२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

मार्ग प्रशस्त गरिदिन बागमतीका मुख्यमन्त्रीलाई कांग्रेसको आग्रह

नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सहमतिको सरकार गठनका लागि मार्ग प्रशस्त गरिदिन आग्रह गरेको छ ।  

कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले मुख्यमन्त्री जम्कट्टेललाई सहमतिको सरकार गठनमा सहयोग गर्न आग्रह गरेका हुन् । बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै लामाले मुलुकमा राजनीतिक स्थायित्व र संविधानमा समयानुकूल संशोधनका लागि संघ र सातै प्रदेशमा सहमतीय सरकार गठन हुने प्रक्रियामा रहेकोले मुख्यमन्त्रीले सहमतीय सरकार गठन गर्न तत्काल मार्ग प्रशस्त गर्न अनुरोध गरेका हुन् ।  

‘वर्तमान मुख्यमन्त्रीको नेतृत्वमा गठन भएको प्रदेश सरकारबाट नेकपा एमालेका मन्त्रीहरुले राजीनामा बुझाउनुका साथै विश्वासको मत फिर्ता लिइसकेको पृष्ठभूमिमा सरकार प्रष्ट रुपमा अल्पमतमा परी काम चलाउको हैसियतमा पुगिसकेको स्थिति छ’, विज्ञप्तिमा भनिएको छ, ‘हालको अवस्थामा सरकारलाई कुनै पनि महत्त्पूर्ण निर्णय वा नियुक्ती नगर्नसमेत आग्रह गर्दछौं ।’  

अल्पमतमा परेको सरकारले कुनै पनि नियुक्ती वा निर्णय गर्नु नैतिकताको हिसावले पनि उपयुक्त नहुने नेपाली कांग्रेस संसदीय दलको ठहर रहेको छ । नेकपा (एमाले) र कांग्रेसको अब बन्ने नयाँ राजनीतिक समीकरण जनअपेक्षित भएको कांग्रेस संसदीय दलका नेता लामाको दाबी छ ।  

नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता जम्कट्टेल नेतृत्वको सरकारले जाँदाजाँदै विभिन्न राजनीतिक नियुक्ती गर्न थालेपछि एमाले र कांग्रेस रुष्ट बनेका छन् । केही दिनअघि मात्रै बागमती प्रदेश सरकारको खेलकुद मन्त्रालय अन्तर्गतको प्रदेश खेलकुद विकास परिषद्ले ६ वटा जिल्लामा खेलकुद विकास समितिको अध्यक्ष र सदस्यहरु मनोनित गरेको थियो ।  

एमालेले पनि यसअघि सरकारबाट बाहिरिँदै दीर्घकालिन असर पार्ने निर्णय र नियुक्तीका कार्य नगर्न प्रदेश सरकारलाई आग्रह गरिसकेको थियो । केन्द्रमा नयाँ समीकरण बन्ने सहमति बनेसँगै एमालेबाट मन्त्री बनेका ५ जनाले असार २४ गते सोमबार राजीनामा बुझाउँदै सरकार छाडेका थिए ।  

प्रकाशित: २७ असार २०८१ १५:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App