३० वैशाख २०७८ बिहीबार
अन्य

फूलको डोली पछ्याउँदा

समय र सम्भावना न स्थिर छ, न सीमित। हिँडिएका, भोगिएका बाटोका बाछिटा भने स्मृतिका अन्तरकुन्तरमा जम्मा भई बस्छन् र छचल्किन छाड्दैनन्। बेलाबखत सलबलाउँछन्, चलमलाउँछन् बितेका समयका छायाँहरू आफैँभित्र। झन्डै तीन दशकअघिको एउटा जात्रामय स्केच ताजै छ मेरो मनमा। यति ताजा कि न उडेको छ रङ त्यसको, न त धमिलिएका छन् रेखाहरू नै।

दसैँ र तिहारको हर्षोल्लास सकिएपछि पनि हाम्रो मनको उल्लासको अपेक्षा सकिदैनथ्यो। तामाका कलिला मुनाजस्ता त्यति बेलाका हामी सानासाना केटाकेटी औँला भाँच्न थाल्थ्यौँ, दिन गन्दै तिहारपछि आउने ठूलो एकादशीको। बेनिघाट रोराङ गाउँपालिकाको वडा नं. २ मा पर्छ हाम्रो गाउँ, धादिङमा। गाउँ नजिकै छ स्थानीयको आस्थाको केन्द्र गौरीशंकर मन्दिर। यही महादेव मन्दिरको प्रसिद्धिका आधारमा गणतन्त्रकाल अघिसम्म यहाँको गाउँ विकास समितिको नाम नै महादेवस्थान राखिएको थियो।

ठूलो एकादशीका बेला त्यहाँ लाग्ने जात्रा निकै तामझामको हुन्थ्यो। मानवसागर यति उर्लन्थ्यो कि त्यति मान्छे वर्षभरि हामी कतै देख्न पाउँदैनथ्यौं। आखिर जात्रा न हो, तीनछक पार्ने दृश्यहरू बोकेर आउँथ्यो।

मन्दिर नजिकै छ मलेखु खोला र त्यसले काखी च्यापेको फराकिलो बगर। मन्दिर वरिपरिको चौरमा मात्र कहाँ अटाउँथे र जात्रालु ? अरू बेला ढुंगा, बालुवा र काँसका बोटबाहेक केही नदेखिने बगर त्यस रात मान्छे नै मान्छेका घुइँचोले भरिन्थ्यो। घुइँचो कति भने हिँड्दा खुट्टा टेक्ने ठाउँ पाउन पनि गाह्रो। स–साना केटाकेटी त हुलमुलमा हराउलान् या चेपिएलान् कि भन्ने त्राहि। फुत्किएर हराइला या हुलमलमा चेपिएला कि भन्ने त्रासले च्याप्प समात्थ्यौँ हामी अग्रजका हात।

गृहस्थीको मज्जामा जम्न कसले रोक्ने ? दुई आत्माको मिलन के हो प्रमाणित गरेर देखाइदिन्थे उनीहरू। कति सिपालु ? जात्राको अवसरलाई छुट्टै किसिमले सदुपयोग गर्थे यस्ता जोडी।

त्यति धेरै मान्छेका घञ्चमञ्च अरू बेला कहाँ देख्न पाउनु ? अन्त कतै नदेखिएका अनेक तमासा त्यस्तै। त्यसैत्यसै दङदास भइन्थ्यो। सबै थरी रङ एकै ठाउँमा घोलिन लागेजस्तो रंगीन परिवेश। विविधतायुक्त दृश्य र ध्वनिले जोडिएका शृंङखलाहरू। आफैँमा बहुरूपी, बहुरंगी भएर आउँथ्यो जात्रा।

झ्याइँझ्याइँ बजेको बज्यै बाजा। रातको चकमन्नता कता भाग्थ्यो कता। पञ्चेबाजाको रन्को फैलाउँदै टाढाटाढाका गाउँहरूबाट समेत फूलका डोली आइरहन्थे राती। फूलको डोली ल्याउँदा लामा न लामा डोरीमा फूलका थुँगा उनेर डोलीमा बोकेर ल्याइन्छ र त्यो फुलाम्मे डोरीले मन्दिरको बाहिरपट्टि घेरेर सजाइन्छ। मनका इच्छा पूरा होस् भनेर भाकल गर्नेहरू र भगवानप्रति भक्तिभाव प्रकट गर्नेहरू फूलको डोली लैजाने गर्छन् मन्दिरमा।

हाम्रो गाउँबाट पनि प्रत्येक वर्षजस्तो कसै न कसैको घरबाट फूलको डोली लगिएकै हुन्थ्यो। फूलको डोली पछिपछि पञ्चेबाजाको तालमा पाइला सार्दै लाग्थ्यौँ हामी जात्रास्थलतिर। नाच्ने, गाउने, झुम्ने टोलीले झिल्का उडाउँथे। बेहिसाब रमाइलोले पोतिएको हुन्थ्यो गाउँदेखि मन्दिरसम्मको बाटो पनि।

खासमा ग्रामीण क्षेत्रमा जात्रा र पर्वको महत्व बढी नै थियो त्यतिबेला। सहरीकरणको प्रभावले छोएको थिएन गाउँबस्तीलाई। गाउँ केबल गाउँ भएर बाँचेको थियो आफ्नै मौलिकतामा, आफ्नै झर्रोपनमा। मनोरञ्जनका अवसरहरू पनि के नै पो हुन्थे र गाउँमा अरू ? चाडपर्व र जात्रामा न हो रमाइलो गर्ने। आफन्तजन भेट्ने, धेरैभन्दा धेरै चिनारुसँग कुरा गर्ने। त्यसैले जात्रा र पर्व धुवाँधाररूपमा मनाइन्थे।

मन्दिर वरपर रातभरि दियो निभ्न नदिई तेल थप्दै जागा बसेका देख्थ्यौँ आस्था प्रकट गर्ने एकथरी मान्छेहरू। स–साना छाप्रा बनाएर बसेका हुन्थे यसरी भगवानका लागि दियो जलाउनेहरू। एक राते छाप्राहरूले छपक्कै ढाकिएको हुन्थ्यो मन्दिर प्रांगण।

मन्दिर नजिक बगरभरि व्यापारीहरू कम्मर कसेर लाग्थे व्यापार गर्न। एक रात र बिहान केही बेरका लागि थापिएका पसल तर कारोबार टन्नै हुने। बगरका दुबैतर्फ भाँतीभाँतीका पसल हुन्थे अस्थायी छाप्रामा। पसलका बीच भागमा मानवीय चहलपहल र ओहोरदोहोर रोकिँदैन थियो। किनमेल चलिरहन्थ्यो रातभर।

जता हेर्यो त्यतै झिलिमिली। अर्कै आकर्षणले उज्यालिन्थ्यो त्यो रात बगरका छेउछाउ पनि। बिजुलीबत्ती त कहाँ पाइनु त्यो समयमा ? पसलका छाप्रैपिच्छे झुन्ड्याइन्थे मइन्टोल र बालिन्थे झलल। अचेलका नयाँ पुस्ताले नचिन्न पनि सक्छन् मइन्टोल। जाली सल्काई दम दिएर बालिने बत्ती हो यो, मट्टीतेलबाट। प्रशस्त चहक हुन्छ यसको।

गाउँमा चुरोटबिँडी र अलिअलि खिच्रिमिच्री भएका एकदुई पसल त थिए। विविधतायुक्त पसले सामग्री देख्न पाइन्न थियो। जात्राको रात दर्जनौँ पसलमा अनेक प्रकारका सामान देख्दा वाल्ल परेर हेरिन्थ्यो रिँगीरिँगी। जात्राखर्चका लागि केही पैसा त दिनुहुन्थ्यो आमाले। मन लागे जति कुरा किन्न कहाँ पुग्थ्यो र त्यतिले ? धेरै कुरा त हेरेरै चित्त बुझाइन्थ्यो।

मैले पहिलो चोटि आलु घडी बाँध्न पाएको थिएँ, त्यही जात्रामा। सुई, फित्ता सबै भएको तर चल्नचाहिँ नचल्ने। त्यस्ता प्लास्टिकका आलु घडी नाडीमा बाध्न पाउँदा पनि कम्ती रमाइएको थिएन त्यतिबेला। अहिले सम्झिँदा मनमनै हाँसो लाग्छ। सिट्ठी पनि किनिन्थ्यो सिर्रसिर्र बजाउँदै हिँड्न। मलाई मन पर्ने अर्को एक चिज किन्न छुटाउँदैन थिए, खेलौना पेस्तोल। प्याट्ट प्याट्ट पट्काउँदा मसिनामसिना झिल्का पनि निस्कन्थ्यो राति। अरू बेला किन्न पाइँदैन थिए यस्ता सामग्री गाउँघरतिर। त्यसैले हामी त्यतिबेलाका केटाकेटी के–के न पाएझैं खुसी हुन्थ्यौँ। जतन गरेर चलाउन त कहाँ जानिन्थ्यो र ? जात्रा सकिएको दुई–चार दिनमा नै भताभुंग पारिन्थ्यो। त्यसपछि खेल खत्तम। नयाँ किन्न अर्को वर्षको जात्रा नै कुरेर बस्नुपथ्र्याे।

मादक पदार्थको मस्तीमा लर्बराउँदै हिँड्नेहरूको संसार अर्कै हुन्थ्यो जात्रामा। लडेर चेप्लान् कि भन्ने डर। जोगिएर हिँड्नुपथ्र्यो त्यस्ताबाट। कोही त कुकुरले मुख चाट्दा पनि थाहा नपाई लडिराखेका देखिन्थे ठाउँठाउँमा। त्यति बेलादेखि नै हो मेरो बालमानसिकतामा उब्जिएको जाँड–रक्सीप्रतिको नकारात्मकता, जो अझै मेटिन सकेको छैन।

नशाको तालमा झै–झगडामा उद्यत समूह पनि देखा पर्थे। त्यस्ताका लागि रिसइबी साँध्ने मैदान बन्थ्यो जात्रा। चुटाचुट गर्न तम्सिन्थे हुलका हुल बाँधेका झगडालु। नजिकैको प्रहरी चौकीबाट आउँथे प्रहरी। त्यो बेलाका खैरा लुगा लगाउने प्रहरी देख्दा सबै थर्कमान ! झगडाले उग्र रूप लिन पाउँदैन थियो। समाजका भद्रभलादमी र जानेबुझेका मान्छेहरू पनि झगडा मिलाउनतिर नै अघि सर्थे।

कोहीकोही उमेर पुगेका ठिटाठिटी भने जात्राको मेसो मिलाएर सुटुक्क भागीबिहे गर्थे। दुई–चार दिन गाइँगुइँ कुरा चल्थ्यो। पछि विस्तारै घरपरिवार र समाजबाट पनि स्वीकृति मिल्थ्यो तिनलाई। गृहस्थीको मज्जामा जम्न कसले रोक्ने ? ‘दुई आत्माको मिलन’ के हो प्रमाणित गरेर देखाइदिन्थे उनीहरू। कति सिपालु ? जात्राको अवसरलाई छुट्टै किसिमले सदुपयोग गर्थे यस्ता जोडी।

धुमधामको नाचगान। मन्दिरको चौर र नजिकैको बगरमा समूहसमूका देखिन्थे गितांगे टोली। उल्लेख्यरूपमा देखाउँथे सक्रियता। ‘आकाशका तारा नै खसाउँलान् कि’ जस्तो गर्थे गीत गाएर। कम्मर मर्काइमर्काइ नाच्नेहरू उधुमसँग नाच्थे। झिल्का उडाउँथे नाचेर।

कतै पञ्चेबाजाको झ्याइँझ्याइँ झुइँझुइँ, कतै मादलको घिन्ताङे रन्को। धाराप्रवाह गीत र अटुट नृत्य। कता हेर्नु, कता सुन्नु ? यता र उताका रमाइलो हेर्दै डुल्थ्यौँ र जात्राको रौनकमा रम्थ्यौँ हामी। माथिमाथि लेकबाट आएका तामाङ समुदाय हुन् कि भिराला पाखाबाट झरेका चेपाङ समूह, सबैलाई एकै ठाउँ भेला गथ्र्यो जात्राले। आ–आफ्नै भाषाका गीत गाउँथे, खुब रमाइलो गर्थे ती आ–आफ्ना समूहमाझ।

कतै सिलोक भट्याउने टोली, कतै लोकभाकाको प्रस्तुति। अनेक स्वर र अनेक सुर। कला र गलाको इन्द्रेनी झुल्थ्यो जात्रास्थलभरि। राती अबेरसम्म जात्रा हेरेर केही घन्टा घरमा आएर सुत्थेँ र फेरि बिहानको झिसमिसेमा नै पुग्थेँ म जात्रामा। घर धेरै टाढा नभएको, उमेर पनि सानै भएको कारण मलाई रात नै बिताएर जात्रा हेर्न अनुमति मिल्दैनथ्यो आमाबुबाबाट। उहाँहरू पनि जात्रामा रात नै बिताउनुभएको कहिल्यै थाहा पाइएन। धेरै गाउँलेहरू भने त्यो रात जात्रामै बिताउँथे।

बिहान केही बेरसम्म रातीकै जस्तो जात्रामय चहलपहल देखिन्थ्यो। नाचगान र किनबेचका अन्तिम दृश्यहरूमा रम्न पाइन्थ्यो बिहान पुग्दा। छाप्राका दोकानहरू उठ्न थाल्थे बिहान सकिँदै गर्दा। जात्रालुहरू पनि बिस्तारै लाखापाखा लाग्न थाल्थे बिहान भएपछि। अर्को वर्षसम्मका लागि जात्राको रौनक सकिन्थ्यो। फूलको डोली लानेहरूले बिहान डोली घरमा फिर्ता ल्याउँदा साना–साना कन्याकेटीहरूलाई डोलीमा राखेर ल्याउने चलन थियो। आफ्नै उमेरका साना केटीहरू डोलीमा चढेर मज्जा लिएको देख्दा मलाई पनि डोलीमा चढूँचढूँ लाग्थ्यो। केटाकेटीको मन न हो, केटा भएर जन्मनुको घाटा महसुस गरेको थिएँ मैले त्यति बेला।

अचेल अनेक स्थानमा महोत्सव र सांगीतिक कन्सर्टहरू हुने गरेका छन्। पहिलेपहिले हुने भव्य जात्राकै नयाँ स्वरूप र संस्करणहरू पनि हुनसक्छन् यस्ता कार्यक्रमहरू। समयअनुसार मनोरञ्जन, रमझमका नयाँनयाँ तौरतरिकाहरू  देखा पर्दै, स्थापित हुँदै जाने रहेछन् क्यारे। समयको गतिशीलता र परिवर्तनशीलताकै प्रतिच्छायाँ भनौँ यसलाई पनि।

जिन्दगीको भागदौडले कताकता दौडाइरहन्छ मान्छेलाई। उमेरसँगै बढेका व्यस्तताका आयामहरूले कताकता हिँडारहन्छ मलाई पनि। कति छिट्टै दशक–दशकको समय चिप्लेर गइसकेछन् आँखै अघिल्तिरबाट। सानैछँदा देखेका जात्राका बिम्बहरू अनेक छन् सम्झनामा। अब त देख्न गाह्रो छ त्यस्तैरूपमा जात्रा। केबल परम्पराका लागि परम्परा धान्नु बेग्लै कुरा। भन्ने गरिन्छ नि समय समयका बात। हो नि, समय नै बलशाली।

मलाईचाहिँ किन हो त्यति बेलाका जात्राको भव्यता अर्कै खालको विशेष लाग्छ। नेपाली मौलिकताको झल्को आउँछ  जात्रामा। अहँ, मेटिँदैन त्यो स्वाद अहिलेका ठूलाठूला उत्सव, महोत्सव र कन्सर्टहरू हेर्दा पनि। कामना गर्छु, समय आफैँ फूलको डोली बनेर आइरहोस् मानिसका मनमन्दिरमा, ताकि हरेक मानिसको जीवन आफैमा उत्सवमय बन्न सकोस् !

प्रकाशित: २२ मंसिर २०७५ ११:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?