फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किने क्रममा उनलाई स्वागत गर्न राप्रपा, राप्रपा नेपालसहित विभिन्न समूहका नेता तथा कार्यकर्ताहरू उपस्थित भए। उनीहरूले राष्ट्रिय झन्डा र पूर्वराजाको तस्बिरसहित नारा लगाउँदै स्वागत गरेका थिए।
तर, यो भिडमा एउटा फरक दृश्य देखियो– भारतीय जनता पार्टी (भाजपा) का नेता तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटोसहितको पोस्टर। पोस्टरमा ‘राजसंस्था पुनर्स्थापना गरौं, हिन्दुवादी प्रदीपविक्रम राणा’ लेखिएको थियो।

पूर्वराजा शाहको स्वागत कार्यक्रममा भारतीय मुख्यमन्त्री आदित्यनाथको तस्बिर देखिएपछि यस विषयमा सामाजिक सञ्जालमा व्यापक चर्चा भयो। यसपछि प्रहरीले पोस्टरमा नाम उल्लेख भएका प्रदीपविक्रम राणाको खोजी सुरु गर्यो।
यता नेपाल प्रहरीले आफूलाई खोजी गरिरहेको भन्दै प्रदीपविक्रम राणा हाल नेपाल छोडेर भारत पुगेका छन्। भारतीय सञ्चारमाध्यम ‘नव भारत टाइम्स’ सँग कुरा गर्दै उनले नेपाल प्रहरीको निरन्तर निगरानीका कारण आफू भारत आउन बाध्य भएको बताएका छन्।
‘नेपाल सरकारलाई लाग्यो कि म भारत सरकार र योगी आदित्यनाथसँग मिलेर षड्यन्त्र गरिरहेको छु। प्रहरीले मलाई निरन्तर खोजी गरिरहेको छ, त्यसैले नेपाल छोड्नुपर्यो,’ राणाले भने।
राणाले आफू कुनै राजनीतिक खेलमा नरहेको दाबी गर्दै हिन्दुत्वप्रति आफ्नो गहिरो आस्था रहेको बताए। ‘योगी आदित्यनाथ हिन्दुत्व र धार्मिक आस्थाका लागि संघर्ष गरिरहनुभएको छ। उहाँ मेरा लागि प्रेरणाको स्रोत हुनुहुन्छ,’ उनले भने।
आर्थिक रूपमा सम्पन्न रहेको दाबी गर्दै उनले थपे, ‘मेरो छोरी पाइलट र छोरा चिकित्सक छन्। पिताजी नेपाली सेनामा हुनुहुन्थ्यो। म कुनै बाह्य शक्तिबाट सञ्चालित छैन।’
राणाले हालको सरकार परिवर्तन नभएसम्म नेपाल नफर्कने अडान व्यक्त गरेका छन्। ‘नेपालमा जबसम्म राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्रको पुनर्बहाली हुँदैन, तबसम्म म नेपाल फर्कने छैन,’ उनले ‘नव भारत टाइम्स’ सँग भने।
प्रकाशित: २८ फाल्गुन २०८१ १५:१६ बुधबार