स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले संघीयता खर्चिलो भएकोले यसलाई छरितो बनाउन जरुरी रहेको बताए। आज नेपाली कांग्रेस पाल्पाले तानसेनमा आयोजना गरेको शुभकामना तथा सम्मान कार्यक्रममा बोल्दै उनले संघीयता राज्यको क्षमताभन्दा बढी खर्चिलो भएकोले छरितो बनाउनुपर्ने धारणा राखेका हुन्।
मन्त्री पौडेलले भने, ‘संघीयता जनतालाई अधिकार दिने सन्दर्भमा परिस्कृत रूप हो, तर हाम्रो संघीयता राज्यको क्षमताभन्दा बढी बोझिलो र खर्चिलो भएको छ। यसको मतलब संघीयता हटाउने होइन, छरितो बनाउने हो। हाम्रो शासन संरचनालाई छरितो बनाएर अगाडि बढ्नुपर्छ।’ उनको भनाइ छ, सङ्घीय लोकतन्त्रमा धेरै कुरा भए पनि अझै पर्याप्त छैन।
‘अहिलेको व्यवस्थालाई पूर्ण र व्यवस्थित बनाउन जरुरी छ। नेपाललाई समृद्ध बनाउने दिशामा हामी धेरै अगाडि बढेका छौँ। यो व्यवस्था पछाडि फर्कियो भने देश धेरै पछाडि जान सक्छ। त्यसैले व्यक्तिको होइन, विधिको शासन स्थापित गर्न खोजेका हौँ,’ मन्त्री पौडेलले भने। उनले सङ्घीय शासनलाई बलियो बनाएर लैजाने दिशामा आफूहरू लागेको उनको भनाइ थियो।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री पौडेलले संघीयतालाई छरितो बनाउन राजनीतिक र प्रशासनिक संरचना पनि छरितो बनाउनु अहिलेको आवश्यकता भएको उल्लेख गरे।
देशको विकास र गरिबी हटाउन आर्थिक स्रोत जुटाउने विषयमा पार्टीहरूबीच एकता हुनुपर्ने उनको भनाइ छ। नेपालको राजनीतिमा सिद्धान्त र त्यसलाई कार्यान्वयन गर्ने स्रोतबीच तालमेल नमिलेको मन्त्री पौडेलले बताए। ‘पार्टीका सिद्धान्त राम्रा छन्, भाषण पनि मीठा हुन्छन्, तर स्रोत कसरी जुटाउने भन्नेमा ध्यान दिइएको छैन,’ उनले भने। रासस
प्रकाशित: २२ चैत्र २०८१ २०:५८ शुक्रबार





