नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालको निर्वाचन क्षेत्र स्थायी नहुने देखिएको छ । अघिल्लो प्रतिनिधिसभा सदस्य, २०७९ मा दाहाल गोरखा निर्वाचन क्षेत्र–२ बाट निर्वाचित भएका थिए ।
त्यसबेला गोरखाका डा. बाबुराम भट्टराईले उक्त क्षेत्र दाहाललाई छाडेका थिए । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा –२ बाट उम्मेदवार बन्ने तयारीमा भट्टराई लागेपछि दाहालका लागि नयाँ चुनावी क्षेत्र खोज्नुपर्ने अवस्था देखिएको हो । विगतमा दाहाल चितवन, रोल्पा, सिरहा र काठमाडौंबाट निर्वाचन लडिसकेका छन् ।
भट्टराई निकट नेताहरुका अनुसार यदि उनी गोरखा– २ बाट उम्मेदवार नबने छोरी मानुषी यमी भट्टराई उम्मेदवार उम्मेदवार हुनेछन् । अघिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा–२ दाहाललाई छाडेका भट्टराई प्रत्यक्षतर्फ उम्मेदवार बनेनन् । त्यसबेला उनले छोरी मानुषीलाई काठमाडौं निर्वाचन क्षेत्र–७ बाट उम्मेदवार बनाएका थिए ।
दाहाल अघिल्लो पटक चितवन निर्वाचन क्षेत्र–३ असुरक्षित ठानेर गोरखा–२ पुगेका थिए । दाहाल फागुनमा हुने निर्वाचनमा चितवन–३ बाट उम्मेदवार बन्न चाहन्छन् । दाहाल आफू त्यहाँबाट उम्मेदवार बन्ने अवस्था नआए छोरी रेणु दाहाललाई उम्मेदवार बनाउन चाहन्छन् ।
दाहालले चितवन–३ आफू वा छोरीका लागि सुरक्षित गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग सहकार्यको कोसिस गरिरहेका छन् । रेणु भरतपुर महानगरपालिको मेयर छिन् । यसकारण यस पटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी उम्मेदवार बन्ने सम्भावना कम छ । दाहालले आफू चितवन–३ बाट उम्मेदवार बन्न चाहेकाले सहकार्यका लागि रास्वपासँग प्रस्ताव गरेको स्रोतको दाबी छ ।
फागुनको निर्वाचनका लागि दाहालको नाम महोत्तरी–४ र गोरखा–१ बाट सिफारिस भइसकेको छ । सर्लाही र नुवाकोटबाट पनि उनको नाम सिफारिस हुने सम्भावना रहेको स्रोतको दाबी छ । दाहालको नाम शेरा दरबार जग्गा हिनामनिा प्रकरणमा मुछिएकाले नुवाकोट उनका लागि महँगो पर्ने बताइएको छ ।
यसअघि दाहाल निर्वाचित गोरखा–२ भट्टराईको पकड क्षेत्र मानिन्छ । गोरखा–२ रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीको पनि पकड क्षेत्र मानिन्छ । नयाँ पुस्ताले बुर्लाकोटीलाई मन पराइरहेकाले गोरखा–२ यस पटक दाहालका लागि अनुकूल हुन नसक्ने बताइन्छ ।
दाहालले यसपटक विभिन्न स्रोतमार्फत रास्वपा सभापति रवि लामछिानेसँग सहकार्यका लागि कुराकानी गरिरहेका छन् । लामिछाने थुनामा हुँदा उनलाई भेट्न नख्खु कारागारसमेत पुगेका दाहालले चितवन आफ्ना लागि सुरक्षित बनाउन खोजिरहेको स्रोतले जनाएको छ ।
दाहाल गत भदौ ४ गते लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका थिए । नख्खु कारागारमा लामिछानेलाई भेट्न पुगेपछि दाहालप्रति रास्वपाले आभार प्रकट गरेको थियो । त्यो भेटमा रास्वपा उपसभापति डोलप्रसाद अर्याल र प्रवक्ता मनिष झा पनि उपस्थित थिए ।
विभिन्न वामपन्थी पार्टीहरु मिलेर बनेको नेकपाका संयोजक दाहालले पार्टीकै भरमा आफूले चितवन–३ बाट चुनाव जित्न नसक्ने विश्लेषणसहित रास्वपासँग सहकार्य गर्न केही सहयोगीलाई पनि संवादमा खटाएको स्रोतको दाबी छ ।
दाहालसँग निकट तर नेकपाभन्दा बाहिरका केही बुद्धिजीवीले लामिछानेसँग दाहालका तर्फबाट चितवन–३ मा चुनावी सहकार्यको प्रस्ताव राखिसकेको स्रोतको दाबी छ । स्रोतका अनुसार चितवनमा मात्र नभएर देशभरि सहकार्य प्रस्ताव पनि उनले दूतमार्फत लामिछानेसँग पुर्याएका छन् । नेकपा र रास्वपाबिच चुनावी सहकार्य भए बहुमतको सरकार बनाउन सकिने दाहालको अनुमान रहेको स्रोतले बतायो ।
२०६४ सालमा भएको संविधानसभा सदस्य निर्वाचनमा दाहाल काठमाडौं–१० र रोल्पाबाट विजयी भएका थिए । त्यसपछि उनी रोल्पा गएनन् । २०७० सालमा भएको संविधानसभा सदस्य निर्वाचन (दोस्रो) मा काठमाडौं– १० बाट पराजित दाहाल सिरहा १ बाट निर्वाचित भएका थिए । दाहाल २०७४ सालमा भएको संसदीय निर्वाचनमा चितवन ३ बाट निर्वाचित भएका थिए । त्यसपछि उनी गोरखा पुगेका थिए । अहिले रास्वपासँग मिलेर चितवन ३ बाटै चुनावमा भाग लिने कोसिसमा दाहाल छन् । चितवन–३ राप्रपाको पनि पकड क्षेत्र मानिन्छ ।
अघिल्लो पटक सो क्षेत्रबाट राप्रपाका विक्रम पाण्डे विजयी भएका थिए । उनलाई त्यतिबेला एमालेले सहयोग गरेको बताइएको थियो । एमालेले पाण्डेलाई सहयोग गर्ने भएपछि दाहालले सो क्षेत्र छाडेर गोरखा २ पुगेका थिए । अहिले चितवनमा रास्वपाको पकड रहेको भन्दै दाहाले सहकार्यको प्रस्ताव राखेको स्रोतको दाबी छ । दाहालले रास्वपालाई देशका विभिन्न निर्वाचन क्षेत्रमा सहयोग गर्नेगरी यस्तो प्रस्ताव गरेको स्रोतले जनाएको छ ।
प्रकाशित: ९ पुस २०८२ २१:०३ बुधबार





