५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

मुख्यमन्त्री नियुक्तिविरुद्ध रिट

कोसीमा तीन सदस्यीय मन्त्रिपरिषद्

कोसी प्रदेशमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ। मुख्यमन्त्रीमा बिहीबार नियुक्त भएका उद्धव थापाले शुक्रबार बिहान कोसी प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष पद तथा गोपनीयताको सपथ लिएपछि नेपाली कांग्रेसका प्रदीप सुनुवार र नेकपा एकीकृत समाजवादी (नेकपा एस) का कमलप्रसाद जगेबुलाई मन्त्री नियुक्त गरेका हुन्। नवनियुक्त दुवै मन्त्रीले शुक्रबार नै पद तथा गोपनीयताको सपथ लिएका छन्।

थापाले प्रदेशसभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको भन्दै मुख्यमन्त्रीमा दाबी पेस गरेपछि उनलाई प्रदेश प्रमुख परशुराम खापुङले बिहीबार साँझ सो पदमा नियुक्त गरेका थिए। थापाले प्रदेशसभामा आफ्नो दल कांग्रेसका २९, माओवादी केन्द्रका १२, नेकपा एसका ४, जनता समाजवादी पार्टीका १ र सभामुख बाबुराम गौतमको समर्थन आफूलाई रहेको भन्दै मुख्यमन्त्रीमा दाबी पेस गरपछि प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनलाई सो पदमा नियुक्त गरेका हुन। मुख्यमन्त्री थापाले शुक्रबार तीनजनालाई मन्त्री नियुक्त गर्ने तयारी गरे पनि माओवादी केन्द्रले नाम दिन नसकेपछि दुईजनालाई मात्र मन्त्री बनाएका हुन्। माओवादीबाट नाम नआएकाले शुक्रबार नियुक्त दुई मन्त्रीलाई कुनै पनि मन्त्रालयको जिम्मेवारी तोकिएको छैन।  

यसैबीच कोशी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्ति प्रक्रियामा सभामुखले निर्वाह गरेको भूमिका विवादमा परेको छ। सभामुखले सरकार गठनका लागि प्रदेशसभा सदस्यको हैसियतमा समर्थनपत्रमा हस्ताक्षर गर्नु संविधानविपरीत रहेको भन्दै प्रतिपक्षी नेकपा एमालेले सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ। एमालेका तर्फबाट पूर्ववर्ती मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार वारेसमार्फत सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। कार्कीले उत्प्रेषण परमादेश, प्रतिषेधको आदेशबाट मुख्यमन्त्री नियुक्ति बदर गरीपाउँ भन्दै कोसी प्रदेश प्रमुख पर्शुराम खापुङ, नवनियुक्त मुख्यमन्त्री उद्वव थापा र सभामुख बाबुराम गौतमविरुद्ध रिट दायर गरेका हुन्।  

सभामुख गौतमले उद्धव थापालाई मुख्यमन्त्री बनाउने प्रस्तावमा समर्थनसहित हस्ताक्षर गरेको र उनकै समर्थनमा प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेका कारण मुख्यमन्त्री नियुक्त गर्ने निर्णय बदर हुनुपर्ने माग रिटमा गरिएको छ। रिट निवेदनको टुंगो नलागेसम्म नेपाली कांग्रेस संसदीय दलका नेता थापालाई मुख्यमन्त्रीका रूपमा कामकारबाही गर्नबाट रोक्न अन्तरिम आदेश जारी गर्न पनि माग गरिएको छ। गौतमले भने आवश्यक परे सभामुख पदबाट राजीनामा दिने प्रतिक्रिया दिएका छन्। गौतमले सरकार नबन्ने अवस्था आएपछि आफूले मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता थापालाई मुख्यमन्त्रीमा समर्थन गरेको बताए। पत्रकारसँग कुरा गर्दै गौतमले भने, ‘सरकार सञ्चालन र सदन सञ्चालनका लागि बहुमत नपुगेर अप्ठेरो अवस्था सिर्जना हुने अवस्था सभामुख पदबाट राजीनामा दिन्छु।’

प्रकाशित: २३ असार २०८० ०१:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App