सरकारले पोर्चुगलको लिजवन सहरका पर्यटन प्रवर्द्धक रमेशराज बास्तोलालाई बर्खास्त गरेको छ।
गएको आइतबार काठमाडौंमा भएको राजावादीहरूको प्रदर्शनको समर्थन गर्दै विज्ञप्ति जारी गरेकोमा सरकारले उनलाई बर्खास्त गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयले लिखित स्पष्टीकरण सोधिएको र स्पष्टीकरण सन्तोषजनक नभएकोले सोमबारको मन्त्रीस्तरीय निर्णयअनुसार उनलाई जिम्मेवारीबाट हटाइएको हो।
मन्त्रालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी गोकर्ण प्रसाद उपाध्यायद्वारा जारी विज्ञप्तिमा भनिएको छ, निजले पेस गरेको स्पष्टीकरण सन्तोषजनक नदेखिएकाले ऐ। कार्यविधिको दफा ५ बमोजिम मिति २०८१ फागुन २६ (मन्त्रीस्तरीय) निर्णयअनुसार निजलाई पर्यटन प्रवद्र्धकको जिम्मेवारीबाट हटाइएको व्यहोरा सम्बन्धित सबैलाई जनाकारी गराइन्छ ।
आइतबार उनले सरकारलाई बुझाएको स्ष्टीकरणमा भनेका छन्, ‘देशमा संवैधानिक राजतन्त्र बहुदलीय प्रजातन्त्र अहिलेको आवश्यकता हो । म देशमा राजसंस्थाको पक्षधर हो । राजा र धर्मको समर्थन गर्दा तिमीहरूलाई आपत्ति छ भने तिम्रो पद तिमी नै राख । जुन दिन देशमा राजतन्त्र आउने छ, फेरि त्यति वेला जिम्मेवारी लिउँला । तिमीहरूको भ्रष्ट सरकारमा यो कागजी पदमा बस्न मलाई चाहना छैन । मेरो स्पष्टीकरण यही हो ।’
प्रकाशित: २७ फाल्गुन २०८१ १६:५६ मंगलबार