'नेपाली समाजमा महिलामाथि हुने घरेलु हिंसापछिको विद्रोह उपन्यासको मुख्य विषय हो। यो उपन्यास पढ्दा हरेक महिलाले आफ्नो कथा लेखिएको पाउनेछन्,' गीतकार थापाले भने। समाजमा महिलाको स्थान उकास्न पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने पनि थापाले दाबी गरे, 'हाम्रो समाजले परापूर्वकालदेखि महिलालाई दोस्रो स्थानमा राखेर दबाउने गरेको। तर यो पुस्तकले यस्ता कुरीतिविरुद्ध चेतनाको राँको बाल्नेछ।'
पहिलो पुस्तक एउटी नेपाली मोडलको जीवनीमाथि आधारित भएझैं 'द्रौपदी' पनि घरेलु हिंसाविरुद्ध विद्रोह गरेका महिलाको अनुभवमा आधारित छ। थापाले पुस्तकमा रहेका दुई चरित्रहरु ६ वर्षको उमेरदेखि घरेलु हिंसाबाट पिडित रहेका महिलालाई आधार मानेर तयार गरेको जानकारी गराए।
'द्रौपदी महाभारतमा घरेलु हिंसाबाट पीडित नारी थिइन्। नेपालमा यस्ता द्रौपदीहरु घरघरमा आज पनि पाइन्छन्। द्रौपदी घर घरमा सताइएका त्यस्तै नारीहरुको कथा हो,' थापाले भने।
पुस्तकमा नग्नता भित्याएको आरोप लागेका थापाले 'द्रौपदी'मा पनि यौनको रमरमी रहेको स्वीकारे। 'बलात्कृत महिलाको कथा भएकाले पुस्तकमा द्रौपदीका चीरहरणका दृश्य पक्कै छन् तर चीरहरणको वर्णन सस्तो छैन,' थापाले भने। पुस्तकलाई डिकुरा प्रकाशनले बजारमा ल्याएको हो।
प्रकाशित: २६ भाद्र २०७० २२:४६ बुधबार





