नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपालमा धर्म निरपेक्षताको जननी माओवादी भएको बताएका छन्।
बुधबार बुटवलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले समावेशिता, समानुपातिकता, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, सबैको जन्मदाता माओवादी भएको बताए। उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै इतिहासबाट परास्त भएका प्रतिगामी शक्तिहरुले वर्तमान गठबन्धन सरकारको जनबिरोधी क्रियाकलापबाट असन्तुष्ट भएका जनतालाई भ्रम दिएको आरोप लगाए। उनले पूर्वराजा शाहको गतिविधिलाई हुंकार दिनकै लागि तराई मधेस जागरण अभियान स्थगित गरेर काठमाडौं आएको बताए।
अध्यक्ष दाहालले भने, ‘यो गठबन्धन सरकारको जनबिरोधी क्रियाकलापबाट असन्तुष्ट भएका जनतालाई भ्रम दिएर एकथरी इतिहासबाट परास्त भएर मिल्क्याइएका शक्तिहरु फेरि बाटोमा देखापरे । हामीले सोच्यौँ । तराईमा त हिँड्दै गरौँला आएर । पहिला काठमाडौंमा गएर तिनीहरुलाई चुनौति दिनुपर्छ भनेर किनभने यो त उत्पीडित जाति, वर्ग, समुदाय सबैले मिलेर ल्याएको परिवर्तन हो । यसको रक्षा गर्ने जिम्मेवारी जसले जन्माएको हो त्यसको नै हुन्छ । आज समावेशिता, समानुपातिकता, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, सबैको जन्मदाता माओवादी नै हो ।’
प्रकाशित: २८ फाल्गुन २०८१ १७:५३ बुधबार