भारतीय टेलिभिजनका चर्चित सिरियल ‘सीआईडी’ र ‘आहत’ का निर्माता तथा निर्देशक ब्रिजेन्द्र पाल सिंह (बीपी सिंह) को मंगलबार बिहान हृदयघातका कारण निधन भएको छ।
फिल्म निर्माता अशोक पण्डितले इन्स्टाग्राममार्फत उनको निधनको जानकारी दिएका हुन्।
देहरादुनमा जन्मिएका सिंहले सन् १९९८ मा ‘सीआईडी’ सुरु गरेका थिए। दुई दशकसम्म प्रसारण भएको यो सिरियलले उनलाई देशव्यापी पहिचान दिलाएको थियो। उनले सिरियलमा निर्माण र निर्देशन गर्नुका साथै डीसीपी शमशेर सिंह चित्रोलेको भूमिका पनि निभाएका थिए।
बीपी सिंहले सन् २००४ मा ‘सीआईडी’ को १११ मिनेट लामो विशेष भाग कुनै कट नगरी एउटै निरन्तर दृश्यमा छायांकन गरेका थिए। यो उपलब्धि गिनिज वर्ल्ड रेकर्ड र लिम्का बुक अफ रेकर्डमा सूचीकृत भएको थियो।
उनले सन् १९९५ मा सुरु गरेको हरर सिरियल ‘आहत’ सन् २०१५ सम्म प्रसारण भएको थियो। यसबाहेक उनले ‘खाकी’, ‘अभय’ र ‘सुपरकप्स भर्सेस सुपर भिलेन्स’ जस्ता कार्यक्रम पनि निर्माण तथा निर्देशन गरेका थिए।
अशोक पण्डितले सिंहको निधनप्रति दुःख व्यक्त गर्दै परिवारप्रति समवेदना प्रकट गरेका छन्। उनको अन्तिम संस्कार बुधबार गरिने जनाइएको छ।
प्रकाशित: १० कार्तिक २०८३ २१:२८ मंगलबार





