५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

यसकारण फुट्यो लोसपा, लोसपामै बसेर महतोलाई साथ

अन्तत: लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) फुटेको छ। लोसपाका दोस्रो नेता राजेन्द्र महतो लगायतका नेताहरूले सोमबारदेखि लोसपाबाट अलग भएको औपचारिक घोषणा गरे। साथै उनीहरूले सोमबार नै राष्ट्रिय मुक्ति क्रान्ति अभियान सुरु गरेको घोषणा गरे। सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी महतोले यस्तो घोषणा गरेका हुन्।

निर्वाचन आयोगले औपचारिक रूपमा लोसपालाई नयाँ दलको रूपमा २०७८ भदौ भदौ ९ गते प्रमाण पत्र दिएको थियो।  तत्कालीन जनता समाजवादी पार्टी ९जसपा०मा विवाद भई महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिल झालगायतका नेताहरूले २०७८ भदौ १गते आयोगमा लोसपा दल दर्ताको लागि निबेदन दिएको थिए। त्यसको ९ दिन पछि आयोगले लोसपालाई दल दर्ताको मान्यता दिएको थियो।

राजनीतिक दल विभाजन सम्बन्धी ऐन २०७३ मा एउटा पार्टीबाट फुटेर नयाँ बनेको पार्टी ५ वर्षसम्म फुटाउन नमिल्ने व्यवस्था छ। उक्त व्यवस्था अनुसार कानुनी रूपमा लोसपा फुटेको त छैन, तर महतो लगायतका नेताहरूले नयाँ बाटो अपनाएका छन्।

उनीहरूले आफूलाई लोसपाबाट अलग गरी नयाँ अभियानको घोषणा गरेका छन्। कानुनी रूपमा लोसपा फुटाउन नमिल्ने भएकाले लोसपाबाट सार्वजनिक पद धारण गरेको संघीय सांसद, प्रदेश सांसद, स्थानीय तहका मेयर/उपमेयर, गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्य लगायतका व्यक्तिहरू औपचारिक रूपमा महतोसँग जान सक्दैनन्।

किनभने उनीहरूले लोसपा छाडने बित्तिकै उनीहरूको पद जोखिममा पर्छ। त्यसैले केही व्यक्तिहरूले लोसपामै रहेर पनि महतोलाई साथ दिएका छन्। महताकै आफ्नै भतिजा उपेन्द्र महतो लोसपाका प्रदेश सांसद हुन्। उनले  पनि औपचारिक रूपमा लोसपा छाडेको घोषणा गरेका छैनन्।

महतोलाई लोसपाका महासचिव केशव झा, सन्तोष मेहता, अनिल महासेठलगायतका नेताहरूले सक्रिय साथ दिएका छन्। पछिल्लो ५/६ महिना यता लोसपाका अध्यक्ष ठाकुर र महतो पक्षवीच विवाद उत्कर्षमा पुगेको थियो।

ठाकुरले केन्द्रीय समिति विस्तार गर्दा महतो निकट व्यक्तिहरूलाई पूरै बाइपास गरेको आरोप महतो पक्षले लगाएका थिए। पछि ठाकुरले ‘सच्च्याउछु’ भनी आश्वासन दिएका थिए। तर नसच्चाएरै केन्द्रीय समिति बोलाए पछि महतो झनै आक्रोशित भएका थिए। त्यसपछि ठाकुरले बोलाएको केन्द्रीय समितिलाई महतोले बहिस्कार गरेका थिए। त्यस बैठक पछि ठाकुर र महतो एक ठाउँमा बस्ने नसक्ने अवस्थामा पुगेका थिए।

प्रकाशित: १४ फाल्गुन २०८० १८:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App