रामनवमीको पावन अवसरमा रौतहट जिल्लाभर धार्मिक उल्लास छाएको छ।
आइतबार जिल्लाका विभिन्न स्थानमा आयोजित शोभायात्रा र कलशयात्रामा हजारौं भक्तजन सहभागी भएका छन्। गौर र गरुडा नगरपालिकामा निकालिएका यी धार्मिक यात्राहरूले सडकलाई भक्तिमय बनाएका छन् भने महायज्ञको शुभारम्भसहितका कार्यक्रमले पर्वको रौनक थपेका छन्।
सदरमुकाम गौरमा दिउँसो भएको शोभायात्रामा हजारौंले घोडा, देवीदेवताका झाँकी, सजाइएका मोटरसाइकल र ठूला धार्मिक झन्डासहित बजार परिक्रमा गरे।
गौर राइसमिलको फिल्डमा धार्मिक कार्यक्रम पनि सम्पन्न भएको छ। यस्तै, गरुडा नगरपालिका–४ को गरुडा बजारमा आयोजित शोभायात्रा र कलशयात्रामा पनि हजारौंको उपस्थिति रह्यो।
यहाँ राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, धार्मिक व्यक्तित्व, समाजसेवी तथा महिला–पुरुष सहभागी भए। चिनीमिल ग्राउन्डमा आजदेखि सुरू भएको महायज्ञ वैशाखको पहिलो हप्तासम्म चल्नेछ, जसमा दुई हप्तासम्म विभिन्न धार्मिक अनुष्ठान हुने आयोजकले जनाएका छन्।
गरुडा नगरपालिकाले धार्मिक भावनाको सम्मान गर्दै चैत २४ देखि वैशाख २ गतेसम्म माछा र मासुजन्य पदार्थको बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको छ। महायज्ञको अवधिमा यो नियम कडाइका साथ पालना गरिने नगरपालिकाले स्पष्ट पारेको छ।
गौरको शोभायात्राले बजार क्षेत्रलाई रंगीन र भक्तिमय बनाएको स्थानीयले बताएका छन्। गरुडामा पनि यज्ञको शुभारम्भसँगै धार्मिक माहोल बनेको छ।
प्रकाशित: २४ चैत्र २०८१ १९:४३ आइतबार