५ चैत्र २०८१ मंगलबार
image/svg+xml
राजनीति

राजसंस्था फर्काउन संसद् छाडेर सडकमा आउन तयार छौं : राजेन्द्र लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले गणतन्त्र स्थापनापछि राप्रपाले मात्र राजसंस्थाको मुद्दा बचाएर राखेको दाबी गरेका छन् । 

व्यवसायी दुर्गा प्रसाईंले राजसंस्था पुन:स्थापनाको आन्दोलनको नेतृत्व आफूले गरेको र राप्रपाले ढोक्सा थाप्न खोजेको आरोप लगाएपछि अध्यक्ष लिङदेनले उक्त कुरा बताएका हुन् । राजा फर्काउने आन्दोलनको नेतृत्व जुन दल र समूहले गरेपनि आफूलाई खुशी लाग्ने बताउँदै उनले लामो समयदेखि राप्रपाले उठाएको माग पूरा भएकोमात्र हेर्न चाहेको स्पष्ट पारे ।

नेपाल रिपब्लिक मिडियाको प्रस्तुति 'फ्रन्टलाइन' मा कुरा गर्दै अध्यक्ष लिङदेनले राजसंस्था पुनःस्थापनका लागि सडकमा विभिन्न समूह र व्यक्ति आउनु सकारात्मक रहेको बताए । राप्रपाले राजसंस्था र हिन्दुराज्य हटाउन कहिल्यै कुनै भूमिका नखेलेको उनको जिकिर थियो।

राष्ट्र अहिले मुडभेटको स्थितिमा पुगेको बताउँदै अध्यक्ष लिङदेनले सरकार र प्रमुख दलका शीर्ष नेताले आन्दोलन र मागबारे सोच्ने बेला आएको उल्लेख गरे । उनले भने, 'यो देश कुनै पनि सर्तमा मुडभेटको स्थितिमा जानु हुन्न । राजसंस्था र हिन्दुराज्य पुनःस्थापनका लागि जारी आन्दोलन उत्कर्षमा पुगेकाले सरकार र सम्बन्धित निकायले तत्काल मागबारे छलफल चलायोस् ।'

अध्यक्ष लिङ्देनले राजसंस्था र हिन्दुराज्य स्थापनाका लागि सांसदबाट राजीनामा दिएर सडकमा उत्रनु पर्ने अवस्था आए तयार रहेको बताए । उनले भने, 'मेरो र राप्रपाको धारणा त के छ भने राजा फर्काउने यो आन्दोलनको नेतृत्व कांग्रेस र एमालेले गरून् ।'

अध्यक्ष लिङदेनले अहिलेको संविधानमा धेरै राम्रा पक्ष पनि रहेको चर्चा गर्दै यहीं संविधान भित्र रहने गरै राजा र हिन्दुराज्यलाई पनि समेट्नु पर्ने धारणा राखे ।.

फरक प्रशंगमा अध्यक्ष लिङदेनले कमल थापा नेतृत्वको राप्रपा नेपालसँगको एकीकरण तत्कालका लागि टरेको बताए । अहिले राजसंस्था पुन:स्थापनाको माग र आन्दोलन अगाडी आएकाले यसको सफल अवतरणपछिमात्र एकीकरणको विषयमा सोच्ने उनको भनाइ थियो । 

प्रकाशित: २८ फाल्गुन २०८१ १८:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App