बालिका तथा युवतीमाथि भएका यौन हिंसा परिवारकै सदस्य वा आफन्त जोडिएका घटना पनि धेरै छन्। दुई महिना अघि बुटवलकी एक दशबर्षे बालिका आफ्नै घरमा पाहुना हुन आएका नातामा नजिकैका दाई पर्ने युवकबाट बलात्कृत भइन्। १८-२० बर्षे ती युवकले बालिकासँग खेल्ने बहाना बनाएर घरमा एक्लै भएको मौका छोपी जबरजस्ती गरेका थिए। सैनामैना नगरपालिकाकी अर्की चार बर्षे बालिका पनि गत महिना नातामा अंकल पर्ने बाटै बलात्कृत भइन्। पराइबाट मात्रै होइन यो वर्ष आफ्नै बाबुद्वारा छोरी बलात्कृत भएको घटना पनि छ।
गत भदौमा आफ्नै १० बर्षे छोरीलाई यौन हिंसा गर्ने सालझण्डीका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी कारबाही अघि बढाएको छ। एक वर्षअघि पनि भैरहवाकी एक बालिका आफ्नै बाबुद्वारा बलात्कृत भएकी थिइन्। सालझण्डीकी अर्की एक बालिका आफ्नै हजुरबुवाद्वारा यौन शोषणमा परेको घटना बाहिर आएको थियो।
प्रजनन अंगको पूर्ण रुपमा विकास नभइसकेका कालिला र अवोध बालिकामाथि भएको यौन हिंसाका कारण उनीहरुको शारीरिक तथा मानसिक स्वास्थ्य जोखीममा परिरहेको उपचारमा संलग्न डाक्टरहरुको भनाइ छ। आफूमाथि भएको अपराध र अपराधीका बारेमा खुलेर बताउन नसक्ने यस्ता अवोध बालिकामाथि हुने यौन हिंसाको दर हरेक बर्ष बढ्दो छ। गत अर्थिक बर्षमा ४४ वटा बलात्कारका मुद्दा दर्ता भएको मा २४ वटा घटनामा पीडित १५ बर्ष मुनीका बालिका रहेको प्रहरीको तथ्यांक छ। अघिल्लो आर्थिक वर्ष रुपन्देहीमा बलात्कारका ३२ वटा मुद्दा प्रहरीमा दर्ता भएका थिए । ती मध्ये २५ जना सोह्र बर्ष मुनीका बालिका थिए।
प्रजनन अंगको विकास भइनसकेका कलिला बालबालिका यौंन हिंसाको सिकार हुँदा उनीहरुको मानसिक तथा शारीरिक स्वास्थ्यमा दीर्घकालसम्म असर पर्न सक्ने बताउँछन क्रिमसन अस्पताल मणिग्रामका मनोरोग विशेषज्ञ डा. मनोज ढुगांना। यौन हिंसामा परेका बालिकामा डिप्रेसन,मनमा भय र त्रास उत्पन्न भइरहने, हिनताबोध जस्ता मानसिक समस्या देखिने गरेको डाक्टर ढुगांनाले बताए। 'बालबालिकालाई यौन तथा अन्य कुनै हिंसाबाट जोगाउन नसक्नु उनीहरुको मानसिक र शारीरिक स्वास्थ्य जोखिममा पार्नु हो' मनोरोग विशेषज्ञ डा ढुगांनाले भने ।
पल्छिल्ला केही बर्षमा सरकारी तथा गैर सरकारी संघ संस्थाको अगुवाइमा भएका कार्यक्रममले हिंसा सहनु हुन्न वा हिंसा गर्नेलाई कानुनी दायरामा ल्याउनु पर्छ भन्ने चेतना गाँउसम्म पुगेकाले पीडितले न्याय खोज्दै न्यायिक निकायसम्म आउने क्रम केही बढेको छ।
प्रकाशित: २३ पुस २०७१ ०४:५१ बुधबार





