हिन्दु संस्कृतिमा प्रत्येक वर्ष फागुन शुक्ल पूणिमालाई फागु पूर्णिमा अर्थात् होली पर्व भनिन्छ। यस दिनलाई राष्ट्रिय पर्वका रूपमा लिइन्छ भने सार्वजनिक बिदा पनि छ। होली पर्व घरपरिवार साथीभाइ आपसमा रङ्गिएर उल्लासपूर्वक मनाउने गरिन्छ।
फागुन पूर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर रमाइलो गर्दै उत्साह र उमंगका साथ मनाइने रङ्गीन पर्वका रूपमा सहर्ष स्वागत गर्ने गरिन्छ। वास्तवमा भन्ने हो भने होली पर्व एउटा अन्तर्राष्ट्रिय पर्व पनि हो। नेपाल र भारतमा प्रायः समान तरिकाले यो पर्व मनाइन्छ।
फागुन शुक्ल अष्टमीका दिन काठमाडौँको वसन्तपुर दरबारअगाडि चीर (विशेषरूपले सजाएको लिङ्गो) गाडिन्छ भने त्यस लगत्तै होली सुरु भएको मानिन्छ। पूर्णिमाको राति उक्त चीर (लिङ्गो) लाई ढालेर जलाएपछि फागु समाप्त भएको ठानिन्छ। काठमाडौँमा फागु पूर्णिमाको मध्यरातमा नेवार समुदायले टुँडिखेलको मध्यभागमा अवस्थित रूखमा गुरूमापा राक्षसलाई भोज खुवाउने चलन पनि रहिआएको छ।
फागु मनाउने सन्दर्भमा चाँगुनारायणमा राधा र वंशगोपालका मूर्तिलाई रथमा राखी यात्रा गराइन्छ। रथलाई परम्परागतरूपमा चाँगुनारायण मन्दिरको परिक्रमा गराइन्छ। रथयात्रापछि चाँगु क्षेत्रमा होलीको सुरुवात भएको मानिन्छ।
यसरी प्रचलित फागुन शुक्ल पूर्णिमामा होली मनाइने परम्परा रहेको छ तर लिच्छविकालमा भने पौष पूर्णिमामा होली मनाएको तथ्य गोपाल राजवंशावलीमा लिखित ‘श्रीमानदेव पोष्यपूर्णमी होलि कृतम्’ भन्ने शब्दावलीबाट खुल्न आउँछ।
यस्तै मल्लकालीन अभिलेखहरूबाट मल्लराजाहरू आफ्नो दरबारको सामुन्ने मयलको रुख गाँडेर फागु पर्व मनाउँथे भन्ने कुराको पुष्टि हुन्छ। नेपाल एकीकरणपछि पृथ्वीनारायण शाहको समयमा हनुमानढोका गद्दी बैठकअगाडि रङी विरङी कपडा टाँगेर बनाइएको तीन छते चीर गाडेर फागुको उत्सव नाचगान गरी बडो उल्लास र उमङ्गका साथ मनाइन्थ्यो भन्ने कुरा ‘दिव्य उपदेश’ मा उल्लेख गरेको पाइन्छ।
होली पर्वको सुरुवात कहिलेदेखि भएको हो भन्ने सम्बन्धमा हालसम्म कुनै तथ्य आधार पाउन सकेको छैन, तर पौराणिक कथन र किंवदन्तीअनुसार, सत्य युगमा हिरण्यकशिपु नामक राक्षकको छोरा प्रह्लाद विष्णु भक्त थिए।
आफ्नो छोरालाई विष्णुको भक्तिबाट अलग गर्न नसकेपछि हिरण्यकशिपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिकालाई जिम्मा दिएको र होलिका आफैं आगोमा जलेर भष्म भएको र त्यसैको प्रतीकका रूपमा होलिका दहनको खुसियाली मनाउन आपसमा रङ र अविर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ।
अर्को एक प्रसङ्गअनुसार द्वापर युगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध खुवाउन गएकी पुतना नामकी राक्षस्नीलाई उल्टै कृष्णले मारिदिनुभएकाले त्यसको शवलाई व्रजवासीहरूले बर्सेनि जलाएर आपसमा रङ र अविर छरी खुसियाली मनाएकाले त्यसैको सम्झनामा अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा चलेको भनाइ पनि छ।
त्रेतायुगको प्रारम्भमा भगवान विष्णुले धुलि वन्दन गरेका थिए। त्यसैको सम्झनामा धुलेंडी मनाइन्छ। होलिका दहनपछि रङ उत्सव मनाउने परम्परा भगवान श्रीकृष्णको समयदेखि नै प्रारम्भ भएको मानिन्छ। फागुन महिनामा सुरु भएकै कारण यसको नाम फगुवा भएको भनाइ पनि छ। कृष्णले राधालाई रङ लगाएका थिए। उनीहरूको सम्झनामा रङ पञ्चमी मनाइन्छ। श्रीकृष्णले नै होली पर्वमा रङ लगाउने चलन चलाएका हुन् भन्ने भनाइ रहिआएको छ।
त्रेतायुगको सो पर्वको स्मृति गर्दै मिथिला क्षेत्रमा फागुन शुक्ल सप्तमीका दिन राम र सीताका खुसीबीच होली खेलेको सम्झना गर्दै भव्य फागु खेलिन्छ। होली खेल्न बिहान सबेरै ध्रुवकुण्डबाट रङ्न अबिर खेल्दै लामो यात्रासहित जनकपुरको रामजानकी मन्दिरमा अबिर अर्पणपछि कञ्चन वनमा होलीको सुरुवात गरिन्छ। मिथिलावासीका लागि दसैँ तिहार भन्दा पनि ठूलो चाड होली हुन्छ। कञ्चन वनलाई सीता र रामबीच प्रेमभाव र रतिरागपूर्ण पवित्र स्थलका रूपमा लिने पनि गरिन्छ।
नेपालीहरूको राष्ट्रिय पर्व रङ्हरू र उल्लासको पर्व होली नेपाल तथा विदेशमा बस्ने नेपालीहरूले समेत मनाउँछन् जहाँ जसरी फागु पर्व मनाउने गरे तापनि आखिरमा यसको उद्देश्य भनेकै एकापसमा भाइचारा बढाउने, असत्यमाथि सत्यको विजय, एकापसमा खुसियाली बाँड्नु नै होलीको पर्याय हो। यस्तै होलीसँग मिल्दाजुल्दा पर्वहरू विश्वको धेरै देशमा पनि मनाइने गरिन्छ।
चीनको एक सीमावर्ती प्रान्तमा त्यहाँका ’ताइ’ जातिका मानिसबीच एकअर्कामाथि पानी फ्याँकेर ‘पोयावामा’ नामक पर्व मनाइने गरिन्छ। यस पर्व मान्नुका कथन– सदियौँपहिले त्यहाँ ‘छुडबिंग’ नामक राक्षसले भयंकर उत्पात मच्चाइरहेको थियो। राक्षसले कुनै पनि सुन्दरी केटीलाई देख्नासाथ लिएर जाने गर्थ्याे, यसै प्रकारले उसले सयौँ सुन्दरी केटीहरूलाई बन्धक गरिसकेको थियो।
उक्त राक्षसबाट छुट्कारा पाउन उसको जादूमय शक्तिलाई एकजना साह्रै सुन्दरी केटीले थाहा पाएर राक्षसलाई चलाखीपूवक सो केटीले मारेर बन्धक बनाइराखेका सम्पूर्ण केटीहरूलाई छुटाएकी थिइन्।
जर्मनीमा इस्टर पर्वको समयमा होली जस्तै एउटा पर्व मनाइने गरिन्छ यसलाई त्यहाँ ‘कारनिवाल’ को नामले जानिन्छ। इस्टर पर्वको साँझको समयमा जर्मनीवासी घाँसको पुतला बनाएर जलाइन्छ, पुतला दहनपछि सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ र मानिसहरू एकअर्कालाई रङ दलेर खुसियाली मनाइन्छ।
यस्तै इटलीमा होली जस्तै पर्वको नाम हो– ‘रेडिका’। यो पर्वमा लगभग एक हप्तासम्म रमाइलो गर्दै काठ, दाउरा, चोक चोकमा जम्मा गर्ने गरिन्छ भने सो दाउराहरूको थुप्रो बालिन्छ। इटलीवासीको विश्वास रहेको छ कि यो पर्वमा ‘पलोरा’ नामक देवीलाई प्रसन्न गर्न चोक चोकमा आगो बालेर मनाइएको हो।
प्रकाशित: २९ फाल्गुन २०८१ ०८:३१ बिहीबार