१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

राप्रपाको शक्ति, जनतालाई सास्ती

राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा आयोजना गरेको विरोध प्रदर्शनका क्रममा भद्रकाली क्षेत्रमा प्रहरीले हस्तक्षेप गरेपछि ढुंगा-इँटा प्रहार गर्दै प्रदर्शनकारी । तस्बिर: दिपेश दर्शनधारी-नागरिक

राजतन्त्र र हिन्दु राष्ट्रका पक्षमा शान्तिपूर्ण भन्दै गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को मंगलबारको प्रदर्शन तनावग्रस्त बनेको छ। भृकुटीमण्डपबाट सुरु भई भद्रकाली हुँदै प्रदर्शन निषेधित क्षेत्र (सिंहदरबार गेट) तर्फ अघि बढेपछि प्रहरीले रोक्न खोजेको थियो। सोही क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुन पुग्यो।

प्रहरीले भिडलाई तितरबितर पार्न पहिले पानीको फोहरा र पछि अश्रुग्यासको प्रयोग गर्‍यो। त्यसक्रममा प्रदर्शनकारीबाट केहीबेर ढुंगामुढा पनि भएको थियो। भीडलाई रोक्न प्रहरीले लाठीको प्रयोग गरेको थियो। यसरी भद्रकाली मन्दिरअगाडि स्थिति तनावग्रस्त बनेको थियो। प्रहरीको बल प्रयोगपछि भने भिड तितरबितर भयो।

प्रहरीले बल प्रयोग गर्दा आफ्ना उपाध्यक्ष एवं सांसद बुद्धिमान तामाङ र अर्का सांसद ज्ञानेन्द्र शाही सामान्य घाइते भएको राप्रपाले जनाएको छ। समग्रमा झडपमा परी २२ जना सामान्य घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। 

‘प्रदर्शनकारीतर्फ १२ जनाजति घाइते हुनुभएको कुरा छ। उहाँहरूको वीर अस्पतालमा उपचार भइरहेको छ। प्रहरीतर्फ १० जनालाई ढुंगामुढाबाट चोटपटक लागेको छ,’ परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले भने, ‘सबैजसोको अवस्था सामान्य छ।’

प्रहरीले प्रदर्शनमा उच्छृंखल भूमिका निर्वाह गर्ने तीनजनालाई नियन्त्रणमा लिएको थियो। यो समाचार तयार पार्दासम्म उनीहरूलाई छाडिएको थिएन। प्रहरीले राप्रपाको तितरबितर भएको भिडलाई भृकुटीमण्डप, सुन्धारा, त्रिपुरेश्वर, माइतीघर र थापाथलीसम्म पु¥याएको थियो। केहीबेरपछि थापाथलीमा गाडीमाथि उभिएर राप्रपाका नेताहरूले कोणसभा गरेका थिए।  

गृहमन्त्रीमाथि आक्रोश  

लामो समयदेखि हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रको अजेन्डा बोक्दै आएको राप्रपाले गत फागुन ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाललाई ४० बुँदे मागपत्र पेस गर्दै सडक आन्दोलनको घोषणा गरेको थियो।

आफ्ना मागमा सरकार सकारात्मक नभए जनता सडकमा ओराल्ने र आन्दोलनको बलमा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता फाल्ने राप्रपाको उद्घोष छ। सोहीअनुरूप मंगलबार देशभरका कार्यकर्ता राजधानीमा ओरालिएको थियो।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सडकमा उत्रिएको प्रदर्शनमा पूर्वअध्यक्षहरू पशुपतिशमशेर जबरा, प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री धवलशमशेर राणालगायत सहभागी थिए। प्रदर्शन निषेधित क्षेत्रतर्फ बढेपछि प्रहरीले बल प्रयोग गर्दा राप्रपाका नेताहरू आक्रोशित बनेका छन्।

उनीहरूको आक्रोश उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेप्रति बढी केन्द्रित रह्यो। अध्यक्ष लिङ्देनले आक्रोशित मुडमा आफ्ना ४० बुँदे मागमा थप एक बुँदा गृहमन्त्रीको राजीनामा थपिएको उद्घोष नै गरे। ‘गृहमन्त्री रवि लामिछानेलाई चेतावनी दिएर भन्न चाहन्छु– हामीले यो दिनलाई सम्झनामा राख्नेछौं। आजबाट गृहमन्त्रीको राजीनामाको माग पनि थपेर लैजान्छौं। आजबाट ४० बुँदेमा एक बुँदा थपियो,’ उनले भने।

थापाथलीमा आयोजित कोणसभामा सम्बोधन गर्दै लिङ्देनले बहालवाला सांसदमाथि गृहमन्त्रीको आदेशबिना प्रहरीले आक्रमण गर्न नसक्नेसमेत दाबी गरे। ‘गृहमन्त्रीको आदेशबिना बहालवाला सांसदलाई पुलिसले त्यसै गरेको होइन भन्ने हामीलाई थाहा छ। गृहमन्त्रीज्यू ! भ्रममा नपर्नुस्, राजनीतिमा तपाईंभन्दा धेरै अगाडिदेखि हामी छौं। शासन व्यवस्थाका कडीहरू तपाईंले भन्दा हामीले बढी बुझेका छौं,’ लिङदेनले भने, ‘तपाईं मात्र जान्ने हो, तपाईंले मात्र बुझेको हो, तपाईं मात्र लोकप्रिय हो, तपाईं मात्र इमानदार हो भन्ने भ्रम नपाल्नुस्।’

यस्तै लिङ्देनले गृहमन्त्री लामिछानेलाई आफूजस्तै भ्रष्टाचार नगरेको भनेर कसम खान नसक्ने दाबी गरे। उनले भने, ‘मैले भद्रकालीअगाडि उभिएर भनेको छु। यति लामो राजनीतिक यात्रामा एक रूपैयाँ पनि भ्रष्टाचार गरेको छैन भनेर जुनसुकै मन्दिरमा छिर्न सक्छु। तपाईंहरू त्यो ताकत राख्नुहुन्छ ?’

आफूले निषेधित क्षेत्र हटाउन गृहमन्त्रीसँग भनेको स्मरण गर्दै लिङ्देनले राप्रपालाई सत्ताको ताकत देखाउन खोजेको टिप्पणी गरे। ‘राप्रपाका मानिसलाई ताकत देखाएर देखिस् म गृहमन्त्री हुँदा भनेर बहादुरी देखाउने ! तपाईंका दिन पनि देखौंला, हामी पनि यही ठाउँमा राजनीति गर्छौं,’ उनले भने।

निषेधित क्षेत्रका नाममा गृहमन्त्री लामिछानेले आफ्नो सीमा तोकेको लिङ्देनको अर्को टिप्पणी थियो। ‘तपाईंले निषेधित क्षेत्र घोषणा गरेर आफ्नो सीमा तोक्नुभयो। त्यहाँभित्र हामी जान नपाउने होइन, तपाईंहरू त्यहाँबाट बाहिर नआउने दिन खडा हुन्छ,’ उनले भने, ‘सिंहदरबार तपाईंको बाउको बपौती होइन, भ्रष्टाचारीको अखडा होइन। जनताले भ्रष्टाचारीको अखडा सधैभरि रहन दिँदैनन्।’

महामन्त्री धवलशमशेर जबराले अब संसद्मा गृहमन्त्री लामिछानेको राजीनामा राप्रपाले पनि माग्ने बताए। उनले भने, ‘अब सहकारी ठगीको मुद्दामा गृहमन्त्रीको राजीनामा राप्रपाले पनि माग्छ।’

उपाध्यक्ष मिश्रले राप्रपाको आन्दोलनलाई ‘ट्रेलर’ को संज्ञा दिए। ‘आज ब्लकबस्टर फिल्मको ट्रेलर मात्रै देखाएका छौं। फिल्म अब सुरु हुन्छ,’ उनले भने। गृहमन्त्री लामिछाने अहिले सञ्चारकर्मी भएको भए राप्रपामाथिको ‘दमन’ हेरेर गृहमन्त्रीलाई नालायक घोषणा गर्ने उनको टिप्पणी थियो।

यो प्रदर्शन पहिलो दिनको कार्यक्रम मात्रै भएको अध्यक्ष लिङ्देनले बताए। उनले तत्काल नवीन सम्झौता आह्वान गर्न सरकारसँग आग्रह गरे। ‘तत्काल नवीन सम्झौताको तयारी गर्नुस्, जहाँ राजादेखि माओवादीसम्म अट्ने व्यवस्था होस्,’ उनले भने, ‘नत्र राप्रपाले प्रदर्शन र विरोध निरन्तर अगाडि बढाउने छ।’

राप्रपाले थप संघर्षका कार्यक्रम भने सार्वजनिक गरेको छैन। ‘आज सुरु भयो। थप कार्यक्रम पार्टीको बैठकपछि तय गर्छौं,’  राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले भने, ‘चरणबद्ध रूपमा आन्दोलन गरेर आफ्ना मुद्दा स्थापित गर्ने दिशा राप्रपा अग्रसर रहन्छ।’

दिनभर राजधानीका सडकमा सकस

राप्रपाले प्रदर्शन गरेपछि दिनभर राजधानीका सडकको यात्रामा सकस पैदा भएको थियो। झन्डै ५-६ घण्टा सडकहरूमा यातायात पूर्णतः सुचारु गर्न नसकिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठले बताए।

‘भृकुटीमण्डप, भद्रकाली, सुन्धारा क्षेत्रमा प्रदर्शन भएपछि ती क्षेत्रसहित सिंहदरबार आसपासका क्षेत्रमा लगभग ठप्प नै रह्यो,’ उनले भने, ‘त्यो प्रभाव उपत्यकाका बाँकी क्षेत्रमा पनि आंशिक पर्‍यो।’ यद्यपि ट्राफिक प्रहरीको सुझबुझपूर्ण व्यवस्थापनले केही सहज भएको उनको दाबी छ।

‘हामीले सक्दो प्रयास गर्‍यौं। वैकल्पिक रुटलाई ध्यान दिएर सवारीलाई निकासी दियौं। ठुला सवारी साधनलाई केहीबेर होल्ड गरेर सानालाई पठाएर पनि केही समाधान खोज्यौं। जे होस् पूर्णतः अवरुद्ध हुने अवस्था धेरैबेर सिर्जना हुन दिएनौं,’ उनले भने। झडपको बेला केही समयबाहेक पूर्ण रूपमा आवतजावत नरोकिएको उनले बताए।

प्रकाशित: २८ चैत्र २०८० ०६:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App