१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

१४ वर्षमुनिकालाई ‘मोबाइल निषेध’

यस्तो पनि

बेलायतको सेन्ट अल्बान्स शहरले १४ वर्षमुनिका बालबालिकाहरूलाई मोबाइल निषेध गरेको छ। यससँगै सेन्ट अल्बान्स बेलायतको पहिलो बालबालिकालाई मोबाइलमुक्त शहर बन्न पुगेको हो।

सेन्ट अल्बान्स शहरका अधिकांश विद्यालयहरूले संयुक्त रूपमा बालबालिकाका अभिभावकहरूलाई पत्र लेख्दै उनीहरूलाई विद्यालय पठाउँदा मोबाइल नपठाउन आग्रह गरेका छन्। प्राइमरी स्कुल कन्सोर्टियमले लेखेको पत्रमा भनिएको छ, ‘हाम्रो विद्यालयमा अध्ययनरत छात्रछात्राहरूलाई तिनको उमेर १४ वर्ष नपुगुञ्जेल स्मार्टफोन नदिन आग्रह गर्छौं। अति आवश्यक महसुस भएमा उनीहरूले स्मार्टफोनबाहेक कल र टेक्स्ट मात्र गर्न मिल्ने मोबाइल पठाउन सकिन्छ।’

विद्यालयहरूले आफ्नो विद्यालय परिसरलाई मोबाइलमुक्त स्थल घोषित गरेका छन्। अन्य शहरलाई पनि आफ्नो यस अभियानलाई सघाउन आग्रह सेन्ट अल्बान्स शहरले आग्रह गरेको छ। बालबालिकाहरूलाई मोबाइलमुक्त गरे उनीहरूले सामान्य जीवन जिउनेमा आफूहरू विश्वस्त रहेको सेन्ट अल्बान्स टोलीको विश्वास छ।

सेन्ट अल्बान्स शहरमा रहेका २४ मध्ये २० वटा विद्यालयले यस विषयमा सहमति जनाएका छन्। ‘स्मार्टफोन फ्रि चाइल्डहुड’ अभियानमा थप विद्यालयहरू पनि जोडिने तयारीमा छन्। यस अभियानलाई अभिभावकहरू डेजी ग्रीनवेल र क्लारा फर्नीहगले मूर्त रूप दिएका हुन्। उनीहरूले आफ्नो समूहमा रहेका ७० हजारभन्दा बढी सदस्य अभिभावकहरूलाई सक्रिय बनाएका छन्।

मोबाइलका कारण बालबालिकाहरूको मानसिक स्वास्थ्य गम्भीर हुँदै जान थालेको र सो रोक्न अभियान चलाउन आवश्यक रहेको अभियन्ताहरू डेजी र क्लाराले बताएका छन्। शुरुमा एउटा ह्वाट्सएप समूहबाट यो अभियान शुरु भएको थियो। जब संख्या बढ्दै गयो, यसलाई अभियानको रूप दिइयो। हरबखत मोबाइलमा जोडिनु पछिल्लो समय समस्या र बोझ बन्न पुगेको भन्दै बालबालिकालाई त्यस्ता बोझबाट मुक्त गर्नुपर्ने अभियानको मुख्य उद्देश्य रहेको बताइएको छ।

प्रकाशित: १० जेष्ठ २०८१ ०७:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App