‘केटीएम स्कुल अफ मेकअप स्टुडियोे’अनामनगरमा रहेको छ । नेदरल्यान्डको मेकअप स्टुडियो आम्सर्टडको सहकार्यमा सञ्चालनमा रहेको छ । ब्युटीसियनमा करियर बनाउन चाहनेलाई र बनाइसकेका लागि अबडेट गर्नका निम्ति ३ दिनदेखि २ महिनासम्मको कक्षा सञ्चालन भइरहेको छ । मेकअप स्टुडियोकी प्रबन्ध निर्देशक मिना महतसँग नागरिक परिवारकर्मीले गरेको कुराकानी :
मेकअप स्टुडियो सञ्चालनमा ल्याउनुको उद्देश्य के हो ?
सुरुमा ब्युटीसियनहरुलाई भेटेपछि ग्ल्यामर क्षेत्रमा आइयो । हेयर स्टाइल, स्किन केयरमा फोकस भइयो । बजारले फेरि मेकअपको ब्रान्ड चाहियो भन्ने माग आयो । नेपालमा कुनै पनि बहुराष्ट्रिय कम्पनीको ब्रान्ड थिएन । न्युजिल्यान्डको कम्पनी मेकअप स्टुडियोलाई हामीले धेरै अनुरोध गर्यौँ । हामीले भन्यौँ भारतको २० करोड भारतीय बराबर नेपालको अढाइ करोडले बढी मेकअप गर्छन् । हाम्रो व्यापार त्यति छ भनेपछि उनीहरु कन्भिन्स भए ।
मेकअप स्टुडियोको खास काम के हो ?
यो त ब्रान्ड भयो । हामीले क्वालिटीका सामान ल्याएपछि उनीहरुले भने ब्रान्ड तिमीहरुकोमा आयो अब स्कुल खोल । कस्मेटिक सामान यसै प्रयोग गरेर हुन्न यसको पनि आफ्नै नियम हुन्छ । नमिलाएर गर्दा अनुहार बिग्रन सक्छ । कहाँ के कसरी लगाउने भन्ने कुरा टेक्नीकल्ली कुरा हो । त्यो सिकाउनका लागि हामीले यो स्कुल खोल्यौँ ।
कस्तो विद्यार्थीलाई टार्गेट गर्नुभएको छ ?
पहिल्यै ब्युटीसियन पेसामा आइसक्नुभएको लाई अबडेटका लागि २/३ दिने कक्षा दिएको छौँ । उहाँहरुलाई हाम्रो ब्रान्डेड प्रोडक्टहरुको प्रयोग गर्ने भनेर सिकाएका छौँ । अर्काे भनेको एडभान्स कोर्ष २ महिनाको छ भने ३८ दिनको बेसिक कोर्ष छ ।
कति खर्चमा के–के सिक्न सक्छन् ?
दुईवटा प्रोडक्ट बेच्नका लागि यो तालिम दिने गरेका छौं । ब्युटीसियनहरुलाई यो तालिम दिइन्छ । यस तालिममा शृंगार कसरी गर्ने कुन–कुन सामग्रीको प्रयोग गर्ने भन्ने सिकाइन्छ । बेसिक कोर्षका लागि हामीले ४९ हजार लिएका छौँ भने एडभान्स कोर्षका लागि ९९ हजार लिएका छौं । तालिम अवधिभर वर्कसप पनि गराइन्छ । वर्कसपका लागि चाहिने साम्रगी पनि यहीँबाट उपलब्ध गराइन्छ । वैदेशिक रोजगारमा जानका लागि पनि सिकाइन्छ । यो आधाकारिक कोर्ष हो । के–के सिकिन्छ भनेर व्याख्या गर्नुभन्दा पनि मेकअपको कोर्ष पूरा गराइन्छ भनेर बुझ्दा हुन्छ । क्षमतावान् मेकअप आर्टिष्ट बन्न लाखौं खर्च गरेर विदेशमा गएर सिक्नुपर्ने बाध्यता थियो त्यो टुटेको छ ।
फेसनसम्बन्धी पढाइ हुने कलेज पनि छ क्यारे यो स्टुडियोलाई कलेज नै बनाउने योजना छ ?
यो आवश्यक कुरा हो । हाम्रो बजार ग्ल्यामरस छ । धेरै जसो सिक्न चाहन्छन् तर अवसर पाइरहेका छैनन् । यदि सहज वातावरण बढ्यो र विद्यार्थीको चाप पनि प¥यो भने कलेजै नबन्ला भन्न सकिन्न ।
तपाईंंको विचारमा मेकअप के हो ?
यो एक प्रकारको कला हो । कला नहुनेहरुले मेकअप गर्न जान्दैनन् । यसलाई हामीले सामान्य तरिकाले बुझेका हुन्छौं तर मेकअप भनेको सामान्य हैन । हातमा सिप चाहिन्छ र ब्रान्ड कन्सस त हुनै पर्छ ।
अघिदेखि ब्रान्ड कन्सस भनिरहनुभएको छ, के नेपालीहरु ब्रान्ड कन्सस छैनन् हो ?
धेरै जसो हुनुहुन्न । सस्तो पाइयो भनेर हाम्रो छालामा जे पनि दलिहाल्नुहुँदैन । अनुहारको छाला झन सेन्सेभिट हुन्छ । कुनै पनि सामान लगाउनुअघि कुन कम्पनीको, कहाँ बनेको, कसरी लगाउने ओरिजिनल हो कि हैन छुट्टाएर ब्युटीसियनहरुसँग कन्सल्ट गरेर मात्र प्रयोग गर्नुपर्छ ।
प्रायः कस्मेटिक सामानहरु डुब्लिकेट हुन्छन् भनिन्छ हो हैन कसरी थाहा पाउने ?
अचेल त सजिलो छ आफूले लगाइरहने कस्मेटिक सामानको ब्रान्ड हेर्नुस् यदि नेपालमा त्यसको आधाकारिक विक्रेता छ र त्यसको मूल्य संसारको जुनसुकै देशमा पनि उही छ भने त्यो ओरिजिनल हो ।
मेकअपका सामानमा सरकारको दृष्टिकोण के पाउनुभएको छ ?
सरकारले त यसलाई विलासी वस्तुको सूचीमा राखेको छ र झण्डै ४५ प्रतिशत कर तिर्छाै हामीले । सरकारले बजार हस्तक्षेप पनि गरेको छैन उकास्न पनि केही गरेको छैन ।
नेपालमै कस्मेटिक सामानको उत्पादनको कत्तिको सम्भावना देख्नुहुन्छ ?
तत्काललाई देखिँदैन । किनभने युरोप र अमेरिकाका प्रोडक्ट जस्तो एसिया, अफ्रिकामा भएको देखिँदैन केही उत्पादन त हुन्छन् गुणस्तरीय छैनन् । उल्टो छालाको रोग निम्ताएका छन् ।
अन्त्यमा मेकअप कस्तो हुनुपर्छ ?
आफूले प्रयोग गरिरहेको कस्मेटिक सामानले छाला बिग्रेको छ कि छैन त्यसमा ध्यान दिने, दोस्रो हामीले मेकअप गरेपछि ७/८ घण्टा टिक्नुपर्छ । अनि अर्काे कुरा मेकअप गर्दा नेचुरल होस् ।
प्रकाशित: १३ कार्तिक २०७६ ०६:१६ बुधबार





