४ वैशाख २०८१ मंगलबार
राजनीति

स्थायी रुपमा सरसफाई गर्न काठमाडौं र ललितपुर महानगर दुवैले सहकार्य गर्नुपर्छ: मेयर साह

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेवाः सभ्यतासम्बन्धि विश्वविद्यालय स्थापना र वागमती नदीको सफाईका लागि सहकार्य गर्न ललितपुर महानगरपालिकासँग प्रश्ताव गरेका छन्।  

ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसको अवसर पारेर शनिवार आयोजित एक कार्यक्रममा बोल्दै मेयर साहले सो प्रश्ताव गरेका हुन्। यी दुवै काम काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका एक्लाएक्लैले गर्न नसक्ने भएकाले यसमा दुवै महानगरपालिकाको सहकार्य अनिवार्य रहेको उनको तर्क थियो। मेयर साहले नेवाः सभ्यतासम्बन्धि विश्वविद्यालय र वागमती सफाईको काममा मात्रै दुवै महानगरपालिकाले सहकार्य गरेर गए त्यो काठमाडौं उपत्यकाको विकासको लागि नै राम्रो सन्देश हुने समेत स्पष्ट पारे। उनले हाम्रो कला, संस्कृति र सभ्यता नयाँ पुस्तालाई हस्तान्तरण गर्न र यसलाई अन्तर्राष्ट्रियकरण गर्न पनि नेवाः सम्बन्धि विश्वविद्यालयले महत्वपूर्ण भुमिका निर्वाह गर्ने उल्लेख गर्दै जग्गाको आवश्यक व्यवस्था भने ललितपुर महानगरपालिकालाई मिलाउन सहज हुने धारणासमेत राखे। 

मेयर साहले भने, ‘काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका आफैंमा एउटा एकदमै नजिकको भित्र, छिमेकी दाजुभाई जसरी बस्दै आएको भएकाले हामीले सहकार्य गर्नुपर्ने धेरै कुराहरु छन्। देशकै पहिलो नगरपालिका भएको हुनाले हाम्रो संस्कृति, सभ्यता, सम्पदा जोगाउनका लागि ललितपुर महानगरपालिकाले एकदमै अग्रसर भएर आफ्नो भुमिकाहरु देखाएको छ। त्यो एकदमै सराहनीय छ। र, आगामी दिनहरुमा हामीले पनि सिक्नुपर्ने धेरै कुराहरु छन ललितपुर महानगरपालिकाबाट। अस्थायी सफाई अभियान त धेरै हुन्छन्। स्थायी रुपमा यसको सरसफाई गर्नलाई काठमाडौं र ललितपुर महानगर दुवैले सहकार्य गर्नुपर्छ। यो काम काठमाडौं एक्लैले पनि सक्दैन। ललितपुर एक्लैले पनि सक्दैन। हामी दुईटा महानगरपालिका, वागमती सभ्यता एकीकृत परियोजना, सहरी विकास मन्त्रालयले सहकार्य गरेर वागमतीको स्थायी सफाई अभियान। वागमतीको पानीलाई निलो सफा पानी बनाउन हामीले त्यसमा सहकार्य गर्नै पर्दछ। यी दुई वटा कार्यमा मात्रै हामीले हाम्रो कार्यकालमा सहकार्य गरेर अघि बढ्नसक्यौं भने निकै राम्रो सन्देश जान्छ। काठमाडौं उपत्यकाको तर्फबाट नै एउटा राम्रो सन्देश जान्छ। र, हाम्रो जुन मित्रवत भावना छ। त्यसलाई अझै मधुरता दिन सकिन्छ।’

मेयर  साहले सम्पदाहरुको संरक्षणमा ललितपुर महानगरपालिकाबाट काठमाडौं महानगरपालिकाले धेरै कुराहरु सिक्नुपर्ने बताए। उनले प्राचिन ढुंगेधाराहरुको संरक्षणमा ललितपुर महानगरपालिकाले अघि सारेको अवधारणाबाट सिकेर आफूहरुले पनि सो कामलाई अघि बढाउन पुल्चोक इन्जिनियरिङ कलेजसँग सहकार्य गरेर अघि बढन लागेको जानकारी समेत दिए। उनले ललितपुर महानगरपालिकासँग मित्रतापूर्ण सम्बन्ध रहेको र त्यसलाई अझै सुमधुर बनाउने गरी आपसी सहकार्यका साथ काम गर्न चाहेको पनि पटकपटक दोहो¥याए।

प्रकाशित: २ पुस २०७९ ०८:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App