२६ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

त्यो तीज, यो तीज

ललितपुर कुपण्डोलकी ८४ वर्षीया मिश्री ढुंगेलको विहे १२ वर्षकै उमेरमा भयो। तिजको ब्रत भने उनले १० वर्षको उमेर हुँदैदेखि लिन थालेकी हुन्। त्यतिबेला तिजको ब्रत सम्भि्कदैं उनी भन्छिन्, 'विवाहअघि ब्रतको दिन बेलुका फलफूल खाने गरेपनि विहेपछि त एक थोपा पानी पनि खान पाइँदैन्थ्यो। अन्न खाए श्रीमान्को मासु खाए बराबर र पानी खाए श्रीमान्को रगत खाए बराबर भन्ने गरिन्थ्यो।'

त्यतिबेला महिलाहरुका लागि तीज छुट्टै हुने गर्थ्यो। दिनभर ब्रत बसेर मादल बजाएर नाचगान हुन्थ्यो। भोलिपल्ट पण्डितलाई बोलाएर पूर्णपात्रो दान गरेर मात्र खान पाइन्थ्यो। तिजको पर्सिपल्ट ऋषि पञ्चमीको दिनमा दतिवनले दात माझ्ने, पातको पानी चाल्ने बनाएर नुहाउने चलन थियो। 'त्यतिबेला थापाथलीमा बागमतीको पानीमा चुर्लुम्म डुबेर नुहाइन्थ्यो। त्यहीको पानी नै खाइन्थ्यो ', ढुंगेल सम्भि्कन्छिन्, 'एउटा वर्षको ऋषि पञ्चमीको दिनमा त्यहाँ नुहाउँदा नुहाउँदै घाँटीको तिलहरी खस्यो, तर पनि भेटियो। पानीबाट बालुवा ढुंगा सबै छर्लंगै देखिन्थ्यो।'

त्यसपछिका समयमा बागमतीको फेरिएको मुहारसँगै अहिले तीज मनाउने शैली पनि फेरिएको छ। ढुंगेललाई यसरी फेरिएको चलनमा कति कुरा मन परेका छन् भने कति छैनन्। पहिले सकी नसकी तिजको ब्रत बस्नै पर्ने बाध्यता थियो। तर अहिलको केटाकेटीलाई त्यो बाध्यता छैन। आजभोलिको तिजमा उनलाई मन परेको पाटो यही हो। ' सामूहिक दर खाने प्रचलनले सद्भाव बढेको जस्तो त देखिन्छ। तर देखावटीपन पनि बढेको छ', उनी भन्छिन्। ८४ वर्षीया यी बृद्धालाई अचेलका तिज गीत भने फिटिक्कै मन परेका छैनन्। यस्ता गीतले विकृति ल्याएको उनी बताउँछिन्।

काठमाडौंको मध्यबानेश्वर बस्ने मनिषा बोहरालाई नागपञ्चमी शुरु भएपछि छुट्टै रमाइलो लाग्छ। साउन महिनाभरि लगाइने हरियो चुरा, मेहेन्दी र त्यसपछि आउने तिज, उनको पर्खाइमा हुन्छ। एमबीए पढ्दै गरेकी २३ वर्षीया यी तन्नेरीलाई तीजमा सबैभन्दा धेरै रमाइलो लाग्ने भनेको यसको रंग हो।

'रातो सारी, रातो चुरा मलाई मन पर्छ ' उनी भन्छिन्, 'तीजको रमझम, गाउने नाच्ने अनि मन्दिर जाने कुराले तिज रमाइलो लाग्छ।' तीजकै लागि भनेर घरबाट पनि सपिङ गर्न पैसा दिने हुनाले उनलाई सधैं तिजको प्रतिक्षा हुन्छ। सारी मात्र होइन यो समय मनिषा अरु लुगा पनि रातै लगाउन रुचाउँछिन्।

बोहरालाई बाल्यकाल देखि कै तीजको सम्झना छ। चौरमा भेला भएर रमाइलो गर्दै नाच्ने गाउने गरेको देखेकी उनलाई अहिलेको तीज उतिबेलाको जस्तो रमाइलो भने लाग्दैन। 'उति बेला ठाउँ ठाउँमा भेला भएर रमाइलो गर्नुको मजै बेग्लै थियो,'उनी भन्छिन्, 'अहिलेको तीजमा नाटक धेरै हुने गरेको देखेकी छु।'

समय बदलिएसँगै तीज मनाउने शैली पनि बदलिएको छ। बोहराजस्ता आधुनिक युवतीहरुलाई पनि पछिल्लो समयमा तीजमा तडकभडक बढेको महसुस हुने गरेको छ। हरितालिका तीज समेत भनिने भाद्र शुक्ल तृतियाको यो दिनमा महिलाहरु ब्रत बस्ने परम्परा छ। आफ्ना पतिको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै यो दिनमा महिलाहरु निराहार ब्रत बस्छन् भने अविवाहित नारीहरु पनि राम्रो पति पाउँ भन्दै ब्रत बस्ने गर्दछन्।

दसैं शुरु हुनुभन्दा करिव एक महिनाअघि पर्ने तिजले आफन्त र साथीहरुलाई भेट हुने अवसर दिने गर्छ। काठमाडौंको बानेश्वर बस्ने २३ वर्षीया सिर्जना रेग्मीलाई यसरी नै अरुबेला भेट्न नपाएका आफन्त तथा साथीहरु भेट हुने भएकाले पनि तीज रमाइलो लाग्छ। विगत तीन वर्षदेखि नियमित रुपमा तीजको दिनमा ब्रत बस्दै आएकी उनी यो वर्ष पनि ब्रत बस्ने सोचमा छिन्। ' धर्म वा अरु कुराले भन्दा पनि विश्वासका कारण ब्रत बस्ने गरेकी हुँ', उनी भन्छिन्। अरु बेला सामान्यतयाः कुर्ता नलगाउने उनलाई तीजमा रातो कुर्ता लगाउन रमाइलो लाग्ने भएकाले पनि उनी तीजको प्रतिक्षामा छिन्।

केही वर्षअघिसम्म तीजको महत्व भिन्नै थियो। गाउँ घरमा दिन दिनै मीठो मसिनो खान नपुग्नेहरुका लागि दर खाने दिन विशेष बन्थ्यो। विवाहित महिलाहरुका लागि तीजको समय माइती गएर दर खाने अवसर बन्थ्यो। नयाँ लुगा लगाएर मादल घन्काउँदै गीत गाएर छमछमी नाचेर रमाइलो गर्ने दिनको रुपमा तीजलाई लिइन्थ्यो।

पाँचथरको फिदिममा हुर्किएकी ६३ वर्षीया लक्ष्मी अधिकारीका लागि पनि हरेक वर्षको तिज यही कारणले प्रतिक्षित रहन्थ्यो। विहेपछि अहिलेको जस्तो फोनको सुविधा नभएकाले तिजलाई निम्तो दिन माइतीबाटै आफन्तहरु आउने गर्दथे। 'तीन दिन हिडेर भए पनि चेली माइत आउँथे। सुखदुखका कुराहरु हुन्थे। रमाइलो गरिन्थ्यो। उतिबेला अहिलेजस्तो बजारमा सामान किन्ने चलन थिएन। सेलरोटी, ढकनी, खिर, दुध, दही, घिउ, तरकारी, अचार बनाएर खुवाइन्थ्यो', उनी भन्छिन्। सानै उमेरदेखि तिजको दिनमा ब्रत बस्न थालेकी उनलाई पहिलोपल्ट ब्रत बस्दा सक्दिन की भन्ने डर लागेको थियो। 'तर एकदमै रमाइलो भयो। परिवारसँग नाचगान गर्दै सबैजना संगै ब्रत बस्दा छुट्टै रमाइलो हुने रहेछ', उनी सम्भि्कन्छिन्। अहिले पनि उनी तीजको दिन ब्रत बस्छिन् र परिवारसँग नाचगान गरेर रमाइलो गर्छिन्।

यति लामो समयसम्म तीज मनाएकी उनलाई अहिले तीज मनाउने चलन चित्त बुझेको छैन। अहिले बनावटी संस्कृति भित्रिएको र मोजमस्तीमा धेरै केन्द्रित भएको उनको अनुभव छ। अहिले धार्मिक हिसावले भन्दा पनि मनोरञ्जनको रुपमा मात्र तिजलाई लिइने गरेको उनी बताउँछिन्। 'पहिले पहिले दरमा मासु र रक्सी हुँदैनथ्यो। तिजको ब्रत चोखो हुँदैन भनेर तिन दिनअघिदेखि नै मासु खान छोड्थे। अहिलेको दर मासु र रक्सी बिनाको कल्पनै गाह्रो हुन्छ ,' उनी भन्छिन्।

भक्तपुर बस्ने नम्रता ढुंगाना एक दशकदेखि तीजमा ब्रत बस्दै आइरहेकी छिन्। १४ वर्षको उमेरमा पानी समेत नखाई ब्रत बसेकी उनी अहिलेसम्म पनि त्यसै गरी ब्रत बस्ने गरेकी छिन्। 'पहिलोचोटी ब्रत बस्दा साँझ खानेकुरा खान भनेर आमावुवाले कति भन्नुभएको थियो। म नमानी खाली पेटमै सुते,' त्यो समय हाँस्दै उनले सुनाइन्।

केही वर्षअघिसम्म पनि तीज भन्ने वित्तिकै किशोरीहरुको मनमा अर्कै लहर उत्पन्न हुने गर्थ्यो। आफूभन्दा ठूलो उमेरका आमा, दिदी, काकी वा आफन्तहरुले लगाउने रातो सारी, पोते, चुरा, लिपस्टिक, सिन्दूरले अर्कै महसुस गराउँथ्यो। ढुंगानाको पनि यस्तै अनुभव छ। 'म मेरो आमाले मेकअप गरेर नसक्दासम्म हेरेर बसिरहन्थे,' उनी सम्भि्कन्छिन्। अरु सामान्य समयमा मेकअपमा आफूलाई रुचि नभएपनि तीजको दिनमा भने उनले हातभरि चुरा लगाउँछिन् र मेकअप गर्छिन्। तीजको दिनमा रातो सारी र सुनका गहनामा सजिन रुचाउने उनले तिजको लागि आमा र हजुरआमाका लागि चुरा, पोते, टिका, रातो नंग पालिस र लिपिस्टिक किनिदिन्छिन्। 'मलाई यो पर्वमा आफू महिला भएकोमा गर्व लाग्छ', उनी भन्छिन्।

ढुंगानाले आफ्नो आमा र हजुरआमाले तिजको कुरा गरेको सुनेकी छिन्। त्यतिबेला तीजको समयमा माइती जान पाइने भएकाले पनि महिलाहरु रमाइलो मान्थे। उनको हजुरआमाले अझै पनि तिजको समयमा उनको पालामा गाउने गरेको श्रीमान र परिवारका अन्य सदस्यले दिएको दुःख, माइत जान नपाएको पीडा, अन्य दुख, सुखका कुरा समेटेको गीत गाएको सुन्दा उनलाई रमाइलो लाग्छ। 'त्यतिबेलाका गीतमा छोरा र छोरीबीचको भेदभाव, पढ्न नपाएको पीडा समेटिएका थिए,' उनी थप्छिन्, 'अहिलेका गीतमा त के हुन्छ, के हुन्छ, बुझ्नै सकिदैंन।'

फेरिएको तीज शैली ७८ वर्षिय अम्बिका भण्डारीलाई भने मन परेको छ। ललितपुर इमाडोल बस्ने भण्डारीको १२ वर्षको उमेरमा विवाह भयो। त्यसपछिका धेरै वर्ष उनले भारतको बर्मा, नेपालको तराईमा बिताइन्। तर पनि तीज पर्व मनाउन छोडिनन्। 'आफूले मनाउने गरेको तीज भारतीयहरुलाई पनि सिकाउन भ्याएँ' उनी भन्छिन्। नाजगान, खानपानमा धेरै नै रुची भएकी भण्डारी तीजमा भेटघाट हुने, महिनौँ अघि देखि दर खाने चलन मन परेको बताउँछिन्। अहिले पनि उनी आफन्तका कार्यक्रममा सहभागी हुन्छिन तर ब्रत बस्न भने छोडिसकिन्। 'स्वास्थ्यका कारण ब्रत बस्न त छोडेँ तर दर खान छोडेको छैन' उनले हाँस्दै सुनाइन्। पहिले पहिले आफ्ना आफन्त मात्रै भेला भएर दर खाने चलन थियो अहिले थुप्रै नातेदारहरुसँग जमघट गरेर तीज मनाउन पाइने हुनाले खुसी लाग्ने उनले बताईन्। तीज केही हदसम्म देखावटी बन्दै गएको तर सँगसँगै सद्भाव र अपनत्व पनि बढेको उनको अनुभव छ।

तीजको ब्रतको धार्मिक कारण

हिन्दूनारीहरुको महान पर्व हरितालिका तीजको ब्रत बस्ने दिन हो। आफ्ना पतिको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै तीजको दिन महिलाहरु निराहार ब्रत बस्छन् भने अविवाहित नारीहरुले राम्रो पति पाउँ भन्दै ब्रत लिने गर्दछन्। तीजको ब्रत प्रेम सम्बन्धी मिथकमा आधारित छ। सतीदेवीको अर्को रुप मानिने पार्वतीले शिवजीलाई मन पराएकी थिइन्। तर, अभिभावकहरुले उनको विवाह विष्णु भगवानसँग गरिदिने निर्णय गरे। यस्तै घटना सतिदेवीका सन्दर्भमा पनि भएको थियो। शिवजीजस्तो जँड्याहासँग विवाह गरेको भन्दै सतीदेवीलाई हेला गरिएका कारण उनले यज्ञमा हाम्फालेर आत्महत्या गरेकी थिइन्। पछि पार्वतीलाई पनि यसैगरी शिवजीसँग विवाह गर्न नदिई विष्णुलाई नै भिराउन खोजिएपछि पार्वतीले आफूले 'प्रेम' गरेका शिवजीसँगै विवाह गर्न पाउनुपर्ने जिकिर गरिन्।

पार्वतीको विवाह विष्णु भगवानसँग गर्ने निधो भएपछि साथीहरुको माध्यमबाट पार्वती भागिन्। हरि भगवानबाट लुकाइएको हुनाले यसै प्रसंगबाट 'हरितालिका' भन्न थालिएको पुरोहितहरु बताउँछन्। हरिबाट लुकाइएकी पार्वतीले शिवजीलाई नै पति पाउँ भन्दै पानीसमेत नखाई निराहार ब्रत बसेपछि शिवजी पति पाएको र यसैलाई आधार मानेर तिजको व्रत प्रारम्भ भएको बताइन्छ।

तीजको दिन व्रत बसे अविवाहिता महिलाले राम्रो वर पाउने, श्रीमान भएकाहरुको पतिको स्वास्थ्य राम्रो हुने र एकल महिलाका पतिको आत्माले शान्ति पाउने हिन्दू मान्यता रही आएको छ।

यस दिनलाई श्रीकृष्ण भगवानको न्वारानको दिन समेत मानिन्छ। कृष्ण अष्टमीको ११ औं दिनमा हरितालिका तिज पर्छ।

तिजको अवसरमा चेलीबेटीहरुलाई माइत बोलाउने र मीठोमीठो खान दिने चलन छ। हिन्दूहरुले मात्रै नभई गैर हिन्दूहरुले पनि तिजमा आफ्ना छोरीचेलीलाई माइतमा बोलाउँछन् र मीठो मीठो खुवाउँछन्। कतिपय अवस्थामा आदिवासी जनजातिहरुले दसैं लाई हिन्दूमात्रको पर्व भन्दै बहिस्कार गर्ने र टीका नलगाउने अभियान चलाए पनि तीजलाई भने आर्य, मंगोल हिन्दू, गैह्रहिन्दू सबैले मान्ने भएकाले यो पर्वलाई सामाजिक सद्भाव एवं एकताको दृष्टिले पनि महत्वपूर्ण मानिन्छ।

प्रकाशित: २४ भाद्र २०७२ ००:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App