१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

नेपाललाई कांग्रेसको प्रस्ताव:तपाईं प्रधानमन्त्री बन्नुस्, दाहालले हामीलाई धोका दिए

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेससहितको गठबन्धन भत्काएर नेकपा एमालेसँग नयाँ गठबन्धन गरेसँगै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई केन्द्रमा राखेर संवाद थालिएको छ।

आइतबार नयाँ समीकरण बनाउन तयार भएका एमाले र माओवादीका नेताहरुले नेपाललाई केन्द्रमा राखेर वामपन्थी गठबन्धनको संवाद थालेका हुन्। सोमबार प्रधानमन्त्री दाहालको एकल भेटघाट र मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओली र उनको टिमसहितको भेटघाट त्यसकै परिणाम थियो। तर, बुधबार बिहानबाट नेपाललाई अन्य दलहरुले पनि केन्द्रमा राखेर कुराकानी अघि बढाएका छन्।

बुधबार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपाललाई सँगै मिलेर जान आग्रह गरेका छन्। ‘प्रधानमन्त्री पुष्पकमल दाहालले हामीलाई धोका दिए, त्यो धोका गठबन्धनलाई मात्र होइन देशलाई नै दिएका हुन् हामी  मिलौ र नयाँ समीकरणको शुरुवात गरौ’, देउवाले नेपाललाई राखेको प्रस्ताव उद्धृत गदै स्रोतले भन्यो।

भेटघाटको क्रममा नेपाललाई सभापति देउवाले प्रधानमन्त्रीको प्रस्ताव पनि पेश गरेका छन्। रास्वपालाई साथमा लिएर जाऔ तपाई प्रधानमन्त्री बन्नुस म सहयोग गर्छु देउवाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।

देउवाले बैकल्पिक गठबन्धन बन्न सक्ने अंक गणित पनि पेश गरेको स्रोतको दावी छ। देउवाको साथमा रमेश लेखक पनि रहेका थिए। नेपालले भने पार्टीको सचिवालय बैठक बस्न लागेकाले त्यहीबाट छलफल गरेर निष्कर्ष निकालिने बताएका थिए।

‘आजै सचिवालय बैठक बस्दै छ त्यहीबाट हाम्रो पार्टीको धारणा सार्वजनिक गर्नेछौ’, नेपालको भनाइ उद्धृत गदै स्रोतले भन्यो। नेपालका स्वकीय सचिव एवं नेकपा एसका केन्द्रीय सदस्य मोहन गौतमले दुई नेताहरुबीच अहिले राजनीतिक परिस्थितिबारे सामान्य छलफल भएको बताए।  

मंगलबार राति प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि नेपाल निवासमा पुगेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए। नेकपा (एकीकृत समाजवादी)ले नयाँ गठबन्धनको सरकारमा सहभागिता हुने/नहुने विषयलाई टुंगो लगाउन आज केन्द्रीय सचिवालय बैठक बोलाएको भएपनि वामपन्थी गठबन्धन बनाउने विषयमा भने नेपालले सहमति जनाइसकेका छन्।

नेपालनिवास कोटेश्वरमा मंगलबार साँझ भएको तीन दलको बैठकमा मुलुकमा अतिवादीहरू बढेको र धर्मका नाममा मुलुकलाई बर्बाद पार्न खोजिएकाले त्यसलाई परास्त गर्न वाम गठबन्धन बनाउने सहमति भएको थियो। नेताहरू २०८४ सालको निर्वाचनसम्म गठबन्धन बनाउन सहमत भएका थिए।

तर कांगेसले पनि माओवादीको धोकालाई चाडै नै फर्काउने गरी अहिले राजनीतिक दलका नेताहरुसँग भेटघाट शुरु गरेको छ। गठबन्धन टुटेसँगै कांग्रेसले समर्थन फिर्ता लिइसकेको छ। सबै प्रदेशबाट कांग्रेसका मन्त्रीहरुले राजिनामा दिएर नयाँ गठबन्धनलाई सहजीकरण गरिसकेका छन्। ‘कांग्रेसले माधव नेपाललाई वैकल्पिक गठबन्धनको अंक गणित पनि प्रस्तुत गरेको छ’, स्रोतले भन्यो।

देउवाले माधव नेपालको १० सिटलाई एमाले–माओवादीको गठबन्धनमा जानबाट रोक्न सकिएमा कांग्रेसको ८७, राप्रपाको १४, नेकपा एसको १०, जनमतको ६, लोसपाको ४ र नागरिक उन्मुक्ति पार्टीको ४ सीट जोड्दा १२५ सीट हुने र त्यसमा रवि लामिछानेलाई ल्याउन सकेमा सकुशल बहुमत पुग्ने अंक गणित पेश गरिएको स्रोतले जनाएको छ। प्रतिनिधि सभामा तत्काल कायम रहेको संख्याको बहुमतमा १३७ सीट हुन्छ।

प्रकाशित: २३ फाल्गुन २०८० ११:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App