२२ चैत्र २०८१ शुक्रबार
image/svg+xml २:९ पूर्वाह्न
विचार

आफैँ कोरौँ दीर्घजीवन रेखा

आफू कति वर्ष बाँच्छु भन्ने रहस्य जान्ने चाहना सबैको हुन्छ । आफ्नो भाग्यको जानकारी लिन जन्मकुण्डली, चिना, हस्तरेखा अनि ज्योतिषीको समीप पुग्नेको संख्या दिनानुदिन बढ्दो छ । सबैले स्वस्थ अनि क्रियाशीलतासहितको दीर्घ जीवनको चाहना राख्नु स्वाभाविक हो । तर ज्योतिष शास्त्रले मानवीय आयुको सही आँकलन गर्न सकेको छैन । त्यस्तो परिवेशमा उत्तरका लागि विज्ञानको मुख ताक्नु अस्वाभाविक होइन । तर के वैज्ञानिक अन्वेषणले व्यक्तिको उमेर पहिल्याउन सक्छ ? अनि व्यक्तिलाई जीवनको कुन चरणमा के रोग लाग्छ भन्न सक्ने अवस्थामा विज्ञान छ ? आयु, रोगको प्रक्षेपण र व्यक्तिको चरणबद्ध जीर्णताका सम्बन्धमा विज्ञानले हालसम्म हासिल गरेको उपलब्धिको चिरफारमा यो आलेख केन्द्रित छ । 

केही दशक अघिसम्म मातापिताको आनुवंशिक पदार्थ सन्ततिमा सर्ने भएकाले पुर्खाको सूक्ष्म अध्ययन छोराछोरीको भविष्यको प्रक्षेपणका लागि रामवाण हुने सोच थियो । आनुवंशिक पदार्थले मानिसको चरित्र बताउने भएकाले सन् १९९० मा सुरु भएको ‘ह्युमन जिनोम प्रोजेक्ट’को सफलतापछि विज्ञानले प्रत्येक व्यक्तिको भविष्य बताउन सक्ने ठानिएको थियो । सन् २००३ मा सम्पन्न भयो उक्त परियोजना । जिनोम प्रोजेक्टले आफ्नो लक्ष्यमुताबिक मानव मात्रको आनुवंशिक बनोट पहिल्यायो अनि हजारौं जिनको आकृति जानकारीमा आयो । 

जिनोम परियोजनाको सफलतापछि विज्ञान जिनको कस्तो खराबीले मानिसमा के रोग लाग्छ भन्ने प्रश्नको जवाफ दिन सक्ने अवस्थामा पुग्यो भन्ने ठानियो । तर दुर्भाग्यवश आनुवंशिक जिनको लिखत र व्यक्तिको स्वास्थ्यबिचको अन्तर्सम्बन्ध सोचेजति सहज भएन । वैज्ञानिकले सोचेको भन्दा भगवान् निर्मित मानवीय शरीरको संरचना क्लिष्ट देखियो । जिनका आधारमा गरिएको व्यक्तिको स्वास्थ्यसम्बन्धी भविष्यवाणी मैतीदेवीकी माताले गरेको दाबीभन्दा खासै फरक भएन । आनुवंशिक संरचनाका आधारमा बिरामी हुनुपर्ने मानिस म्याराथन दौडमा भाग लिन पुगेको अनि जिनहरू दुरुस्त भएको व्यक्ति बिस्तरामा परेको पाइयो । 

मातापिताबाट आएको जिनका आधारमा मात्र व्यक्तिको भविष्य आँकलन सम्भव छैन भन्ने निष्कर्ष निस्कियो । आमाबा दुवै चिनीरोगले थलिएकाका सन्तानलाई जीवनको उत्तरार्धमा पनि मधुमेह नलाग्नु अनि दाजुबहिनीको स्वास्थ्यावस्था तुलनायोग्य नदेख्नुको जवाफ कठिन बन्छ । त्यसै सन्दर्भमा गत महिना बेलायतको युनिभर्सिटी अफ अक्सफोर्डका प्राध्यापक कोर्नेलिया डुजिनलगायतका अन्वेषणकर्ता समूहले एक आलेखमार्फत जिनको बनोटले पार्ने स्वास्थ्य असरको उत्तर दिए । 

युके जिन बैंकमा संकलित लाखौं तथ्याङ्कलाई केलाएर जर्नल ‘नेचर मेडिसिन’ मा प्रकाशित उक्त आलेखले व्यक्तिको आनुवंशिक बनोटले व्यक्तिको मरणलाई दुई प्रतिशत मात्र पनि निर्देशित गर्न नसक्ने बतायो । अथवा, व्यक्तिको मरणलाई उसको आनुवंशिक बनोटले न्यून रूपमा मात्र असर पार्ने भन्यो । उक्त अध्ययनले ‘डिएनए’ बनोटले व्यक्तिको स्वास्थ्यलाई दुई प्रतिशत मात्र निर्देशित गर्ने बरु मानवीय जीवन दुरुस्तताका लागि सामाजिक परिवेश, वातावरण, खानालगायतका तत्वले अहम् भूमिका खेल्ने देखायो । यसरी व्यक्तिको असामयिक मरणमा आनुवंशिक पदार्थले नगन्य प्रभाव पार्ने अनि जिनलाई आफूले परिवर्तन गर्न नसकिने भएकाले त्यसमा खासै घोत्लनु परेन । स्वस्थ जीवनका लागि खानपिन, आहारविहार अनि सामाजिक परिवेशलाई आफू अनुकूल बनाउन आवश्यक देखियो ।

कुनै भवितव्य परेबाहेकको अवस्थामा व्यक्तिको मृत्यु उमेर पुगेर हुन्छ, बुढेसकालमा मानिस मर्छ । जन्मको मितितिथि अनि उसले कहिले देहत्याग गर्‍यो भन्ने कुराले व्यक्ति कति बाँच्यो भनेर हिसाब गरिन्छ । तर, जैविक उमेरको आँकलन अलि फरक हुन्छ । जुम्ल्याहामध्ये नै पनि जैविक वर्षका हिसाबले एउटाको भन्दा अर्काको उमेर बढी हुन सक्छ । शारीरिक तन्तु तथा रक्त जाँचबुझमार्फत व्यक्तिको जैविक उमेर यकिन गर्छन् वैज्ञानिकले ।

एकै वर्ष निर्माण भएका दुई कारलाई दश वर्षपछि हेर्दा एउटाले राम्रो व्यवहार देखाउँछ, हाँक्दा नयाँजस्तै बेदाग सरर हिँड्छ । अर्को भने तेल धेरै खाने अनि दगुराउन पनि कठिन हुने अवस्थामा देखिन्छ । दुवै कारको उमेर एकै भए पनि तिनीहरूबिच अतुलनीय विभेद देखिन्छ । ड्राइभरको हाँक्ने शैली, आवधिक मर्मत अनि स्तरीय पेट्रोल हालियो हालिएन भन्ने कुराले कारको अवस्था बताउँछ । यसरी एकै वर्ष बनेका दुई कारले देखाउने व्यवहारबिच ठुलो भिन्नता भएझैं शरीरलाई जतन गर्ने र जिउको कुनै फिक्री नगर्ने समान उमेरका दौंतरीको जैविक उमेर पनि फरक हुन्छ । ४० वर्षकै उमेरमा एउटाको जैविक तन्तुले देखाउने व्यवहार नब्बे पुगेको वृद्धका जस्तो हुनसक्छ भने जीव वैज्ञानिक हिसाबमा अर्काको उमेर २५ वर्षको मात्र नहोला भन्न सकिन्न ।

मरणलाई ‘जैविक उमेर’ ले निर्देशित गर्छ, क्यालेन्डरका वर्षले नियन्त्रण गर्दैन । गणनाको उमेर जति भए पनि जैविक उमेरलाई न्यून बनाउन सक्ने हो भने धेरै वर्ष बाँच्न सकिन्छ । तसर्थ, जसरी राम्रो स्याहारले कारलाई धेरै वर्षसम्म जीवन्त बनाउन सकिन्छ, त्यसैगरी व्यावहारिक परहेजमार्फत लामो र स्वस्थ जीवन बाँच्न सकिन्छ भन्ने डा. डुजिनको प्रकाशित लेखको निचोड देखियो । यसरी एकै साल जन्मिएका भए पनि जैविक हिसाबले वृद्ध व्यक्तिको मरण छिटो हुने सम्भावना हुन्छ । अब कसरी जैविक रूपले भर्खरको बन्न सकिन्छ त ? त्यता ध्यान दिऊँ ।

प्रकाशित आलेखले क्यान्सर, मुटुसम्बन्धी, श्वासप्रश्वास समस्यालगायत मरणका मुख्य कारक मानिएका २२ रोगलाई केन्द्रमा राख्दा अधिकांश स्वास्थ्य समस्याको स्रोत वातावरणीय तत्व देखिए । हाम्रो समीपमा रहेका दर्जनौं वस्तुहरूले हाम्रो आयुलाई निर्देशित गर्छ । सहरको प्रदूषणले स्थानीय बासिन्दाको श्वासप्रश्वासमा सोलोडोलो समस्या ल्याउँछ, सहरलाई नै रोगी बनाउँछ । वायु प्रदूषणका हिसाबले संसारकै दूषित सहरको अग्र सूचीमा रहेको काठमाडौंका बासिन्दामा फोक्सोको समस्या अत्यधिक हुनु अस्वाभाविक होइन । त्यस्तै कसैले धेरै बिँडीचुरोट खान्छ भने त्यसले परिवारका सबैलाई असर पार्छ नै ।

व्यक्तिको जैविक उमेरलाई आम्दानी, पारिवारिक परिवेश, छिमेक, रोजगारी, वैवाहिक अवस्था, शिक्षा, पोषण तत्व, धूमपान, मद्यपान र कसरत गर्ने बानीले असर पारेको देखिन्छ । उदाहरणका लागि कमाइ नभएको अवस्थामा व्यक्तिले खान पाउँदैन । पोषण तत्व नपाउँदा शरीर जीर्ण हुन्छ अनि व्यक्ति जैविक हिसाबले जीर्ण बन्छ । त्यस्तै पारिवारिक समस्याले व्यक्ति मानसिक थकानमा पर्छ । सधैँ समस्याको पिरलोले व्यक्तिको प्रतिरक्षा प्रणाली कमजोर बनेर रोगको सिकार हुन्छ । त्यस्तै धूमपान र मद्यपानले फोक्सो र मुटुसम्बन्धी रोगलाई हौस्याउने मात्र होइन, दर्जनौं किसिमको क्यान्सरको कारक पनि भएकाले व्यक्तिको मरण नजिकिन्छ । 

आवधिक कसरतले व्यक्तिलाई शारीरिक तथा मानसिक रूपले सशक्त मात्र बनाउँदैन, धेरै किसिमका क्यान्सरलाई पछि धकेल्ने भएकाले धेरै बाँच्नु अस्वाभाविक भएन । साथै, गत महिना जर्नल ‘क्यान्सर’मा अमेरिकाको लुजियाना स्टेट युनिभर्सिटीका डा. जस्टिन ब्राउन नेतृत्वको समूहले प्रकाशन गरेको एक अनुसन्धानले ‘कोलोन क्यान्सर’ भएका बिरामीको उमेर कसरतमार्फत लम्ब्याउन सकिने देखायो । राम्रो छिमेकी, असल सङ्गत अनि सफल वैवाहिक जीवनले पनि स्वास्थ्य अनि दीर्घजीवन व्यतीत गर्न सहयोग पुग्ने देखियो । त्यस्तै पढेलेखेका मानिसलाई के गर्दा आफ्नो स्वास्थ्यलाई हित गर्छ भन्ने जानकारी हुने भएकाले शिक्षाले व्यक्तिको आयु लम्ब्याउन मद्दत गर्छ ।

धार्मिक आस्था र आध्यात्मिक चिन्तनले समाजका सदस्यहरूलाई स्वस्थ अनि दीर्घ जीवनमा मद्दत गर्छ । धार्मिक आस्थाले व्यक्तिलाई जीवनको सार बुझ्न मद्दत गर्छ । भगवान् राम तथा कृष्णको जीवनसमेत सहज थिएन भन्ने यथार्थको स्मरणले व्यक्तिले समस्यालाई सहज रूपमा लिन्छ । दिमागी स्वास्थ्यले शारीरिक कुशलतालाई निर्देशित गर्ने भएकाले आध्यात्मिक चिन्तनले समेत जैविक उमेर कम गरी मानिसलाई दीर्घजीवी बनाउँछ ।

माथि उल्लिखित वैज्ञानिक विश्लेषणले आनुवंशिक पदार्थमा कैफियत आएका कारण बाबुआमालाई सताउने रोगले आफूलाई थलाउने सम्भाव्यता नगन्य रहेको यथार्थ स्मरण गर्दै आनीबानी तथा व्यवहारले आफूलाई स्वस्थ राख्ने भएकाले स्वयंको काबुमा रहेका पक्षलाई अनुकूल बनाएर दीर्घजीवन बाँच्न सकिने यथार्थ आफू पनि बुझौं अनि अरूलाई पनि बुझाऔं । 
– पोखरेल अमेरिकास्थित इन्फिनिटी ल्याबरेटोरिजका क्षेत्रीय निर्देशक हुन् ।

प्रकाशित: २० फाल्गुन २०८१ ०८:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App