१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

धरापमा प्रदेश १ सरकार

फाइल तस्बिर

राष्ट्रपतिको निर्वाचनसँगै  केन्द्रमा बनेको नयाँ समिकरणले प्रदेश १ को सरकार धरापमा परेको छ। केन्द्रमा नयाँ समिकरण बनेसँगै नेकपा एमाले नेतृत्वको प्रदेश १ सरकार धरापमा परेको हो।

संघमा नयाँ समिकरण बनेपछि प्रदेश १ को सरकारबाट  नेकपा माओवादी केन्द्र र जसपा  बाहिरिने स्थिति बनेको छ।  माओवादी केन्द्र र जसपा  बाहिरिएको  अवस्थामा मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको वर्तमान सरकार अल्पमतमा पर्छ। राप्रपाले केन्द्रमा सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरिसकेको छ।

तर, प्रदेश १ मा भने राष्ट्रपतिको निर्वाचन सम्म पर्खने योजना राप्रपाको छ। यद्यपी आइतबार वेलुका प्रदेशसमितिको  विराटनगरमा बैठक बसेर निर्णय लिने तयारी राप्रपाको छ। राप्रपा प्रदेश १ का संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले प्रदेश सरकारबाट बाहिरिने नबाहिरिने लगायत समसामयिक विषयमा  छलफल गर्न  प्रदेश समितिको बैठक आइतबार वेलुका बोलाइएको जानकारी दिए।

राप्रपाले मात्रै समर्थन गरेको अवस्थामा पनि प्रदेश १ को वर्तमान सरकारलाई बहुमत पुग्ने अवस्था छैन। तर, नेकपा माओवादी केन्द्र र जसपाले सरकार नछाडि राप्रपाको पनि सरकार छाड्ने मनस्थिति देखिएको छैन।  

तत्कालै नयाँ बनेको ८ दलय गठबन्धनमा सहभागि हुने अवस्था पनि नरहेको सिटौलाले बताए। तर, राप्रपाकै कारण प्रदेशसभा विघटन हुने अवस्था आएमा पार्टीले  समिक्षा गरेर निर्णय लिने सिटौलाले बताए। ‘अहिलेको सरकार छाडेर नयाँ गठबन्धनलाई साथ दिने तत्काल संभावना छैन’ सिटौलाले भने‘तर, राप्रपाकै कारण सरकार बन्न नसकेर प्रदेशसभा विघटन हुने अवस्था आए पार्टीले समिक्षा गरेर आबश्यक निर्णय लिनेछ।’  

वर्तमान सरकारलाई  एमालेका  ४०, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाको १ जना गरी ६० जना सांसदको समर्थन  छ। जसमा माओवादी केन्द्रको सभामुख र नेकपा एमालेको उपसभामुख रहेका छन्। सरकारबाट माओवादी केन्द्र र जसपा बाहिरिएको अवस्थामा  पनि सरकार अल्पमतमा पर्छ। कांग्रेस नेतृत्वको नयाँ गठबन्धनलाई पनि प्रदेश १ मा सरकार गठन गर्न त्यति सहज छैन।  

प्रदेश १ मा नयाँ गठबन्धनको सरकार बन्ने अवस्था आए नयाँ गठबन्धनमा पनि सभामुखसहित ४७ जना मात्रै सांसद पुग्नेछन्। हरेक विषयमा सभामुख निर्णायक हुने अवस्था रहन्छ। त्यहिकारण प्रदेश १ मा नयाँ  बनेको गठबन्धनको सरकार निर्माण भए पनि राप्रपा सरकारमा सहभागि नभई  प्रदेशसभाको काम सहजरुपमा अघि बढ्ने देखिंदैन।  प्रदेश १ को प्रदेशसभामा  ९३ सांसद रहेका छन्। प्रदेश १ मा सरकार गठन गर्न बहुमतका लागि ४७ सांसदको आवश्यकता पर्छ।  

प्रकाशित: १४ फाल्गुन २०७९ १२:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App