नेपालको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले दलित, मुस्लिम र कर्णाली प्रदेशमा अहिले पनि प्रजनन दर उच्च रहेको औंल्याएको छ। तथ्यांकअनुसार कुल प्रजनन दरभन्दा ती समुदाय र क्षेत्रको २.६ जनाभन्दा बढी छ। तथ्यांकअनुसार सन् १९९० मा नेपालमा औसत प्रजनन दर ४.८ थियो भने सन् २०२२ मा आइपुग्दा २.१ मा झरेको छ । तर यो दर खास समूह र क्षेत्रमा उच्च रहेको तथ्यांकले औंल्याएको छ।
सर्वेक्षणअनुसार १५ देखि १९ वर्ष उमेर समूहका किशोेरीमा दलित, मुस्लिम तथा कर्णाली प्रदेशमा उच्च देखिएको छ। यो उमेर समूहका किशोरीमध्ये दलित समुदायका ५.३, मुस्लिममा ६.५, मधेसमा ६.१ जनजातिमा ४.१ र कर्णालीमा ४.६ प्रतिशत गर्भवती छन्। यो समूहको कुल प्रजनन दर कर्णालीमा २१ प्रतिशत, मधेसमा २० प्र्रतिशत र बाग्मतीमा ८ प्रतिशत रहेको छ। कुल प्रजनन दर गाउँमा २.४ छ भने सहरमा २.० छ।
नेपालमा यी स्रजनन दर नघट्नुको कारण अशिक्षा, गरिबी, पछौटेपन, सांस्कृतिक तथा सामाजिक मूल्यमान्यता रहेको जनसंख्याविद् तथा त्रिभुवन विश्वविद्यालय जनसंंख्या विभागका प्रमुख डा. योगेन्द्र गुरुङ बताउँछन्।
नेपालमा यी समुदाय र क्षेत्रमा प्रजनन दर अहिले पनि उच्च हुनुले नेपालका किशोरी तथा महिलाको प्रजनन स्वास्थ्यमा सुधार आउन नसकेको वातावरण स्वास्थ्य र जनसङ्ख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा) का सहनिर्देशक डा. महेश पुरी बताउँछन्।
कृपाले हालै एक अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा यी समुदाय क्षेत्रमा प्रजनन दर उच्च हुनु प्रजनन स्वास्थ्य सुधारमा चुनौती रहेको बताए। पुरीले अनुसार नेपालमा अन्य समूहमा प्रजनन दर घटाउने आठ प्रकारका कारक अपुग भएको बताएका छन्।
सहनिर्देशक पुरी शिक्षामा समविकासको कमी, स्वास्थ्य प्रणालीको पहुँच नपुग्नु, आर्थिक सशक्तीकरणको कमी, समानताको अधिकार स्थापित हुन नसक्नुले प्रभाव पारेको बताउँछन्।
उनका अनुसार अन्य समुदायमा भएको शिक्षाको विकास, स्वास्थ्यमा पहुँच, जनचेतनाको विकास, महिला सशक्तीकरण हुन नसक्नु, आर्थिक सशक्तीकरणको कमी जस्ता पक्ष मुख्य कारण रहेको पुरीले बताए। दलित र मधेसी समुदायमा कायम पछौटेपनले पनि यो समूहमा प्रजनन दर घट्न नसकेको पुरीको भनाइ छ।
त्रिवि जनसंख्या विभागप्रमुख गुरुङका अनुसार नेपालमा यो समूहमा स्वास्थ्य शिक्षाको पहुँच कमजोर हुनु, मधेस प्रदेशमा विद्यमान पछौटेपन, विकासका आयामको पहुँच नपुग्नुले प्रजनन दर उच्च भएको हो। ‘अहिले पनि दलित तथा दुर्गम क्षेत्रमा परिवार नियोजनका साधन र अन्य स्वास्थ्य सेवाको समान पहुँच पुगेको छैन,’ उनले भने।
अध्ययनहरूले आर्थिक सशक्तीकरण भएका र शिक्षाको विकास भएका क्षेत्रका महिलामा स्वतः प्रजनन दर नियन्त्रणमा रहेको देखिन्छ। जुन समूहमा मृत्युदर बढी हुन्छ, त्यो समुदायमा जन्मदर बढी हुने विभागप्रमुख गुरुङ बताउँछन्।
उनका अनुसार यो समूहमा नवजात तथा जन्मजात हुने शिशुको मृत्युदर बढी हुने कारणले पनि मृत्युको भयले सन्तानबाट सुरक्षित हुन समाजमा धेरै बच्चा जन्माउने सभ्यताको विकास भएको उनले बताए।
‘यो समूहमा मृत्युदर बढी हुन सक्छ,’ उनले भने। सरकारको नीति तथा कार्यक्रममार्फत पारेको कुनै न कुनै भूमिकाले केही प्रभाव परेको भए पनि मुस्लिम तथा अन्य समूहमा उनीहरूमा कायम सामाजिक/सांस्कृतिक मान्यताले पनि प्रजनन दर उच्च हुनसक्ने गुरुङ बताउँछन्। ‘शिक्षाको विकास भएको छ भने त्यहीअनुसार चेतनाको विकास भएको हुन्छ र प्रजनन दर स्वतः घट्छ,’ उनले भने।
दलित समुदायका अनुसन्धानकर्ता हीरा विश्वकर्मा पोषण नपुगेकाले बच्चाको मृत्यु हुने भएकाले कुनै न कुनै बाँचून् भन्ने उद्देश्यले दलित समुदायले धेरै बच्चा जन्माउने दर बढी भएको बताउँछन्। ‘पाँचवटा पायो भने तीनवटा भए पनि बाँच्छन् भन्ने सोेचले धेरै जन्माउने गरेका हुन्,’ उनले भने। पहाडी दलितमा शिक्षा र आर्थिक सशक्तीकरणका कारण यो दर घटे पनि मधेसी दलितमा अहिले पनि उस्तै रहेको विश्वकर्मा बताउँछन्।
‘तुलनात्मक रूपमा मधेसी दलितका सबै पक्षमा सशक्तीकरण हुन सकेको देखिँदैन,’ उनने भने। नेपाल लिभिङ स्ट्यान्डर्ड सर्वेक्षण २००१, २०११ र २०१६ ले नेपालमा दलित समुदायमा क्रमशः ५४, ४८ र ४२ प्रतिशत गरिबीको रेखामुनि रहेको तथ्यांक रहेकामा पछिल्लो सर्वेक्षणले दलित समुदायको छुट्टै तथ्यांक प्रकाशित नगरेको विश्वकर्मा बताउँछन्।
प्रकाशित: १८ असार २०८१ ०७:१२ मंगलबार