१२ आश्विन २०७९ बुधबार
विचार

शल्यक्रिया: नेकपा भाँडभैलोको

‘विश्वका सर्वहारा एक हौँ’ भन्ने तर एउटै मुलुकका सर्वहारा पनि एकजुट हुन नसक्ने वास्तविकता इतिहासले प्रमाणित गरेको छ। नेपाल पनि यस सन्दर्भमा अपवाद थिएन। दर्जनौँ चिरामा विभक्त हुने तर पनि ‘एकजुट होऔँ’ भन्नचाहिँ नछाड्ने थेगो नै भइसकेको थियो नेपालका कम्युनिस्टहरूको। यही परिप्रेक्ष्यमा नेपालका २ ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादीको एकता दुर्लभ घटना थियो। तर यो एकता ३ वर्ष पनि टिकेन। यो ३ वर्षको मात्र हैन, त्यसअघिका पृष्ठभूमिसमेत केलाउँदै यी २ पार्टीको ‘डिभोर्स’ समेत केलाउन भ्याएको छ– ‘नेपाल कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रको एकतादेखि विभाजनसम्म’ ले।

इतिहासकार तथा त्रिविका इतिहास विषयकै उपप्राध्यापक डा. ढाकाराम सापकोटाद्वारा लिखित यो पुस्तक एमाले–माओवादी मिलनदेखि विछोडसम्मका ३ वर्षमा केन्द्रित भए पनि नेपाल कम्युनिस्ट पार्टीको स्थापनासम्मै खोतल्न पुगेको छ। त्यसपछि कम्युनिस्ट पार्टीको विकासक्रमदेखि २०६२/०६३ साल, संविधान सभा निर्वाचन तथा संसदीय चुनावहरूमा एमाले र माओवादीको घृणा र मेलयुक्त उतारचढावलाई उजागर गरेको छ। जसले यी २ दलको उतारचढाव, उधो र उभो गति तथा जनविश्वास र विभिन्न कालखण्डमा भोगेका आरोह/अवरोह थाहा पाउन मद्दत गर्छ।

यस अर्थमा पुस्तकको मूल शीर्षकले विषयवस्तु एमाले–माओवादी विवादमा मात्र केन्द्रित छ कि भन्ने देखाए पनि पढ्दै जाँदा नेपालको कम्युनिस्ट आन्दोलन बुझ्न निकै उपयोगी सावित हुने देखिन्छ। पार्टी एकताअघिका क्रियाकलाप मात्र हैन, त्यसपछिका दोस्तीदेखि त्यो दोस्तीमा कसरी धमिरा लाग्न सुरु भयो भन्नेसम्म विषयलाई पुस्तकले उजागर गरेको छ। पुस्तकमा प्रा.डा. सुरेन्द्र केसीले भनेका छन् कि गएको ३–४ वर्ष यी दुई घटकले जसरी नेपालको राजनीतिलाई आफ्नो कुत्सित राजनीतिको चक्रब्यूहमा फसाउँदै देशको कम्युनिस्ट आन्दोलनलाई नै नष्ट, भ्रष्ट एवम् दिग्भ्रमित पार्दिन पुगे, त्यसको पनि फेहरिस्त हो– यो पुस्तक। समग्रमा पुस्तकको गुदी नै डा. केसीले भनेजस्तै यी २ दलले आफ्नो स्वार्थका लागि नेपाली जनताको विश्वासमाथि कसरी कुठाराघात गरे भन्ने नै हो। यसमा द्विविधा मान्नुपर्ने कुनै कारण छैन।

माइकल क्रिकटनले भनेका छन्– ‘यदि तिमीलाई इतिहास थाहा छैन भने तिमीलाई केही पनि थाहा छैन। तिमी त्यो पात हौ जसलाई थाहा छैन कि यो रुखको अंश हो।’ पक्कै पनि इतिहास थाहा नपाएको मानिस करिब करिब अनविज्ञ नै हुन्छ। वर्तमान मात्र हैन, भावी पुस्तालाई समेत यही अवस्थाबाट मुक्त गराउन हुनुपर्छ, डा. सापकोटाले कुनै बेलाको यो दुर्लभ घटनालाई ऐतिहासिक दस्ताबेजका रूपमा उतार्न चाहेका। दुर्लभ यस अर्थमा कि नेकपा एमाले र माओवादी विचार, सिद्धान्त, दर्शन र व्यवहारका हिसाबले नदीका २ किनारा थिए जसको मिलन असम्भव थियो। त्यसैले पनि यी २ किनाराको असम्भव मिलनको गाँठी कुरो र विछोडको रहस्यलाई कसै न कसैले अभिलेखन गर्नै पथ्र्यो जुन काम गरेर इतिहासकार तथा उपप्राध्यापक डा. ढाकाराम सापकोटाले नेपाली इतिहासको इतिहासमाथि एक इँटा थपेका छन्।

इतिहासका प्रमाण सङ्कलन गर्ने, त्यसलाई व्यवस्थित सङ्ग्रहमार्फत इतिहास लेखनको साँचोमा ढाल्ने काम जो/कसैका लागि पक्कै सहज छैन। यसका लागि सम्बन्धित विषयको विज्ञ नै चाहिन्छ। त्यसैले वर्षौँदेखि इतिहासकै प्राध्यापन पेसामा संलग्न मात्र हैन, प्रजातन्त्रका अथक योद्धा मनमोहन अधिकारी, मनमोहन अधिकारी नेपाली राजनीतिमा ६ दशक, नेपालमा कम्युनिस्ट पार्टीको विकासक्रम, सरकार र नेतृत्व, चितवनको ऐतिहासिक रूपरेखा, नेपाल रत्न पुष्पलाल (सहलेखन) जस्ता पुस्तक लेखिसकेका डा. सापकोटाबाट एउटा पृथक ऐतिहासिक घटनामा भएको अभिलेखन कार्य सराहनीय छ। विभिन्न सञ्चार माध्यममा छापिएका उनका दर्जनौँ लेखहरूले पनि यो कृतिका लागि उनी योग्य थिए भन्ने पुष्टि गर्छ।

इतिहासले प्रमाण खोज्छ, अदालत जस्तै। नत्र त्यो कि गफको कोटिमा पर्छ कि त काल्पनिकताको। यो पुस्तकका लेखकले इतिहासकारको विशेषणमाथि न्याय प्रदान गरेका छन् अर्थात न आफूलाई गफाडी भनाउने अवसर छाडेका छन् न त काल्पनिकताको खानी भनाउनै। औपचारिकमात्र हैन, बरु प्रस्तुत कतिपय अनौपचारिक प्रमाणहरूसमेतले उनले यो पुस्तक लेखनलाई स्तरीय र विश्वसनीय बनाउन गरेका प्रयत्न पुष्टि हुन्छ। लेखक आफैँले स्वीकारेका छन् कि यो पुस्तक विश्लेषणात्मक भन्दा पनि बढी विवरणात्मक छ। घटनाक्रमबारे जानकारी राख्न मात्र विवरण काफी भए पनि आधुनिक पाठकले जान्न चाहने के, किन, कहाँ, कहिले, कसरी र त्यसको कारण के थियो होला भन्ने जिज्ञासाको भोक मेटाउनचाहिँ विश्लेषण पनि आवश्यक हुन्थ्यो। जसले सुनमा सुगन्ध थप्थ्यो। तर यसलाई लेखकका विभिन्न बाध्यतामध्येको एक होला भनेर चित्त बुझाउनुको विकल्प नै के हुन्छ र ?

भनिन्छ– इतिहास निर्मम हुन्छ। नभन्दै यो पुस्तकले पनि दुवै पक्षको खोट खुट्याउन बाँकी राखेको छैन। लेखककै शब्द सापटी लिएर भन्दा सत्तामा पुगेपछि आफूबाहेक अरूलाई नेदेख्ने नेपाली राजनीतिको पुरानै रोग हो। सत्तामा पुग्नेहरू सत्ताको रापतापले अन्धा हुने हुँदा सत्ताबाट बाहिरिएपछि मात्र वास्तविकता थाहा पाउँछन्। त्यसका लागि वस्तुनिष्ठ ढङ्गले कामको मूल्याङ्कन गर्दै इतिहासमा दर्ज गर्न आवश्यक हुन्छ। पुस्तकको जन्म आधार शायद यही हो। त्यसैले यो पुस्तकले २ दलमध्ये कसलाई होच्यायो वा कसलाई माथि पार्न खोज्यो भन्दा पनि तथ्य र प्रमाणहरूले के भने र ती कस्ता थिए भन्ने आधारमा केलाउनुपर्ने हुन्छ। पुस्तकमा लेखकले घटना र त्यसलाई पुष्टि गर्ने प्रमाणहरू जुटाइदिएका छन् भने निष्कर्षस्वरूप आफै खासै बोलेका छैनन्। प्रमाणका आधारमा सही/गलत छुट्याउने काम पाठकलाई नै सुम्पेका छन्। त्यसैले कोहीप्रति पक्षपाती नहुने लेखकीय धर्म उनले निर्वाह गरेका छन्।

इतिहास इतिहासका शिक्षक र विद्यार्थीका लागि मात्र आवश्यक पर्ने आमधारणा पाइन्छ। तर यो गलत धारणा हो। माक्र्स गार्वेले भनेका छन् कि आफ्नो विगतको इतिहास, उत्पत्ति र संस्कृतिको ज्ञान नभएको जनता जराबिनाको रुख जस्तै हो। त्यसैले यो पुस्तक अध्ययन गर्ने, अनुसन्धान गर्नेमात्र नभई राजनीतिमा सामान्य रुचि राख्नेहरूका लागि पनि पठनीय सामग्री बन्न सक्छ। विशेषगरी राजनीति गर्नेका लागि त यो एकप्रकारको ‘गीता’ नै ठहर्छ जसले दलहरूको मिलन, त्यसका लागि आवश्यक पर्ने गृहकार्य, मिलनपछि अपनाउनुपर्ने सतर्कता अनि विछोडसम्म पु¥याउने कारकहरूबारे मार्गदर्शन गर्छ। ताकि कुनै पनि दलसँग एकता नै गर्ने कि नगर्नेदेखि एकता भइसकेपछि त्यसलाई टिकाउन अपनाउनुपर्ने ‘टिप्स’हरूसमेत सुझाउँछ। जसका लागि पुस्तकमा उपलब्ध सन्दर्भ सामग्रीहरू काफी छन्।

नेपालको वर्तमान राजनीति धूमिल छ। नेपाली जनता राजनीतिक नेताहरूप्रति आश्वस्त छैनन्। दलहरूले जनताको विश्वास आर्जन गर्न सकेका छैनन्। यस्तो अवस्थामा कसैले पनि निर्वाचनमा बहुमत ल्याउने अवस्था छैन जबकि मुलुकमा स्थिरताका लागि बहुमतको सरकार अत्यावश्यक हुन्छ। यस्तो परिस्थितिमा चाँडो/ढिलो दलहरूबीच ध्रुवीकरणदेखि एकतासम्म अवश्यम्भावी छ। त्यसैले पनि यो पुस्तकले यसका लागि अत्यावश्यक गृहकार्य अनि त्यस्तो अवस्थालाई दिगो बनाउने ‘सूत्र’ को काम गर्न सक्छ। खासमा विफलता सिकाइका लागि अवसर पनि हो। यो मान्यताका साथ अघि बढ्ने हो भने कुनै दिन एमाले–माओवादी ‘डिभोर्स’ कसैका लागि मिलनको गतिलो पाठ वा पुनर्मिलनको प्रवेश विन्दुसमेत हुन सक्नेछ।

९ खण्डमा विभाजित यो पुस्तक ४५६ पेजमा विभक्त छ। शिखा बुक्स प्रा.लि. प्रकाशक र ज्ञानज्योति बुक्स पब्लिकेसन प्रा.लि. वितरक रहेका यो पुस्तकको मूल्य ६२५ रुपियाँ छ। पुस्तकमा प्रयोग भएको कागज, सम्पादन, आकार आदिले यति मूल्य तिरेकामा कत्ति पनि पछुतो लाग्दैन। प्रा.डा. सुरेन्द्र केसीले आफ्ना विद्यार्थीको कृतिका लागि लेखिदिएका छोटो शुभकामना मन्तव्यले पनि केही स्वाद पक्कै दिलाउँछ।

प्रकाशित: १ आश्विन २०७९ ०६:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App