‘धेरै नेता भए भने झगडा मिलाउन कसैले मद्दत गर्दैनन्। (कलहे न सहायः स्यात् संरक्षेद् वहुनायकम्)’ भनिएको छ शुक्रनीतिमा। नेपालको पुरानो प्रजातान्त्रिक दल नेपाली कांग्रेस बहुनायक (धेरै नेता) भएका कारण आज अस्तित्व रक्षाका लागि अनेक यत्न गरिरहेको देखिन्छ। त्योभन्दा ठूलो कारण पार्टी आफ्नो मूल सिद्धान्तबाट विचलित भइरहेकाले गम्भीर क्षति बेहोर्नुपरेको अवस्था छ।
भारतमा जन्माइएको ‘अखिल भारतीय–नेपाली कांग्रेस’ नाम बदलेर नेपाली कांग्रेस भयो। ब्रिटिस शासनका विरुद्ध भारतमा बस्ने नेपालीलाई संगठित गर्न भारतीय–नेपाली कांग्रेस खोलिएको इतिहासकारहरूको तर्क छ। नरेन्द्रदेव, राममनोहर लोहिया, आचार्य कृपलानीलगायतले संरक्षकको भूमिका खेलेका थिए त्यसमा। राणाशासनविरुद्ध नेपालमा क्रान्ति गर्न मातृकाप्रसाद कोइराललाई ‘सुप्रिम कमान्डर’ बनाएर नेपाली कांग्रेस सक्रिय भएपछि मात्र नेपालका नेपालीले कांग्रेसलाई चिनेका हुन्।
श्री ३ चन्द्रशमशेरको वक्रदृष्टिबाट जोगिन कृष्णप्रसाद कोइराला भारतमा बस्न थाले। परिवार पाल्न धौ धौ थियो उनलाई। बिहान÷बेलुका खानेकुरा जुटाउन मुस्किल थियो। विश्वेश्वरप्रसाद कोइरालाले आत्मवृत्तान्तमा लेखेका छन्– ‘पिताजी त्यहाँ (भारतमा) बडो दुःखका साथ बस्नुभएको थियो। किस्तीलाई घाँटीमा फिता लगाएर झुन्ड्याएर अनेक प्रकारका मालसामानहरू राखी ‘हरेक माल दो–दो पैसा’ भनेर कराउँदै फुटपाथमा बेच्नुहुन्थ्यो। कहिले बाहुलाभरि माला झुन्ड्याए जस्तो विभिन्न किसिमका मालसामानहरूको माला झुण्ड्याएर फुटपाथमा, ट्राममा बेचेर हिँड्नहुन्थ्यो।’ (पृृष्ठ ५३)
अभावमा बित्यो विश्वेश्वरप्रसाद अर्थात बिपीको बाल्यकाल। दुःखले उनले बिए, एलएलबी उत्तीर्ण गरे। विभिन्न भाषाका ज्ञाता थिए उनी। अठोट र मेहनतले मानिसलाई उचाइमा पु¥याउँछ र आत्मसम्मानले उभ्याइरहन्छ। बिपीका अवगुण नभएका होइनन् तर अथक परिश्रम, अदम्य उत्साह र अठोटले एउटा लुरे बालक ‘बिपी’ भनेर जगतमा परिचित भयो। राष्ट्रियता र प्रजातन्त्र मात्र पर्याप्त हुँदैन, समाजलाई संरक्षण गर्ने समाजवाद चाहिन्छ भने उनले। कार्यकर्ता सोध्थे– ‘कम्युनिस्टले भन्ने गरेको साम्यवाद र तपाईँले भन्ने गरेको समाजवादमा अन्तर के छ ?’ उनी सम्झाउँथे– समाजवादबाट स्वतन्त्र र मौलिक हक मिल्काएपछि त्यो साम्यवाद हुन्छ।
बिपीको जीवन गहिरोसँग अध्ययन गर्दा उनी राजनीतिज्ञ होइन, राजनेता (स्टेट्स्म्यान) थिए भन्ने बुझिन्छ। राजासँग सैद्धान्तिक र कार्यगत एकता हुन नसकेपछि आठ वर्ष बन्दी भए उनी। त्यसपछि सात–आठ वर्ष सारनाथ (बनारस) गएर बसे। राजा महेन्द्रले श्रीभद्र शर्मालाई बनारस पठाएर ‘मिलेर काम गरौँ’ भन्ने सन्देशमार्फत दलहरूमाथिको प्रतिबन्ध फुकुवा गर्ने आशय व्यक्त गरेका थिए। कोटेश्वरस्थित निवासमा भएको कुराकानीमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री श्रीभद्रले भनेका थिए– महेन्द्र र बिपी दुवैले आफ्ना कमजोरी बुझ्न थालेका थिए। शम्भुप्रसाद ज्ञवालीलाई संसदीय प्रणालीमा आधारित संविधानको मस्यौदा तयार गर्न लगाएका थिए, महेन्द्रले। २०२८ फागुन ७ गते बहुदलीय व्यवस्था भएको नयाँ संविधान दिन चाहन्थे उनी। दुर्भाग्यवश, २०२८ माघ १७ गते चितवनमा महेन्द्रको शरीरान्त भयो। त्यसपछि परिस्थिति अर्कै भयो।
आजको कांग्रेस पचासौँ जातका पशुपक्षीको मासुसहितका परिकार बेचेर धनी हुन चाहने मांसाहारी भोजनालयको मालिक जस्तो छ।
बिपीकी जेठी बुहारी सुषमा (प्रकाश कोइरालाकी पत्नी) भन्छिन्– ‘राजा महेन्द्र परलोक भएको खबरले बिपी दुःखी हुनुभयो। महेन्द्र राष्ट्रवादी राजा हुन्, उनी परलोक भएकामा चोट लाग्यो भन्नुभयो।’ सुषमाका अनुसार राजासँग मतभिन्नता भए पनि नेपालमा राजसंस्था र प्रजातान्त्रिक शक्ति ऐक्यबद्ध भएनन् भने कम्युनिस्ट प्रवल बन्छन् भन्ने बिपीको धारणा थियो। शायद त्यसैले होला, राजसंस्था (मोनार्की) र प्रजातन्त्र (डेमोक्रेसी) एक अर्काका निम्ति अपरिहार्य छन् भन्दै बिपीले स्वदेश र विदेशका विभिन्न मञ्च तथा सञ्चारमाध्यममा बोलेको पाइन्छ।
कांग्रेसले मूलबाटो त्यागेका कारण आफूले पार्टी परित्याग गरेको बताउँदै संस्थापक नेता कृष्णप्रसाद भट्टराईले अलग बस्ने निर्णय गरे। गिरिजाप्रसाद कोइराला कुबाटोमा लागेको भन्दै गणेशमानसिंहले पार्टी त्यागेर जगन्नाथ आचार्यलगायत नेताहरूसँग छुट्टै ‘जागरण’ अभियान चलाए। २०४८ सालमा झापाको कलबलगुडीमा महाधिवेशन हुँदा पंक्तिकार कांग्रेस कलहको साक्षी थियो। गहभरि आँसु लिएर बिपीका समकालीन नेता गणेशमान सिंह आफूले अहिले नै पार्टी त्याग्ने भन्दै आसनबाट जुरुक्क उठे। सबै स्तब्ध भए। हजाराैं नेता–कार्यकर्ताका बीचमा गणेशमानको आँसु कृत्रिम थिएन। बिपीले देखाएको बाटो बिर्सेर गिरिजाप्रसाद कोइरालाले एकतन्त्री ढंगले अप्रजातान्त्रिक शैलीमा पार्टी चलाएको हुँदा धेरैजसो नेता–कार्यकर्ता रुष्ट रहेको प्रमाण थियो त्यो घटना।
गिरिजाप्रसाद कोइरालाकै कारण शेरबहादुर देउवाको नेतृत्वमा हजारौँ नेता÷कर्ताकर्ता कांग्रेसबाट अलग भए। मूल घर त्यागेर नेपाली कांग्रेस (प्रजातान्त्रिक) दल बनाए देउवाले। केही वर्षपछि कृत्रिम प्रेम भयो तर आज पनि कांग्रेसमा गिरिजापन्थी र देउवापन्थीहरू तील–चामलझैँ रंगले नै चिनिन्छन्।
आजको कांग्रेस पचासौँ जातका पशुपक्षीको मासुसहितका परिकार बेचेर धनी हुन चाहने मांसाहारी भोजनालयको मालिक जस्तो छ। भक्ष–अभक्ष, कर्तव्य–अकर्तव्य, गलत र सही, प्रजातन्त्र र निरंकुशतन्त्र सबैसँग सम्झौता गर्दै ‘चुनाव जित्ने’ मिसनमा मात्र केन्द्रित छ। सिद्धान्तवादीहरू हराएका छन्। इमानदारहरू थोरै छन्। बिपीलाई नचिन्ने कति छन्, कति कांग्रेसमा ! अवसरवादी, ठग, तस्कर, घुस्याहा, भ्रष्ट र अपराधी पृष्ठभूमिका हजारौँलाई घरमा भित्र्याउँदा सदाचार, मूल्य/मान्यता, नैतिकता, अनुशासन र संस्कार सबै किंवदन्ती बन्दैछ। यो रोग प्रायः सबै दलमा छ। झेल गरेर भए पनि खेल जित्ने ध्याउन्नमा लागेका दलहरूले राजनीतिक पद्धतिलाई बदनाम गराइरहेका छन्। कुनै कारणले राष्ट्रले अर्को बाटो लियो भने दलका लागि रोइदिने कोही छैनन्।
हरेक वर्ष पुस र साउनमा दुईपल्ट बिपीको तस्बिरमा माल्यार्पण गरे पनि मालाको फूल नओइलाउँदै बिपीलाई बिर्सन्छन् धेरैजसो कांग्रेसी।
प्रसिद्ध कवि किट्स्को कवितामा एउटा युवक आफ्नी प्रेमिकालाई पछ्याइरहन्छ तर भेट्न सक्दैन। ऊ त्यसमै आनन्दित हुन्छ। पछ्याउने कामलाई नै ऊ कर्म ठान्छ। साध्य ठान्छ। मायालुको दर्शन पाउँदा मात्र पुलकित हुन्छ। स्पर्श त परै जाओस्, प्रेमिकाको शरीरबाट आउने सुगन्ध हावामा छरिँदा हावासँग पनि इष्र्या गर्छ ऊ। आफूले मात्र अनुभूत गर्न पाउनुपर्ने सुगन्ध अरूले पनि पाएकामा विकल बन्छ ऊ।
युवा अवस्थामा त्यस्तै त्यस्तै हुन्छ। प्रेमी–पे्रमिकालाई अरूले छुँदा एक किसिमको पीडा हुन्छ। नेपाली कांग्रेस पनि कैयन् वर्षदेखि सत्तामात्र पछ्याइरहेको छ। भारतले नाकाबन्दी गर्दा पनि, लाखौँ बिघा जमिन मिचिँदा पनि, महँगी र भ्रष्टाचारले जनता आक्रान्त हुँदा पनि नबोल्ने पार्टी भन्दै जनताले वडादेखि संसद्सम्म कांग्रेसलाई दण्ड दिए। त्यसपछि पनि पार्टी सुधे्रको देखिएन। ‘नेपाली कांग्रेस’ भन्ने मेलाबजारमा विभिन्न नेताका पसल छन्। आफ्नै गुटको नाफा र घाटा हिसावकिताव गर्दै बसेका छन्। कम्युनिस्ट पार्टी आफ्नै बलबुता, क्षमता र लोकप्रियता आर्जन गरेर उभिएको होइन, कांग्रेस कमजोर भएकै कारण वापमन्थीहरू सत्तामा पुगेका जगजाहेर छ।
झापाको काकरभिट्टामा कार्यालयहरू बस्नुअघि नकलबन्दामा भन्सार, प्रहरी चौकी आदि थिए। इलामको पशुपतिनगर क्षेत्रका कार्यालय पहिले गोर्खे भन्ने ठाउँमा थिए। पचासौँ वर्ष पुराना यस्ता कुराबारे युवालाई ज्ञान हुँदैन। कांग्रेसमा पनि मातृकाप्रसाद कोइराला, विश्वेश्वर (बिपी), सुवर्णशमशेर, गणेशमानसिंह, सुन्दरराज चालिसे, ढुण्डीराज शास्त्री, काशीनाथ गौतम, प्रयागराजसिंह सुवाल, परशुनारायण चौधरी, राधाकृष्ण थारू, रामप्रसाद राई, नारदमुनि थुलुङलगायतका नेताले ठूलो योगदान गरेका थिए भन्ने आजका धेरै कांग्रेसलाई ज्ञान छैन। कांग्रेसरूपी वृक्षको आँप खाइरहेकालाई कसले रुख रोप्यो र हुर्कायो भन्ने अत्तोपत्तो छैन। हरेक वर्ष पुस र साउनमा दुईपल्ट बिपीको तस्बिरमा माल्यार्पण गरे पनि मालाको फूल नओइलाउँदै बिपीलाई बिर्सन्छन् धेरैजसो कांग्रेसी।
देवीप्रसाद सापकोटा, केदारनाथ ढुंगाना (दमननाथ ढुंगानाका पिता), आचार्य कृपलानी (वनारसका पुराना शिक्षक), चूडाप्रसाद शर्मा, रामचन्द्र अधिकारी (मनमोहन अधिकारीका पिता), रासविहारीलाल कायस्थ (बिपीका शिक्षक), मातृकाप्रसाद (बिपीका दाजु), जयप्रकाश नारायण आदिका कुरा सुनेर आफू प्रभावित भएको लेखेका छन् बिपीले। धेरै अध्ययन गर्ने र ज्ञानगुनका कुरा सुन्ने बानी भएका कांग्रेसीजन कति छन् आज ? पार्टीको नीति, सिद्धान्त र आदर्श कहाँ बाँकी छ ? ‘एनी हाउ–धन कमाऊ’ भन्ने र एकपल्ट कुनै पद पाएमा लुँड्याउन पाइन्थ्यो भनेर सोच्नेहरूको बाहुल्य भएकै कारण दलहरू बदनाम भएका छन्। राष्ट्र र जनताको मात्र हितमा काम गर्ने एउटा दल छान्नुप¥यो भने तपाईँ हामीले कसलाई छान्ने ? मन नपरे पनि एउटा दललाई भोट दिनैपर्ने प्रणालीले जनविश्वास गुमाएका कारण राष्ट्र नै कमजोर हुने र अस्थिरता अरू बढ्ने संकेत देखिँदैछ।
प्रथम विश्वयुद्ध (सन् १९१४–१८) सुरु हुँदा वनारसमा जन्मेका बिपी (जन्मको नाम चूडामणि) सानैदेखि अध्ययनशील थिए। बिपी आठ वर्ष सुन्दरीजलमा बन्दी जीवन बिताएर आठ वर्ष वनारस (सारनाथ) बसे। धेरैपल्ट आर्थिक संकट भोगेको उनकै आत्मवृत्तान्तमा छ। तर सिद्धान्त बेचेर सम्पत्ति कमाउने निकृष्ट सोच कहिले देखिएन। कांग्रेस दलमा लाखौँ ‘कांग्रेसी’ छन् तर आजसम्म अर्को बिपी जन्मिएन। त्यसैले बिपी अनुपम राजनेता भए नेपाली राजनीतिमा।
‘मन्त्री होऔँला, ठूलाठूला कुर्सीमा बसौँला भनेर हामी राजनीतिमा लागेका होइन। खान नपाएको पेटमा अन्न जाओस्। हाँस्न नपाएका ओठमा हाँसो जाओस्। केटाकेटीले पढ्न पाउन्। रोगीलाई औषधिमूलोको व्यवस्था होस् भनेर हामी राजनीतिमा लागेका हौँ’– बिपीले भनेका छन्।
बिपीको विचार आज उनकै दललाई व्यङ्ग्यवाण वा वक्रोक्ति लाग्न सक्छ। बिपी–विचारबाट च्युत भएको कांग्रेस पार्टी बिपी बेच्ने पसल बनेको छ। ‘विदेशी विचार नबोक्नू’ भन्ने बिपीको चेतावनी थियो। पद र पैसामा लिप्त अधिकांश नेताले बिपीसँग विचार, रगत वा संगतको नाता देखाए पनि बिपीका धेरै गुणमध्ये एउटा पनि आत्मसात गरेको पाइँदैन।
‘राजावादी’ मात्र बन्न रुचाउने तर असल राजतन्त्रवादी हुन नसक्ने भजनमण्डलीलाई काखी च्यापेर योग्य ‘मोनार्किस्ट’ व्यक्तिहरूलाई नै पन्छाउँदा धेरै देशमा राजतन्त्र पतन भएको इतिहास छ। राजावादीहरू एउटा राजाको जय÷जयकार गर्छन्। उनीहरू राजसंस्था कसरी बलियो बन्छ भनेर सोच्ने राजतन्त्रवादीहरू जस्तो गहिरो विश्लेषण गर्दैनन्। राजालाई उकासेर तत्काल फाइदाका लागि उत्ताउला कुरा गर्ने ‘राजावादी’ थिएनन् बिपी। उनी राजतन्त्रवादी र प्रजातन्त्रवादी थिए। ब्रिटेन, जापान, थाइल्यान्ड, नर्वे, स्विडेन, बेल्जियम, स्पेन, डेनमार्क, भुटान, क्यानडा, अस्ट्रेलिया, कम्बोडिया, मोनाको, ब्रुनाइलगायतका राष्ट्रमा राजतन्त्रवादी र प्रजातन्त्रवादी नेताहरू आज पनि सम्मानित छन्।
बिपी राजनेता थिए। त्यसैले सभ्य राष्ट्रका सभ्य, शालीन र उदार नेताहरूसँग उनको चिनजान थियो। विश्वप्रसिद्ध नेताहरू बिपीलाई उच्चकोटिको मान्थे। छत्तीस वर्षमै मोहन शमशेरको सरकारमा गृहमन्त्री भएका बिपीले ‘राजा निरंकुश बन्न हुँदैन’ मात्र भने। राजतन्त्र र प्रजातन्त्र एक–अर्काका आधार हुन् भने। लेन्डुप दोर्जेलाई सम्झाउँदै सारनाथमा बिपीले भनेका थिए– ‘राजासँग मेरो विचार मिल्दैन। म पनि संघर्ष गरिरहेको छु, प्रजातन्त्रका लागि। तपाईँ पनि सिक्किममा प्रजातन्त्र चाहनुहुन्छ। तर राजतन्त्र गयो भने सिक्किम स्वतन्त्र रहँदैन।’ वनारसमा पढिरहेका बलदेव शर्मा मजगैयाले ‘बिपी र लेण्डुपको बहस’ शीर्षक लेखमा यो सम्वादमा आफैँ साक्षी भएको लेखेका छन्। (स्रोत ः युवराज गौतमद्वारा सम्पादित वीरेन्द्र स्मृति ग्रन्थ।)
बिपीलाई बुझ्न यस्ता धेरै विचार पर्याप्त छन्। माओ, चाउ–एन–लाई, डेभिड बेन गुरियन, जवाहरलाल नेहरु, विली ब्रान्टलगायतका धेरै अन्तर्राष्ट्रिय व्यक्तित्वसँग बिपीको सुमधुर सम्बन्ध थियो। प्रधानमन्त्री छँदा उनी पचास वर्ष पनि पुगेका थिएनन्। राजा महेन्द्र पनि युवक थिए। धेरैले भन्छन्– महेन्द्र र बिपीबीच मेलमिलाप भएको भए नेपाल धेरै सबल, स्वावलम्बी, अत्मनिर्भर र समृद्ध बन्ने थियो।
इतिहासबाट पाठ सिकेर नेपाली कांग्रेसले ब्रिटेनको कन्जरभेटिभ पार्टीको शैलीमा परम्परागत शक्ति, इतिहास, संस्कृति, प्राचीन धर्म एवं राष्ट्रिय स्वाभिमानको रक्षा गर्ने नीति लिएमा अनुदारवादी, सर्वसत्तावादी, अवसरवादी, अराजकतावादी, साम्प्रदायिक र जातीय घृणाको खेती गर्नेहरू स्वतः ओझेलमा पर्दै जान्छन्। कांगे्रसले बाटो बिराएको पक्कै हो तर लाखौँ समर्थकले बाटो बिराएका छैनन्। तसर्थ, विदेशीको स्वार्थ त्यागेर राष्ट्र र जनताको हितमा पार्टीले कठोर निर्णय गर्न सक्नुपर्छ। कम्युनिस्ट वा अन्य दलले हिँडेकै बाटो सही ठानेर विनासको बाटो पछ्याइरहेमा केही वर्षमै कांग्रेस ‘कोमिन्ताङ’ बन्ने निश्चित छ।
राष्ट्र बचाउने स्पष्ट मार्गचित्र प्रस्तुत गर्न सक्यो भने कांगे्रसले गुमेको विश्वास र शक्ति आर्जन गर्न सक्छ। विदेशीले नेपाललाई धुलोपिठो पार्न माओवादीमार्फत ल्याएको गणतन्त्र त्यागेन भने कांग्रेस मासिन सक्छ। त्यस्ता रोगबाट बच्न कांग्र्रेसले दिल्लीमा गरिएको १२ बुँदे सम्झौता त्यागेर पुनर्जीवनको यात्रा सुरु गर्नुपर्छ। त्यतिमात्र गर्ने साहस गर्दैन भने भविष्यमा आफ्नै मलामी जानुपर्ने अवस्था पनि आउन सक्छ।
प्रकाशित: ९ श्रावण २०७७ ०५:०४ शुक्रबार