१९ मंसिर २०८१ बुधबार
image/svg+xml
विचार

चाडपर्वमुखी बजार अनुगमन

पूर्वीय संस्कृति सबैभन्दा पुरानो, समृद्ध र वैज्ञानिक छ। चाडपर्व, परम्परा र पूजाआजालाई संस्कृतिअनुसार नै पूरा गर्छौं। हरेक चाडपर्वको वैज्ञानिक महत्त्व छ। हाम्रा हरेक चाडपर्व जीवनशैली, खानपान, बाली र प्रकृतिमा आएको परिवर्तनमा आधारित हुन्छन्। हाम्रा चाडपर्वमा पौराणिक कथाहरू उल्लेख भएसँगै खगोलीय घटनाहरू, पृथ्वीको वातावरण, मानव मनोविज्ञान र सामाजिक कर्तव्यहरूका पाठहरू पनि झल्किन्छन्। हाम्रो जीवनमा सबै चाडपर्वको गहिरो महत्त्व छ। यी सबै चाडपर्व हाम्रो सभ्यता र संस्कृतिमा यसरी गाँसिएका छन् कि यिनैबाटै यथार्थमा मेलमिलापपूर्ण समाज निर्माण हुन्छ।

सांस्कृतिक एकताको सबैभन्दा ठूलो सम्पदा हुनुका साथै हाम्रा चाडपर्व अर्थतन्त्रको पांग्रा पनि हुन्। हाम्रा पुर्खाले हाम्रो संस्कृतिमा यी चाडपर्वमा आर्थिक र सामाजिक गतिविधि धेरै राम्रोसँग जोडेका छन्। चाडपर्वमा ठूलो मात्रामा मेला लाग्छन्, बजार भरिन्छन्, साना–ठूला सहरमा विभिन्न किसिमका कार्यक्रम आयोजना हुन्छन्, मानिसले किनमेल गर्ने गर्छन्। उनीहरूले घर सजाउने, नयाँ लुगा लगाउने, नयाँ सवारी साधन किन्नेलगायतका धेरै काम जुन वास्तवमा उत्साहका साथ गरिन्छ तर आर्थिक गतिविधिसँग राम्ररी जोडिएको हुन्छ।

एक हिसाबले यो चाड हाम्रो धर्म संस्कृति र अर्थतन्त्रको सबैभन्दा पुरानो चक्र हो। यसले धनीलाई खर्च गर्ने र गरिबलाई नयाँ आम्दानी गर्ने अवसर दिन्छ। 

भदौ महिना लागेसँगै नेपालीका मुख्य चाडपर्व सुरु भएका छन्। नागपञ्चमी, रक्षाबन्धन र कृष्ण जन्माष्टमी आइसकेका छन्। केही दिनमै बाबुको मुख हेर्ने औँसी (कुशे औँसी) आउँदैछ। त्यसपछि लगत्तै नेपाली महिलाले मनाउने तीज पर्वको रमझम सुरु हुन्छ। तीजपछि नेपालीको सबैभन्दा महत्त्वपूर्ण चाड दसैँको चहलपहल सुरु हुन्छ। १५ दिनसम्म मनाइने दसैँ सकिएको २ सातापछि तिहारको रमझम सुरु हुन्छ। तिहारपछि छठ पर्वको रौनक नेपालमा देखिन्छ।

हरिबोधिनी एकादशी, उधौली, क्रिसमस, ल्होसारलगायत चाडपर्व क्रमशः आउँछ। बहुजाति, बहुभाषी, बहुधार्मिक र बहुसंस्कृति भएको हाम्रो देशमा धेरै चाडपर्व मनाउने गरिन्छ। वर्षैभरि विभिन्न जाति र जनजातिको चाडपर्व पर्ने भए पनि भदौदेखि कात्तिकसम्मको ३ महिनामा नेपालीको मुख्य चाडपर्वका साथै बाक्लै चाडपर्व मनाइन्छ। चाडपर्वले हाम्रो मौलिक पहिचान कायम गर्नुका साथै पारिवारिक र सामाजिक सद्भाव वृद्धिका लागि सहयोग गरिरहेको हुन्छ।

चाडपर्वको बेलामा बजारमा चहलपहल पनि बढ्छ। अन्य समयमा भन्दा चाडपर्वको बेलामा बजारमा विभिन्न वस्तु किनमेलका लागि उपभोक्ताको उपस्थिति बाक्लो हुने गर्छ। बजारमा उपभोक्ताको चहलपहल बढ्दा विभिन्न वस्तुको माग पनि बढ्ने गर्दछ। बजारमा वस्तुको माग बढ्ने क्रममा मूल्य पनि बढ्ने गरेको छ। बजारमा मागको तुलनामा आपूर्तिमा सन्तुलन ल्याउन नसक्दा वस्तुको मूल्य वृद्धि हुने सम्भावना अधिक रहन्छ। माग बढेको समयमा आफूसँग भएको वस्तुको मूल्य वृद्धि गर्न व्यवसायी पनि अग्रसर हुने गरेका छन्। यसकारण अन्य समयमा भन्दा चाडपर्वको समयमा बजारमा मूल्य वृद्धि, कृत्रिम अभाव, कालाबजारी, मिसावट तथा गुणस्तरहीन वस्तुको कारोबार हुने सम्भावना बढी रहन्छ। कतिपय व्यवसायीले नबिकेका, न्यून गुणस्तरका र मिसावट भएका वस्तु बिक्री गर्न यस्तै मौका कुरिरहेका हुन्छन्।

चाडपर्वको समयमा बजारमा देखिने अव्यवस्थाले उपभोक्ता मारमा पर्ने गरेका छन्। बजारमा देखिने अव्यवस्था र विभिन्न प्रकारका अनियमितता कम गर्न बजार अनुगमन र कारबाही एउटा महŒवपूर्ण उपाय हुन सक्छ। उपभोक्तालाई बजारमा असहजता हुन नदिन र बजारमा हुने अनियमितता रोक्न थुप्रै नियमनकारी निकायको व्यवस्था राज्यले गरेको छ। यस्ता नियमनकारी निकायले बजारलाई सुव्यवस्थित बनाउन समय–समयमा बजार अनुगमन गर्नु आवश्यक छ। अझ चाडपर्वको समयमा बजारमा बढी नै उपभोक्ताको चहलपहल र खरिद–बिक्री हुने भएकाले अनुगमनलाई व्यापक बनाउनु आवश्यक छ। नियमित बजार अनुगमनसँगै दोषीलाई कारबाही गरिँदा बजारमा हुने गरेका तमाम विकृति र कालोबजारी अन्त्य गर्न सकिन्छ। विगतका वर्षहरूमा पनि चाडपर्वको समयमा बजार अनुगमनको क्रम बढ्ने गरेको थियो। चाडपर्वको समयमा केही दिन गरिने बजार अनुगमन चाडपर्व सकिएसँगै सुस्त बनिदिँदा बजारलाई नियमन गर्न सकिएको छैन।

बजारमा सबैजसो वस्तु तथा सेवाको मूल्य वृद्धि भइरहेको छ। अहिले पनि बजारमा तरकारी, खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको बजार मूल्य आकाशिएको छ। अझ चाडपर्व नजिकिँदै जाँदा चाडपर्व विशेषमा बढी माग हुने वस्तुको बजार मूल्य अस्वाभाविक वृद्धि हुने सम्भावना उत्तिकै छ। अनुमगनका क्रममा व्यवसायीलाई दिइएका निर्देशन केही दिनपछि पालना नहुने परिपाटी बजारमा विद्यमान छ। आक्कलझुक्कल हुने मौसमी अनुगमनले बजारमा कुनै सुधार हुन सकेको छैन। चाडपर्वलाई कतिपय व्यवसायीले मौकामा चौका हान्ने अवसरका रूपमा प्रयोग गर्ने भएकाले आमउपभोक्तासँगै नियमनकारी निकाय बढी चनाखो बन्नुपर्ने देखिन्छ। चाडपर्वको बेलामा केही व्यवसायीले गर्ने कालोबजारी र अनियमितताले अन्य व्यवसायीलाई समेत असर पुग्ने भएकाले यस्ता व्यवसायीलाई कारबाहीको दायरामा ल्याउन अन्य व्यवसायी र तिनका संघ/संस्था पनि जिम्मेवार हुनु आवश्यक छ।

प्रकाशित: १२ भाद्र २०८१ ०८:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App