तेह्र हजार फिटमाथि उडिरहेको हेलिकप्टरबाट ५० सेकेन्डको ‘फ्रि-फल’ र त्यसपछि प्यारासुटको सहायताले हिमाल नियाल्दै गरिने अवतरण।
यसअघि विदेशी प्रशिक्षक र निश्चित याममा मात्र सीमित पोखराको स्काइडाइभिङ अब नेपाली दक्ष प्रशिक्षकहरूकै नेतृत्वमा वर्षभरि नियमित रूपमा सञ्चालन हुन थालेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले मनोरञ्जनात्मक उड्डयन सञ्चालन प्रमाणपत्र आरएओसी जारी गरेसँगै पोखरामा साहसिक खेल स्काइडाइभिङले व्यावसायिक र दिगो उडान भरेको हो।
गत वर्षसम्म प्राधिकरणले एक पटकमा जम्मा १५ दिनका लागि मात्र अनुमति दिने गरेकोमा अब मापदण्ड पूरा गरी वर्षैभरि उडान गर्न पाउने बाटो खुलेको छ।
हाल स्काइडाइभिङ इन नेपाल प्रालिले हेलिकप्टर सेवा प्रदायक सिम्रिक एयरसँग सहकार्य गरी यो खेल सञ्चालन गरिरहेको छ। विगतमा विदेशी जनशक्तिमा निर्भर रहेको यो साहसिक विधामा अहिले सबै नेपाली प्रशिक्षक छन्।
कम्पनीका प्रशिक्षक एलिस थापा, सुवास थापा, मनिष हिराचन र नेपालकी पहिलो महिला स्काइडाइभर यसोदा केसी थापाले पर्यटकलाई आकाशबाट छलाङ मार्न सघाइरहेका छन्।
‘नेपालमै केही गरौं भन्ने सोचका साथ हामीले विदेशमा गएर तालिम हासिल गरेका हौं,’ प्रशिक्षक एलिस थापाले भने, ‘केही वर्षअघिसम्म विदेशीले मात्र गराउने यो खेल अहिले हामी नेपाली प्रशिक्षकले नै सफलतापूर्वक सञ्चालन गरिरहेका छौं। पोखराको आकाशबाट देखिने सेताम्मे हिमाल र प्राकृतिक सौन्दर्यले जोकोहीलाई रोमाञ्चित बनाउँछ।’
स्काइडाइभिङका लागि पोखरा महानगरपालिका-२३ पामे, लौराकस्थित एभिया क्लबको खेलकुद मैदानलाई अवतरण स्थल बनाइएको छ। पोखराको पुरानो विमानस्थलबाट उडेको हेलिकप्टरले पर्यटकलाई १३ हजार फिट उचाइमा पुर्याएपछि छलाङ लगाइन्छ। हेलिकप्टरबाट हाम फालेको ५० सेकेन्डपछि प्यारासुट खुल्छ र हावामा तैरँदै ७ देखि ८ मिनेटको रोमाञ्चक यात्रापछि जमिनमा अवतरण गरिन्छ।
मौसम खुल्ने शरद याम सुरु भएसँगै आकाशमा उड्ने पर्यटकको संख्या बढेको छ। अङ्ग्रेजी महिना अक्टोबरयता मात्रै ३५ जनाले पाइलटसहित र २० जनाले एकल स्काइडाइभिङ गरिसकेका छन्।
तालिमप्राप्त विदेशीहरू सोलो जम्पका लागि आउने गरे पनि पछिल्लो समय खर्चिला नेपालीहरूमाझ पनि टेण्डम जम्पको आकर्षण ह्वात्तै बढेको छ।
कम्पनीले स्काइडाइभिङका लागि नेपाली नागरिकलाई डिलक्स प्याकेजको १ लाख २ हजार, भीआईपी प्याकेजको १ लाख २३ हजार र डायमण्ड प्याकेजको १ लाख ४९ हजार शुल्क तोकेको छ। त्यस्तै, विदेशी नागरिकका लागि ती प्याकेजको शुल्क क्रमशः ७५०, ९०० र १ हजार २०० अमेरिकी डलर तोकिएको छ।
कम्पनीका सञ्चालक निर्मल पाण्डेका अनुसार प्राधिकरणबाट आरएओसी पाउने यो हालसम्मकै एकमात्र कम्पनी हो। यो प्रमाणपत्र लिन कम्पनीसँग आफ्नै वायुयान हुनुपर्ने वा हेलिकप्टर प्रदायकसँग पाँच वर्षे सम्झौता, छुट्टै आधारस्थल, एयर स्पेस र आफ्नै प्रशिक्षक हुनुपर्ने मापदण्ड तोकिएको छ।
नियमित सञ्चालनले विश्वभरका उच्च आम्दानी भएका पर्यटकलाई पोखरा भित्र्याउन ठूलो मद्दत पुग्ने पाण्डेको भनाइ छ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेल पोखराको पर्यटन प्रकृति, संस्कृति र साहसको त्रिवेणी भएको बताउँछन्। प्याराग्लाइडिङ, अल्ट्रालाइट र हट एयर बेलुनसँगै अब बाह्रै महिना हुने नियमित स्काइडाइभिङले पोखराको साहसिक पर्यटनलाई विश्व बजारमा नयाँ ब्रान्डका रूपमा स्थापित गर्ने उनको विश्वास छ।
राम थापा/रासस
प्रकाशित: १० कार्तिक २०८३ २१:१० मंगलबार





