कलाकार जीतबहादुर रायमाझी ‘मैथिल’को ‘तराई नेपालका लोककला’ नामक पुस्तक प्रकाशित भएको छ।
सिद्धहस्त कलाकार एवं लेखक रायमाझीले पुस्तकमा तराईका प्रसिद्ध संस्कृति तथा थारू, भोजपुरी, अवधी र मिथिला लोककलाको तुलनात्मक प्रस्तुत गरेर प्रशंसनीय काम गर्नु भएको छ।
मिथिला लोककलाको त उहाँ माझिएका कलाकार नै हुनुहुन्छ, उहाँले गृह जिल्ला सिरहामा युनिसेफको आर्थिक अनुदानमा कला विद्यालय नै चलाएर धेरै कलाकार जन्माइसक्नुभएको छ । उहाँको महत्वपूर्ण योगदान सबै मिथिला कलाकारको मन मष्तिष्कमा सदैव रहनेछ।
उहाँ कला क्षेत्रका अन्वेषक पनि हुनुहुन्छ । उहाँले तराईका चारैवटा कलाको लोकपरम्परा, कला र यसमा महिला योगदानको मूल्यांकन सही र सान्दर्भिक ढंगबाट प्रस्तुत गर्नुभएको छ । पुस्तकलाई उहाँले ६ खण्डमा विभाजित गर्नुभएको छ । अहिलेसम्म थारू लोककला, भोजपुरी लोककला, अवधी र भिथिला लोककलाबारे स्वतन्त्र अध्ययन र अनुसन्धान भएको थियो । तर, एउटै पुस्तकमा चारै लोककलाको अनुसन्धान गरेर धेरै राम्रो गर्नुभएको छ । गागरमा सागर भर्ने भरसक प्रयास गर्नुभएको छ।
पुस्तकको सुरुमा उहाँले लेख्नुभएको भूमिका धेरै दृष्टिकोणले विचारणीय छ । अध्याय एकमा कलाको ऐतिहासिक पृष्ठभूमि, लोकवैदिक संस्कृति स्थापनाको इतिहासमा थारू संस्कृति र कला, वर्णाश्रम व्यवस्था र थारू जाति, लोककलाको विकास स्रोत÷आदिम कलाबाट लोककलाको विकास, सभ्यता र संस्कृतिमा जेठो प्रश्न र विकासका चरणहरू आदि समाविष्ट गरेर राम्रो व्याख्या र विश्लेषण गर्नुभएको छ ।अध्याय दुईको परिभाषा खण्डमा लोककलाको परिभाषा प्रस्तुत गर्नुभएको छ । अध्याय तीनमा लोकसंस्कृतिको आधारभूत मूल तत्वहरू लोककलामा स्थायित्व, लोकवैदिक संस्कृति, लोकवैदिक कलाको तात्पर्य, लोककालको तात्पर्य अदि माथि तर्कपूर्ण ढंगले व्याख्या गर्नुभएको छ ।
अध्याय चारमा तराईका लोककला, थारू जाति, लोकपरम्परा, संस्कृति र कला, थारु लोककला, महिलाको भूमिका, भोजपुरी लोककला, अवधि लोककला, मिथिला लोककला, लोककलाको तुलनात्मक महत्व, लोकसंस्कार चित्र, लोककलाको आधारभूत तत्वहरू, वर्तमान सन्दर्भमा दुर्लभ कोटिका लोकचित्रकला, संस्कृति र सभ्यता, भिन्नता र समानताको दृष्टि, शैलीको विकास, लोकचित्रकला आलेखमा नारीहरूको बाहुल्यताको कारणमाथि दृष्टि दिनुभएको छ ।अध्याय पाँचमा लोककलाको वर्गीकरण लोकचित्रकलामा रंग–योजना र विधान, स्थायित्व र सांस्कृतिक दृष्टिकोणले भूमिचित्रकलाको तुलनात्मक महत्व।
‘तराई नेपालका लोककला’ पुस्तकले थारू, भोजपुरी, अवधी र मिथिला कलाको जानकारी दिलाउँछ ।
अन्तिम अध्याय ६ मा लोककलामा प्रतीक चिन्हहरूको तात्पर्य, दैनन्दिनी वस्तुहरुको पूजन, उत्सव मिति, चित्र र अरिपन, नववर्षारम्भ, चाडपर्व, व्रत र संस्कार कलाहरू, मिथिलाका व्रत, पर्व र लोककला, केही भूमिचित्रहरू, उपसंहार, नारी चाडपर्व र कला, लोककलाको उपादेयता, तराई नेपालका लोककलाकारहरूको अभिलेख, नेपाली लोककालको चित्रमय झलकहरू र अन्त्यमा परिशिष्ट सन्दर्भग्रन्थ सूची प्रस्तुत गरेर सह्रानीय काम गर्नुभएको छ।
विद्वान लेखकको भनाइसित सहजै सहमति जनाउन सकिन्छ कि ‘समष्टिमा मिथिला लोककला नारीप्रधान कला हो’ । तर, अहिले पुरुष कलाकारको उपस्थिति पनि अभिनन्दनीय भन्न सकिन्छ । त्यस्तै कुल मिलाएर नेपाल तराईका थारू लोककला अझ पनि घरका भित्ताहरूमै सीमित छन्।
मिथिला कलाको भूमिचित्र अरिपन र भित्री चित्र कोहवरको प्राचीनता र मौलिकता दर्शाउन उहाँले एउटा नवीन तथ्य उद्घाटन गर्नुभएको छ । उहाँको शव्दमा ‘स्मरणीय छ– कालिदास मैथिल महाकवि थिए । त्यसैले त्यसका पात्र विरही यक्ष र क्षणीय अनि मेघदूतको वर्णनमा कोहवरको मार्मिक चित्रणले त्यतिखेरको समाजमा लोकचित्र कलाको महŒव र परम्परा झल्किएको छ।’
तराई नेपालका लोक कलाकारको अभिलेख । तथ्याक÷सूची विवरण प्रस्तुत गरेर प्रशंसनीय सूचना पाठकलाई उपलब्ध गराउनु भएको छ । अन्त्यमा थारू, अवधी, भोजपुरी र मिथिला लोककलाका रंगीन भलकहरू, यी कलाका चित्र समावेश गरेर पुस्तकलाई पठनीय बनाउने काम गर्नुभएको छ ।पुस्तकको शीर्षक ‘नेपालको तराईका लोककला’ राखेको भए राम्रो हुन्थ्यो किनकि तराई नेपालको एउटा प्रमुख प्रदेश हो । यहाँको संस्कृति एवं सभ्यता सदियौं पुरानो छ । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानबाट प्रकाशित पुस्तकमा शुद्धाशुद्धिको पटक्कै ख्याल गरिएको छैन ।
प्रकाशित: १६ असार २०७५ ०२:४४ शनिबार