राष्ट्रपति रामचन्द्र पौडेलले दलित, उत्पीडित, जनजाति, महिला, आदिवासीलगायत तल्लो तहका जनताको उत्थान नै वर्तमान व्यवस्थाको उद्देश्य भएकाले त्यसलाई प्राथमिकतामा राखेर काम गर्नु सरकारको कर्तव्य भएको बताएका छन्।
शनिबार मटिहानीमा सहिद केशव कोइरालाको प्रतिमाको अनावरण गरेपछि सहीद केशव कोइराला स्मृति प्रतिष्ठान र मटिहानी नगरपालिकाद्वारा संयुक्तरूपमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले निमुखा र विपन्न वर्गको उत्थानसहित लोकतन्त्र, गणतन्त्र र समानतासहितको राज्य व्यवस्था कायम गर्ने सहिदको त्यो सपनालाई रक्षा गर्नु अहिलेको आवश्यकता भएकाे बताए।
‘हामीले जनताका अधिकार स्थापित गरेको संविधान पाएका छौँ। यसअनुसार दलित, उत्पीडित, जनजाति, महिला, आदिवासीलगायत तल्लो तहका जनताको उत्थान गर्नुछ। यहीँ नै हो लोकतन्त्र, यही नै हो गणतन्त्र, यही नै हो समानता।’ उनले भने।
मधेसलाई प्रजातन्त्रको भूमिका रुपमा चित्रण गर्दै राष्ट्रपति पौडेलले नागरिक अधिकार स्थापनाका लागि सङ्घर्ष गर्ने क्रान्तिको केन्द्रमा मटिहानी रहेको स्मरण गरे। नेपालको संविधानले निर्दिष्ट गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक,आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहित निमुखालाई न्याय र विपन्नलाई आयआर्जनका अवसरबाट वञ्चित नगरिने लक्ष्य लिएको उनले बताए।
राष्ट्रपतिले राजनीतिक रुपमा जनताको सर्वोत्तम उपलब्धि ‘गणतन्त्र’ प्राप्त भएको तर त्यसको वास्तविक अर्थ बुझ्न र त्यसलाई अनुभूत गर्न बाँकी नै छ जस्तो आफूलाई लागेको सुनाए।
‘गणतन्त्र भनेको शासनमा व्यक्तिको परिवर्तनमात्र होइन यो त जनताको राजकीय शक्तिको प्रवाहमा सामेल हुन पाउने अधिकार हो। यो संस्कार, संस्कृति, आनीबानी र व्यवहार मात्रै होइन आचरणमा परिवर्तन पनि हो भनेर हामीले बुझ्न बाँकी छ।’ उनले बताए।
नेपाली जनताको ठूलो सङ्घर्षबाट आज मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको तथा अहिले हामीले लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण चरण पार गरेका छौँ भन्दै राष्ट्रपति पौडेलले वर्तमान संविधानले निरङ्कुश, केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाका सबै प्रकारका विभेद र असमानतालाई अन्त्य गरेको मात्र नभई वास्तविक अर्थमा नेपाली जनतालाई राजकीय शक्तिको मालिक बनाएको उल्लेख गरे।
राष्ट्रपतिले प्रशासनिकरूपमा राज्यको पुनः संरचनासँगै तल्लो तहका जनताको पहुँचमा राज्यसत्ता पुगेको र अब राज्यको चरित्रको पुनः संरचना हुन र केन्द्रीकृत अधिकार तल्लो तहमा प्रत्यायोजन गर्न अझै बाँकी रहेको उल्लेख गरे।
‘अब यसका लागि हामीले विलम्ब गर्न हुँदैन भन्ने मलाई लाग्छ। संविधानबमोजिम प्रदेशहरूलाई अधिकार सम्पन्न बनाउने कानुन चाँडो निर्माण गर्न सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूलाई आग्रह गरेको म यहाँहरूसमक्ष स्मरण गर्न चाहन्छु’, उनले भने।
एकदलीय शासन व्यवस्थालाई जरैसँग उखेल्ने कठिन र दुरुह सङ्घर्ष अनि त्याग र बलिदानका कैयौँ कष्टकर दिनहरूमा आफ्नो प्राणको आहूति दिएर प्रजातान्त्रिक सिद्धान्त, मूल्य, मान्यता र सङ्गठनलाई नेपाली भूमिमा सुदृढ र व्यवस्थित बनाउन जीवनपर्यन्त अविराम खटेको एक योद्धाको नाम केशव कोइराला भएको उनले उल्लेख गरे।
‘ओखलढुङ्गाको पूर्वी गाउँ छहरे कोइराला गाउँमा जन्मनुभएका सहिद कोइराला आफ्नो धन–सम्पत्ति, नाता–कुटुम्ब सबैलाई त्यागेर प्रजातान्त्रिक आन्दोलनको मूलधारामा सहभागी हुनुभएका कुशल सङ्गठनकर्ता तथा लोकप्रिय नेता हुनुहुन्थ्यो।’ उनले भने।
त्यसअघि प्रजातान्त्रिक योद्धा गणेश नेपालीको सालिक अनावरण गर्दै राष्ट्रपति पौडेलले सुशासन, विकास, उत्पादन र रोजगारी बढाएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई साकार पार्ने अभियानमा सबै एकजुट भएर लाग्न आह्वान गरे।
उनले जनता आफैँले बनाएको नेपालको संविधान कार्यान्वयन गरेर नेपाली जनताले चाहेको सुशासन, विकास, उत्पादन र रोजागरीका माध्यमबाट समृद्धिको यात्रामा अघि बढ्न जरुरी भएको बताए।
लोकतन्त्रलाई राज्यसञ्चालनको एउटा माध्यममात्र होइन जीवन दर्शन र संस्कार बनाए मात्रै आज केशव कोइरालाजस्ता सहिदहरू र गणेश नेपालीजस्ता प्रजातन्त्रका योद्धाप्रति सच्चा श्रद्धाञ्जलि हुने राष्ट्रपतिले बताए।
केशव कोइराला र गणेश नेपालीका सालिक देशमा लोकतन्त्र स्थापना र पुनः स्थापनाका लागिभएका सङ्घर्षबारे बुझ्ने चाहनेहरुका लागि एउटा जीवन्त इतिहास भएर रहने उनले विश्वास समेत व्यक्त गरे।
प्रकाशित: ३ चैत्र २०८० १५:१३ शनिबार