१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रियसभा चुनावमा छिर्के हान्ने एमाले दाउ

प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई पनि राष्ट्रियसभामा सिट दिने विषयमा प्रधामन्त्री पुष्पकमल दाहालले केपी शर्मा ओलीसँग एकल कुराकानी गरेको भन्दै गठबन्धन दलभित्रै विरोध भएको छ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा सिट बाँडफाँटका लागि सत्ता गठबन्धन दलको बिहीबार बसेको बैठकमा दाहालले एमालेको महत्वाकांक्षा नबुझीकन ओलीसँग कुराकानी गरेको भन्दै विरोध भएको हो।

बैठकमा राष्ट्रियसभामा एक सिट पनि नजित्ने एमालेले राष्ट्रिय सहमतिका नाममा ६ सिट मागेको र उसले संक्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन विधेयक पास गर्न सघाउने-नसघाउने कुनै टुंगो पनि नभएको गठबन्धन दलका नेताले बताएका थिए।

‘एमाले महत्वाकांक्षी छ, संसदीय समितिहरूमा पनि तीनवटाको सभापति लिएर पछि गठबन्धनलाई सहयोग गरेन, धोका दियो। राष्ट्रियसभामा पनि ६ सिट मागेर अल्मल्याउन खोजेको छ,’ गठबन्धन दलका एक नेताले भने।  

गठबन्धन दलको बैठकमा सिट बाँडफाँटका विषयमा छलफल भए पनि कुनै निर्णय भएन। प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष ओलीबीच बुधबार राति भएको कुराकानीको विषयमा पनि सत्ता गठबन्धन बैठकमा छलफल भयो।

एमाले भने गठबन्धन दलहरू एक ढिक्का भएर आए त्यसैअनुसार उम्मेदवार चयन गर्ने नत्र गठबन्धनभित्रै अर्को खेमा तयार गरेर राष्ट्रियसभामा छिर्ने दाउमा छ।  

‘गठबन्धन दल एक भएर आए वा एमालेलाई पनि समेट्नुपर्छ भन्ने हिसाबमा प्रस्तुत भए हाम्रो उम्मेदवारी चयन त्यही प्रकारको हुन्छ,  गठबन्धनमा आबद्ध दल एक ढिक्का भएनन् भने एमालेले आफ्नो रणनीति अघि बढाउँछ, आफ्नो मत पनि सुरक्षित राख्छ,’ एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने। उनका अनुसार शुक्रबार बस्ने सचिवालय बैठकमा यसबारे विस्तृत छलफल हुनेछ।  

सत्ता गठबन्धन दलको बिहीबारको बैठकमा एमालेले राष्ट्रियसभामा ६ सिट मागेको विषयमा कुराकानी भए पनि केही निर्णय भएन। बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेबाट सहयोग अपेक्षा गर्न नहुने, विगतमा पनि सहयोग गर्ने नाममा उसले तीनवटा संसदीय समितिको सभापति लगेको र अहिले पनि संक्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन विधेयक पास गर्न सघाउने नाममा उसले राष्ट्रियसभामा सिट बार्गेनिङ गरेको बताएका थिए।

एमालेले संक्रमणकालीन विधेयक पास गर्न सघाउने कुनै पनि आधार नदेखिएकाले उसलाई राष्ट्रियसभामा सिट दिन नहुने नेपालले बताएका थिए। नेपालको विरोधपछि राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन र एमालेबीचको सहकार्य करिबकरिब नहुने बिन्दुतर्फ पुगेको गठबन्धन दलका ती नेताले बताए।

बैठकमा प्रधानमन्त्री दाहालले एमालेले सहकार्यका लागि राष्ट्रियसभामा ६ सिट मागेको विषय राखेका थिए। एमालेलाई तीन सिट दिनेगरी सहमति गर्ने विषयमा छलफल भए पनि अध्यक्ष नेपालले असहमति राखेको स्रोतको दाबी छ।

माओवादी केन्द्रका नेताहरूले एमालेबाट रिक्त हुने नौ सिट गठबन्धनले आपसमा बाँड्नुभन्दा उसलाई पनि केही सिट दिएर समेट्न दबाब दिएका थिए। तर गठबन्धनका अन्य दल यो प्रस्तावमा सहमत हुन सकेका छैनन्।

प्रधानमन्त्री दाहालले संक्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माणमा एमालेको साथ लिन उसलाई राष्ट्रियसभामा सिट दिने चाहेका छन्। तर बैठकमा एमालेसँग सहकार्य गर्ने विषयमा प्रधामन्त्री एक्लै हतारिएको भन्दै आलोचना भएको छ।

प्रधानमन्त्रीले सहयोग गर्ने वचन दिएपछि एमालेले गठबन्धन दलमध्ये जसले साथ दिन्छ उसैसँग सहकार्य गर्ने नीति लिएको छ। सत्ता गठबन्धन दलको बैठकपछि नेपाली कांग्रेसका नेता रमेश लेखकले एमालेसँग समसामयिक विषयमा छलफल भइरहेको बताए।

तर उनले कहिले, कसरी, कहाँ, के विषयमा छलफल भएको भन्ने खुलाएनन्। ‘एमालेसँग समसामयिक विषयमा संवाद जारी रहन्छ’, उनले भने। उनका अनुसार बैठक शुक्रबार बिहान पनि बस्नेछ।

एमालेले गठबन्धनभित्रका दलहरूसँग पनि छुट्टाछुट्टै सहकार्य गर्न सकिने नीति लिँदै सोहीअनुसार छलफल गरिरहेको छ। एमालेले यतिबेला माओवादी, जसपा, कांग्रेससँग अलगअलग छलफल थालेको छ।

एमाले प्रचार विभाग प्रमुख गौतमले पार्टी एक्लैले राष्ट्रियसभा सदस्य निर्वाचन नजित्ने भएकाले गठबन्धन र त्यसभित्रका दलहरूसँग अलग-अलग छलफल गरी सहकार्य गर्न सक्ने बताए। ‘एमाले खुला छलफलमा छ, कोही सहकार्य गर्न आए हामीले ढोका खुला राखेका छौं,’ उनले भने। उनले संक्रमणकालीन न्यायको विषय र राष्ट्रियसभा निर्वाचन अलगअलग विषय भएकाले सर्तसहितको सहकार्य भने सम्भव नभएको बताए।

एमालेले समानान्तर रूपमा कुराकानी गर्न थालेपछि गठबन्धन दलहरूभित्र असन्तुष्टि पैदा भएको छ। सुरुमा प्रधानमन्त्री दाहालले एमालेलाई साथमा लिएर अघि बढ्नुपर्ने प्रस्ताव बैठकमा राखेका थिए।

गठबन्धनमा आबद्ध अन्य दलका नेताले सहकार्यका लागि सर्त राख्नुपर्ने बताएका थिए। एमालेले भने सर्त मान्य नहुने बताइसकेको छ। ‘सर्तमा हामीलाई स्वीकार्य छैन, राष्ट्रिय सहमति हुने विषयमा एमाले बाधक बन्दैन,’ गौतमले भने।

प्रकाशित: २० पुस २०८० ०१:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App