१० पुस २०८२ बिहीबार
image/svg+xml
समाज

काठमाडौंमा अपराह्न वर्षाको सम्भावना, प्रदूषण घट्ने आशा

फाइल तस्बिर

लामो समयदेखि वर्षा नहुँदा काठमाडौं उपत्यकासहित देशभर वायु प्रदूषणको स्तर बढेको छ। 

यही बीचमा बुधबार (आज) बिहानदेखि झापा, मोरङलगायत पूर्वी तराईका जिल्लाहरूमा मेघगर्जनसहित वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ। साथै, बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव पनि रहेको विभागले जनाएको छ।

काठमाडौंमा वर्षा नहुँदा केही दिनयता प्रदूषणको स्तर उच्च रहेको छ। आज बिहानैदेखि बादल लागे पनि काठमाडौंमा वर्षा भने हुन सकेको छैन। मौसमविद् गोविन्द झाका अनुसार काठमाडौं उपत्यकामा अपराह्न ३ बजेपछि छिटपुट वर्षाको सम्भावना छ। उनले आज दिउँसोदेखि भोलि (बिहीबार)सम्म काठमाडौंमा वर्षा हुन सक्ने बताएका छन्। 

वायु प्रदूषणको स्तर बढेसँगै आँखा पोल्ने, टाउको दुख्ने जस्ता स्वास्थ्य समस्याहरू देखिएका छन्। वर्षापछि काठमाडौं उपत्यकालगायत प्रदूषण बढी भएका सहरहरूबाट प्रदूषण हट्ने अपेक्षा गरिएको छ। आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

झाले भने, ‘दिउँसो ३–४ बजेदेखि साँझ ६–७ बजेसम्म जमिन भिज्ने गरी ठूलो पानी नपरे पनि कतै न कतै पानी पर्ने सम्भावना छ।’ देशभर वर्षा केही दिनसम्म सक्रिय रहने भए पनि काठमाडौंमा भने एक(दुई दिन मात्र सक्रिय रहने उनको भनाइ छ। बुधबारको तुलनामा बिहीबार दिउँसोदेखि बेलुकासम्म थप वर्षा हुने उनले जानकारी दिए।

प्रकाशित: २७ चैत्र २०८१ १३:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App