई दिन सिंहदरबार पुग्नेमा काठमाडौँ उपत्यकामा रहेका आफन्तजन र कार्यकर्ता मात्र नभई जिल्ला–जिल्ला तथा निर्वाचन क्षेत्रबाट समेत  कार्यकर्ताहरू काठमाडौँ ओर्लिएका छन् ।

कार्यकर्ता मात्र नभई असार मसान्त सकिएर फुर्सदिला बनेका स्थानीय तहका हज्जारौं जनप्रतिनिधि पनि काठमाडौँ ओर्लिएको देखिन्छ । यही मौकामा उनीहरू समेत मन्त्रीहरू बधाई दिन सिंहदरबारमा लाम लागिरहेका देखिए ।

यस्तै प्रदेश सरकारमा पनि फेरबदल हुने भएकाले प्रदेशसभाका सांसदहरू पनि मन्त्रीको दौडधुप र लबिङमा यति बेला काठमाडौँ पुगेका छन् । आफ्नो लबिङमा भनसुन गर्दा शक्ति देखाउन उनीहरू समेत सयौँ कार्यकर्ता बोकेर काठमाडौँ पुगेका छन् । उनीहरूको गन्तव्य पनि सिंहदरबार हुने गरेको छ ।

यसरी आउनेहरू बढ्दा हवाई यातायातमा चाप बढेको छ भने, कैयौँ साना ठुला गाडी नै रिजर्भ गरेर आइरहेका देखिन्छन् ।

यसरी एकैसाथ जनप्रतिनिधिदेखि सांसदसम्म, नेतादेखि कार्यकर्तासम्म सिंहदरबारमा मन्त्रीलाई बधाई दिन पुग्दा स्वयम् मन्त्रीहरू समेत खादा मालाले आजित भएका छन् । 

सरकार गठनको भएको १२ दिन बितिसक्दा पनि यो चहलपहलमा कुनै कमी नआउँदा कतिपय मन्त्रीहरू असन्तुष्ट समेत सुनिन थालेका छन् । खादा मालाबाट फुर्सद नपाउँदा मन्त्रालयमा आफ्नो सचिवालयलाई समेत पूर्णता दिन नसकेको गुनासो पोखिरहेका छन् । 

यस्तै असन्तुष्ट मध्येका एक हुन् सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता ।  शुक्रबार बिहान कार्यालय समय नहुँदै उनको मन्त्रालयबाहिर ठुलै भीड जम्मा भइसकेको थियो । त्यो भीड मन्त्रालय भित्र हुँदै सचिवालय कक्षसम्म अटेसमटेस भइसकेको थियो । 

उनी करिब मध्यान्ह १२ बजेतिर मन्त्रालय प्रवेश गरे ।  कार्यकक्ष पुग्नासाथ भीडबाट मन्त्रीलाई भेट्न चाहनेहरूको दबाब सुरु भयो । त्यहाँ उपस्थितहरूबाट सुनियो ‘हामी ९ बजे आएको मन्त्री ज्यूलाई एक मिनेट भेट्छु।’ त्यसै गरी अरु पनि सुनिन थाले । 

त्यसपछि मन्त्रीबाट मन्त्रालयको कामभन्दा बधाई थाप्ने काम अगाडि सुरु भयो ।  मन्त्रीको भेटघाट कार्यक्रम चल्दै गर्दा धेरै समय व्यतीत हुन थाल्यो । उता त्यसैले मन्त्री गुप्तामा असन्तुष्ट रहेको झल्को सहजै देखिन्थ्यो । 

यसै क्रममा एउटा समूह मन्त्रीलाई भेट्न कार्यकक्षमा छि¥यो । केही व्यक्तिले धमाधम खादा माला पहि¥याए । लगातार खादा मालाले आजित भएका उनले आफ्नो मनको बह रोक्न सकेनन् । ‘यो खादा माला कार्यक्रमले काम गर्न नि नदिने भो १’ 

त्यसपछि मन्त्री गुप्ताले लगाएको खादा छेउमै रहेको स्ट्यान्डमा झुन्ड्याए । स्ट्यान्ड खादाले भरिसकेको थियो ।

प्रकाशित: ११ श्रावण २०८१ १९:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App