सन् २०१२ मा जर्मनीमा अन्तर्राष्ट्रिय नेपाली सिनेमा अवार्ड (इनास) दुई विधामा वितरण गर्दै सुरु भएको अवार्ड यो साल काठमाडौंमा बाँडिनेछ। आउँदो असोज २५ र २६ गते अवार्ड वितरण गरिने कार्यक्रममा जानकारी गराइयो। अवार्ड काठमाडौंमा इनासको प्रथम सम्मेलनको अवसरमा बाँडिन लागेको हो।
यसअघि नेदरल्यान्डको आमस्टरडममा पाँच विधामा बाँडिएको अवार्ड यो पटक ११ विधामा प्रदान गरिनेछ। नेपाली फिल्ममा समर्पित भई यस क्षेत्रमा अतुलनीय योगदान पुर्याउने एक जनालाई लाइफटाइम एचिभेमेन्ट प्रदान गरिने कार्यक्रममा जानकारी गराइयो।
कार्यक्रममा अनेकस ग्लोबल अध्यक्ष पुष्प बरुवालको उपस्थितिमा गठित कार्यसमितिमा सरोज खनाल अध्यक्ष, रुपा राना उपाध्यक्ष, प्रकाश सुवेदी उपाध्यक्ष, अनुपकुमार बराल महासचिव, आकाशबाबु खवास सचिव, कृष्णभक्त महर्जन कोषाध्यक्ष, इन्दिरा जोशी सहकोषाध्यक्ष, दयाहाङ राई, शंकर बिसी, बाबु बोगटी र राजेश घतानी सदस्य रहेका छन्।
कार्यक्रममा बोल्दै अध्यक्ष सरोज खनालले अनेकसले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा लैजान भरमग्दुर प्रयत्न गर्ने जानकारी गराए। उनले भने, 'नेपाली फिल्मको श्रीवृद्विलाई केन्द्रमा राखेर अनेकसले काम गर्नेछ। अवार्ड कार्यक्रम यसको बृहत उद्देश्यको एउटा पाटो मात्र हो। हामी क्रमैसँग बाँकी कार्यक्रम सार्वजनिक गर्नेछौं।'
संस्थामा यादव खरेल, अशेष मल्ल, दीपक जंगम, रमण घिमिरे र राजु शाह सल्लाहकारका रुपमा रहेका छन्।
प्रकाशित: १४ श्रावण २०७२ ००:२९ बिहीबार





