८ वैशाख २०८१ शनिबार
विचार

को हुन् प्रथम सहिद?

दुर्घटनामा मरेका व्यक्तिलाई पार्टीको झन्डा ओढाएर सहिद घोषणा गर्ने संस्कारले सहिद शब्दकै अवमूल्यन भएको छ।


लखन थापा मगर नेपालका प्रथम सहिद हुन् तर उनको सहादतको १ सय २५ वर्षपछि २०५६ फाल्गुन ११ गते राज्यले उनलाई सहिदमात्र घोषणा गर्‍यो। उनलाई प्रथम सहिद घोषणा नगरिँदा असन्तुष्ट नेपाल मगर संघले २०६२ माघ १० गते सरकारलाई ज्ञापनपत्र दिएर सहिद कप्तान, लखन थापा मगर (दोस्रो) लाई प्रथम सहिद घोषणा गर्नुपर्ने माग गर्‍यो। त्यसको जवाफमा सरकारले 'प्रथम सहिद घोषणा गर्न ऐतिहासिक प्रमाणिक तथ्य एवं अन्य विवरण आवश्यक पर्ने र निजअघि नेपालमा अन्य कुनै व्यक्तिले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता, अखण्डता, राष्ट्रिय एकीकरण, राजनीतिक स्वतन्त्रता, प्रजातन्त्रलगायत राष्ट्रि्रय जीवनका अन्य क्षेत्रमा योगदान दिँंदै प्राण आहुति गरेका छैनन् भन्ने यकिन प्रमाणित तथ्य तथा विवरण आवश्यक पर्ने' तर्क गरेर ‘लखन थापालाई प्रथम सहिद घोषणा गर्न तथ्यगत एवं व्यवहारिक हिसाबले पनि कठिनाई पर्ने' व्यहोराको पत्र पठायो। राज्य अझै पनि संकुचित एकाङ्कीपन मै रुमल्ली रहेको छ।

‘नेपालका प्रथम अमर सहिद बाँकावीर' पुस्तिकामा सुरतबहादुर शाहले वि.सं. १९०६ मा बलदेव शाह (बाँकावीर) जङ्गबहादुर राणाको विरोधमा मारिएकाले उनलाई प्रथम सहिद घोषणा गर्नुपर्ने तर्क गरेका छन्। उनका अनुसार जङ्गबहादुरले श्री ५ राजेन्द्रलाई नजरबन्दमा राखेर अड्कलेको मानो खानुपर्ने बनाएकाले राजपरिवार तथा मोफसलका ठकुरी रिसाएका थिए। साथै अछाममा खटिने राणाका कर्मचारीलाई लैनो नौमुठे गाई सित्तैमा दिनुपर्ने, हाकिमलाई पिठ्युमा राखी बोकेर ठाउँठाउँमा डुलाउनुपर्ने, कर्मचारीलाई गोर्खाली मानो भनी चामल, दाल, घिउ, मसला उठाउनुपर्ने, छोरीचेली, नारीप्रति हातपात गर्दा अभिभावकले टुलुटुलु हेर्नुपर्ने बाध्यताले उनीहरू मुर्मुरिएका थिए। यस्तैमा अछामी राजासँग विवाह गरिएका गीर्वाणयुद्धकी छोरीपट्टीकी नातिनीबाट जन्मेका साहेबज्यू बलदेव शाह ( बाँकावीर)ले राणाको फौजलाई रासन नदिने अभियान चलाए। एक्लै, दुक्लै भेटेका जवान र कर्मचारीको हत्या गर्न थालेपछि राणाहरूको इसारामा रुद्रसिंह स्वाँरले बाँकावीरको टाउको काटी हत्या गरे। उनको टाउको रातारात अछामको सिमाना कटाएर डोटी गौंडा हुँदै काठमाडौं पुर्‍याएका थिए।

बाँकावीरको संघर्ष राजालाई नजरबन्दमा राखेको र राणा कर्मचारीको ज्यादतीविरुद्धको आक्रोशबाट उब्जेको देखिन्छ। पारिवारिक प्रतिशोधबाट प्रेरित भएकोले बाँकावीरलाई सहिद भन्नु कति उपयुक्त होला? इतिहासविदु् राजाराम सुवेदी लेख्छन्- 'नेपाल एकीकरणको बेला धेरै वीर, वीराङ्गनाले राष्ट्रको निमित्त प्राण अर्पेका छन्। उदाहरणको लागि कालु पाण्डे, चेब्रे राना, बंशु गुरुङ, धोकलसिंह बस्न्यात, भक्ति थापा आदि। सहिद पनि कुन घटना, कुन कालखण्ड र कुन प्रसङ्गमा भएका हुन् भन्ने कुराको सीमाबद्ध या समयापन गर्नुपर्ने स्थिति देखिएको छ।'

तर, सबैले थाहा पाएको तथ्यअनुसार त नेपालका प्रथम सहिद लखन थापा मगर नै हुन्। उनले पहिलोचोटी जनस्तरबाट विद्रोह गरेर निरकुंश जहानिया राणा शासनका प्रवर्तक जङ्गबहादर राणाविरुद्ध प्रजातान्त्रिक आन्दोलन गरेर मृत्युवरण गरेका थिए। सुवेदी लखन थापा मगर बारे लेख्छन्- 'राणा शासनको कालो, क्रुर र अत्याचारी शासनबाट मुक्ति लिई नेपालीलाई आफ्नो अस्मिता बचाउने प्रयत्न गरी प्राण आहुति दिने सिद्ध लखन थापा (दोस्रो) नेपालका प्रथम सहिद हुन्।' उनै प्रथम सहिद लखन थापा मगरको वीरतालाई सम्मान गर्दै उनलाई झुण्ड्याई मारिएको स्थान गोरखा बुङ्कोट, काहुले भङ्गारमा जनस्तरबाट सालिक स्थापना गरिएको छ। चौराहा राजमार्ग, बुटवलमा सालिक स्थापना गरिएको छ। दाङ, घोराहीमा निर्माणधीन सहिद पार्क प्रथम सहिद लखन थापा मगर नामाकरण गरिएको छ। तानसेन, पाल्पामा सालिक निर्माण भइरहेको छ। पोखरामा लखन थापा मगरको शालिक निर्माण भएको दुई वर्ष बित्यो। प्रमाण खोज्दै सरकार प्रमुखले उद्घाटन गर्न आलटाल गरेका छन्।

सरकारमा पुगेपछि लखन थापा मगरलाई प्रथम सहिद घोषणा गर्छौ भनेर घोषणापत्रमा चुनावी नारा बनाएको माओवादीको नेतृत्वमा सरकार बनेपछि लखन थापालाई प्रथम सहिद घोषणा गर्नुको साटो पार्टीको ‘जनयुद्ध'मा मारिएका दशहजारलाई सहिदको सूचीमा राख्यो। सालिक अनावरणका लागी त्तकालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई पटकपटक गरेको अनुरोध बेवास्ता गरियो।

राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता, अखण्डता, राष्ट्रिय एकीकरण, राजनीतिक स्वतन्त्रता, प्रजातन्त्रलगायत राष्ट्रिय अन्य विशेष विषय र क्षेत्रमा योगदान गरेर प्राण आहुति गर्ने व्यक्तिलाई सहिद भनिन्छ। सहिद शब्दकै अपमान हुने गरी सानो दुर्घटनामा मरेका व्यक्तिलाई पार्टीको झन्डा ओढाएर क्षतिपूर्तिसहित सहिद घोषणा गर्ने संस्कार प्रोत्साहित गर्दै सरकारले आधिकारिकरूपमै ६ हजार ३ सय ४४ जनालाई सहिद घोषणा गरिसकेको छ। लखन थापा मगरको नाम उच्चारण गर्न कन्जुस्याइँ गरिन्छ। अब बाँकावीर प्रथम सहिद भनेर दावी गर्न थालिएको छ। सहिद घोषणा गरिएकामध्य कति राष्ट्रिय स्वार्थका लागि जीवन आहुति दिएका व्यक्ति हुन्? ती वास्तवमा सहिदका कोटीमा पर्छन् कि पर्दैनन्? संक्रमणकालीन अवस्थामा पार्टी स्वार्थका लागी जबरजस्तीसहिद घोषणा गर्ने प्रवृत्तिको पूनर्मूल्याङ्गन नगर्ने हो भने सक्कली सहिदको अपमान हुने गरी संख्या बढ्दै जानेछ।

प्रकाशित: २ फाल्गुन २०६६ ००:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App