२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

नयाँ सत्ता समीकरणसँगै प्रदेशमा ‘कसरत’

संघीय सरकारको नेतृत्व फेरबदल भएसँगै प्रदेश तहमा पनि नयाँ समीकरणमा आबद्ध दलहरूले सरकार निर्माणको कसरत थालेका छन्। आफूहरूले अहिलेसम्म संघीय सरकार निर्माणको बाटो कुरेर बसेको र संघीय सरकार निर्माण भएपछि अब प्रदेश तहमा पनि नयाँ समकिरणअनुसारकै सरकार निर्माणको तयारी थाल्ने कांग्रेस एमालेका नेताहरूले बताएका छन्। नयाँ सत्ता समीकरणअनुसार एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री चुनिएका छन्।

लुम्बिनी प्रदेश सरकार गठनका लागि पनि कांग्रेस एमालेले अब तत्काल छलफल थाल्ने भएका छन्। सरकारको नेतृत्व कसले गर्ने र मन्त्रालय भागबन्डा कसरी मिलाउने भन्ने विषयमा दुई दलबिच छलफल प्रारम्भ गरिने कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले बताए। उनले संघीय सरकार निर्माणको बाटो कुरेर बसेको र संघीय सरकार निर्माण भएपछि अब प्रदेश सरकार निर्माणका बारेमा पनि छलफल थालिने बताए। ‘संघीय सरकार निर्माण नभएका कारण हामीले अहिलेसम्म प्रदेश सरकार निर्माणका बारेमा छलफल गरेका थिएनौं’, सभापति पुनले भने ‘अब संघमा नयाँ समीकरणअनुसार प्रधानमन्त्री चुनिएको अवस्थामा प्रदेश तहमा पनि एमालेसँग सरकार निर्माणका बारेमा छलफल गरिने छ।’

सरकारको नेतृत्व तथा मन्त्रालय भागबन्डाका विषय टुंगो लगाउन छलफल गरिनुका साथै मुख्यमन्त्री जोखबहादुर महराको राजीनामाका लागि आग्रहसमेत गरिने सभापति पुनले बताए। सरकारको नेतृत्व कसले गर्ने मुख्यमन्त्री महरालाई राजीनामा दिएर मार्ग प्रशस्त्र गरिदिन आग्रह गरिरहेको भए पनि मुख्यमन्त्री महराले तत्काल राजीनामा दिने मनसाय नदेखाएको गिरीले बताए। ‘तपाईं अल्पमतमा पर्नुभयो, अब नयाँ सरकार बनाउने बाटो खोलिदिनस् भनेर मैले भन्दै आएको छु’, उहाँले संसदमा केही कुरा राखेर बिदा हुन्छु पनि भन्नु हुन्छ, तर उहाँका अहिलेसम्मका कुरा चिप्ला मात्रै छन्’, गिरीले भने ‘अल्पमतमा परिसकेपछि सत्तामा चप्किरहनु नैतिकताको विषय हैन, तर उहाँले यो कुरा बुझ्नुभएको छैन।’

लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने परिस्थति बनेको अवस्थामा कांग्रेसले बढी मन्त्रालय आफ्नो भागमा पार्ने छ। मुख्यमन्त्रीसहित केही मन्त्रालय एमालेको भागमा पर्नेछन् भने साना दलहरूलाई एकएक मन्त्रालय दिने गरी सरकार निर्माण हुने अनुमान नेताहरूले गरेका छन्।

मन्त्री बन्न सांसदहरू काठमाडौंमा

नयाँ समीकरणअनुसार लुम्बिनीमा नयाँ सरकार बन्ने भएपछि मन्त्री बन्ने आकांक्षीहरू काठमाडौं केन्द्रीत भएका छन्। मूलतः कांग्रेस तथा एमालेका नेताहरू मन्त्री बन्नका लागि केन्द्रीय नेतासमक्ष लबिङ गर्न काठमाडौं पुुगेका छन्। कांग्रेसबाट मन्त्रीका आकांक्षी सांसदहरू अहिले काठमाडौंमा नेता भेटघाटमा व्यस्त रहेको एक सांसदले बताए। ‘मन्त्री बन्ने आकांक्षी माननीयज्यूहरू अहिले धेरैजसो काठमाडौंमै हुनुहुन्छ’, ती सांसदले भने, ‘केन्द्रीय नेताहरूसमक्ष भेटघाट गरेर मन्त्री बन्ने लबिङ अहिले चलिरहेको छ।’

प्रकाशित: १ श्रावण २०८१ ०८:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App