९ पुस २०८२ बुधबार
image/svg+xml
कला/संस्कृति

हाँसे होलान् तिनीहरू कति मेरो कमजोरीपनमा!

गीत

१) गीत

माया त लाउने मन थियो, पिरती गाँस्ने मन थियो।

उमेरले नाईनाई भन्दैछ, डाँडाको घाम भइहाल्यो।।

अस्ताउने बेला आइहाल्यो के लाउनु मायापिरती,

जाने पो बेला भइहाल्यो, जाने पो बेला भइहाल्यो।।

पहाडी भेगमा जन्मेका कान्छा, मैदानमा बसाइँ भो।

भाग्यमै यस्तो रहेछ भन्दै जीवन काटने हो।।

गर्मीको पोलाई पसिना बग्छ, बर्खामा डुब्ने हो।

ठन्डीमा कति जाडो नि बढ्छ, त्यो गर्मी भुल्ने हो।।

२) गीत

उँभो त लेकमा हेर न सेताम्मे हिउँ परेको।

हेरेर मन लोभिन्छ व्यर्थै नै तल झरेको।।

पारि पाखा रातै छ नि, लालीगुराँस फुलेको।

सम्झी याद आयो लौ, बालापनमा खेलेको।।

बटुली सबै साथीभाइ, पानी भर्न हिँडेको।

पानीको तिरतिर धारामा, हुनसम्म रमाइलो गरेको।।

उ बेलाको खेल अर्को, काम गर्ने चालै अर्को।

खेल्न पनि पाइने, काम धन्दा पनि हैन।।

३) गीत

हाँसे होलान् तिनीहरू कति, मेरो कमजोरीपनमा।

लुकाउन खोज्दा खोज्दै पनि, सकिन लुकाउन मनमा।।

मेरो कमजोरीपन खसिदियो, अघि उनकै नजरमा।

हुन पनि छटपटिदिएछु, केही दिनकै बिछोडमा।।

के सोचे होलान् तिनीहरूले मलाई, घरीघरी अघि आइदिँदा।

के हुन सक्छ होला र, अब अहिले सोचिदिँदा।।

हुन त म धिरज राख्न चाहन्थे, आफ्नो तनमनलाई।

थाहै भएन यस्तो पनि हुन्छ, भनी मलाई ।।

४) गीत

सपनीमा किन आउँदैनौ माया बनेर।

बिपनीमा कति घुमी हिंडछ्यौ छाया बनेर।।

दिल त यतै बसिरहेछ, केमा अल्झेर।

फेरि मुटु त्यसै पोलिरहेछ, माया बल्झेर।।

हाम्रो माया सस्तो छैन, जाँदैन पोखेर।

मरिजाने जिन्दगी हो, के लानु छ बोकेर?

जति जल्छ उसैलाई पोल्छ, हामीलाई के पो छ र?

अन्त कतै जानू छैन,कसको भर छ र?

५) गीत

पानी धारा पधेँरामा पछिपछि नआउन।

मानेडाँडामुनि बसी सुरेलीमा नगाउन।।

मन त कतै डुलिन्छ घरको बाटो भुलिन्छ

बिरामी आमा पर्खिराखेकी होलिन्,

खाना पकाउने पानी पर्खेर।

बाबा रिसले आउँदै होलान्, सिर्कुना बोकेर।।

बुझ न ठुले बुझ न मेरो दुखलाई।

सुनेर फर्की जाउ न मेरो कुरालाई।।

- प्रतिमा छेत्री ( गीतकार छेत्रीकाे मनका तरंगहरू गीतिसंग्रहमा संगृहीत।)

प्रकाशित: २७ चैत्र २०८१ १४:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App