२६ पुस २०८२ शनिबार
image/svg+xml
शिक्षा

त्रिवि सधैँ तालाको ‘बन्दी’

त्रिभुवन विश्वविद्यालय भन्नासाथ जो कोहीको मनमा सम्मानको भाव उत्पन्न हुन्छ । किनकि यसले नेपालको उच्च शिक्षामा स्थापनाकालदेखि नै गौरवपूर्ण इतिहास बोकेको छ। 

यही विश्वविद्यालय पछिल्लो समय तालाबन्दीको पर्यायवाची बनेको छ। गुणस्तरीय उच्च शिक्षाका माध्यमबाट दक्ष जनशक्ति उत्पादन गरी देश विकासको आधार तयार पार्ने विश्वविद्यालय हाल तालाबन्दी नै तालाबन्दीले थिचिँदै गएको छ। 

यस्ता तालाबन्दी कहिले आंशिक शिक्षक त कहिले करार शिक्षकले गर्छन्। कतिपय अवस्थामा कर्मचारी पनि तालाबन्दीमा तम्सिँदा विद्यार्थी संगठनले स–साना झमेलामै तालाबन्दीमा उत्रिने गरेका छन्। 

यसरी हुने तालाबन्दीले विश्वविद्यालयको शैक्षिक वातावरण धराशायी बन्दै गएको छ।

‘भयको खेती’का लागि तालाबन्दी

यस्ता तालाबन्दीहरूको उद्देश्य ‘भयको खेती’ गर्नु मात्रै रहेको जानकारहरूको तर्क छ। तालाबन्दीको आडमा भय सिर्जना गरेर स्वार्थपूर्ति गर्ने तथा बार्गेनिङ गरी असुली धन्दा चलाउने उद्देश्य रहने बुझ्नेहरूको तर्क छ। 

पछिल्लो समय जेठ १४ गते निमित्त उपकुलपति प्रा.डा. खड्ग केसीको कार्यालयमा तोडफोड र तालाबन्दी भएको थियो। नेपाल विद्यार्थी संघले केही केही विद्यार्थी भर्नाको विषयलाई लिएर निमित्त उपकुलपतिको कार्यालयमा तोडफोड र तालाबन्दी गरेका थिए।  यस्तै शिक्षाध्यक्ष दुविनन्द ढकाल र रजिस्ट्रार प्रा.डा. केदार रिजालको कार्यकक्षमा तालाबन्दी गरिएको थियो। 

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअघि स्थगित गरिएको स्नातक तह प्रथम वर्षको विद्यार्थी भर्ना खुलाउनु पर्ने उनीहरूको माग थियो। विश्वविद्यालयले भने अहिले परीक्षा फाराम खुला भइसकेको भन्दै भर्ना खुलाउन अस्वीकार गरेको थियो। 

‘यो बेथितिको एक पराकाष्ठाको नमुना हो,’ शिक्षाध्यक्ष ढकालले भने, ‘विद्यार्थी भर्ना फागुनमै बन्द भइसक्यो। असार अन्तिममा परीक्षा सुरु हुन्छ। यस्तो बेला भर्ना खोल्नुपर्छ भनेर आन्दोलन गर्नु गलत प्रवृत्ति हो।’ एक दुई दिनभित्रै परीक्षा तालिका सार्वजनिक हुन बेला भर्ना खुलाउन नसकिने उनले बताए। 

विश्वविद्यालयमा तालाबन्दी र तोडफोड भएको यो पहिलो र नौलो उदाहरण भने होइन। त्रिविका पूर्व उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे सिंगो कार्यकाल विद्यार्थी र शिक्षक संगठनको तालाबन्दीमै बितेको थियो। उनको कार्यकालको चार वर्षमा त्रिविले ३४३ दिन तालाबन्दी बेहोरेको थियो। 

त्रिविकै उपप्राध्यापक प्रेम चलाउने विश्वविद्यालयमा बढ्दै गएको दण्डहीनताका कारण गुण्डागर्दी बढ्दै गएको बताउँछन्। आफूमाथि ज्यान मार्ने स्तरको हमला भएको ५ वर्ष बित्दा पनि न्याय पाउन नसकेको उनी बताउँछन्। उनी विश्वविद्यालयमै अध्ययनरत विद्यार्थीले यस्तो असभ्यता प्रदर्शन नगर्ने दाबी गर्छन्।

‘विश्वविद्यालयमा नियमित अध्ययन गर्ने विद्यार्थीले कहिल्यै यस्ता तालाबन्दी, तोडफोड वा गुरुलाई अपमान गर्ने काम गर्दैनन्,’ उनी भन्छन्। यस्ता दण्डहीनताका कामलाई प्रश्रय दिन नहुने पनि उनको तर्क छ। उनले भने, ‘विश्वविद्यालय भित्र हुने यस्ता घटनालाई कानुनी दायरामा पुर्‍याउँदै लैजाने हो भने तालाबन्दी र तोडफोडका घटना दोहोरिन्नन्।’ 

राजनीतिकरणको परिणाम 

विश्वविद्यालय पछिल्लो समय राजनीति दलदलमा फस्दै गएकाले यस्ता घटना हुने गरेको तर्क गर्नेहरू धेरै छन्। विश्वविद्यालयमा संस्थागत ढंगबाट राजनीति प्रवेश गरेपछि प्राज्ञिक भन्दा अ प्राज्ञिक कार्य बढी हुन थालेकाले यस्ता गतिविधि बढेका हुन्। 

राजनीतिक स्तरबाट हुने पदाधिकारी नियुक्ति गरिँदा त्यसले अर्को राजनीतिक पक्षका लागि सर्व स्वीकार्यताको कमी हुने गरेको छ। जसले राजनीतिक आडमै यस्ता तोडफोड र तालाबन्दी हुने गरेका छन्।

विश्वविद्यालयमा राजनीति भागबन्डामा पदाधिकारी नियुक्ति गर्ने प्रक्रियाले संस्थागत रूपमै मान्यता पाउन थालेपछि यस्ता घटना झन् बढेका छन्। यही कारण विश्वविद्यालयको शैक्षिक स्तर खस्कँदै गएको विज्ञहरूको तर्क छ। 

शिक्षाविद् विद्यानाथ कोइरालाले विश्वविद्यालयका पदाधिकारीले पनि एक स्थायी प्रणाली बनाएर अघि बढ्न नसक्दा राजनीतिले स्थान पाएको बताउँछन्।  

प्रकाशित: २५ जेष्ठ २०८२ १३:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App