बागलुङ कालिका बालउद्यान प्रवेश गर्नासाथ दाँयापट्टी विविएस फास्ट फुड सेन्टर लेखिएको स्टल भेटिन्छ। जहाँ त्रिभुवन विश्वविद्यालयको लोगो अंकित टिसर्ट लगाएका विद्यार्थीहरू ग्राहकको सेवामा तल्लीन छन्।
उनीहरू धवलागिरि बहुमुखी क्याम्पस बागलुङको विविएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरू हुन्। बुधबारदेखि बिहानैदेखि फास्ट फुड सेन्टर आउने र ग्राहकको अर्डर अनुसार खाजा र फास्ट फुडका परिकारहरू तयार गर्ने र पस्किने उनीहरूको दैनिकी हो। आफ्नो स्टलको पहिचानको रूपमा उनीहरूले नेवारी परिकार योमरीलाई राखेका छन्।
बागलुङ कालिका बालउद्यान भलिबल कोर्टको बायाँपट्टी हरिया होर्डिङ बोर्डहरूको बीचमा अर्को एउटा भिन्नै फ्लेक्स बोर्ड देखिन्छ। जहाँ लेखिएको छ विविए फास्ट फुड सेन्टर। यहाँको सिग्नेचर परिकार लस्सी हो। यो फास्ट फुड सेन्टर विविए पाँचौं सेमेस्टरमा अध्ययनरत विद्यार्थीले चलाएका हुन्। यी दुई स्टलकर्ताबीच आफ्नोमा ग्राहक तान्ने एकखाले होडबाजी जस्तै पनि देखिन्छ। किचन र वेटरको मोर्चा सम्हाल्ने बाहेककाहरू बालउद्यान कार्यक्रम स्थल वरिपरि र उद्यानको गेट बाहिर पुगेर आफ्नो स्टल र सेवा बारेमा जानकारी समेत गराउँछन्।
धवलागिरि बहुमुखी क्याम्पस बागलुङमा व्यवस्थापन संकाय अन्तर्गत विविएस तेस्रो र विविए पाँचौं सेमेस्टरमा अध्ययन गर्ने उनीहरूले किताबमा पढेका कुराहरूलाई व्यवहारमा अनुभव गर्न अवधिभरका लागि छुट्टाछुट्टै रेष्टुरेन्टसहितको फास्ट फुड सेन्टर सञ्चालनमा ल्याएका हुन्। यसबाट क्याम्पसमा पढेका कुराहरूलाई व्यवहारमा उतार्नका लागि सहयोग पुग्ने विविए पाँचौं सेमेस्टरकी टिम लिडर सुजाता शर्माले बताइन्।
‘हामी म्यानेजमेन्ट पढ्ने विद्यार्थी भोलिका दिनमा कलेज सकेर बजारमा जाँदा व्यवस्थापन कलामा सजिलो होस् भनेर हामीले यो काम थालेका छौं,’ उनले भनिन्, ‘अहिलेसम्म घोकन्ते शिक्षा लिएका थियौं अब यसलाई प्राक्टीकल गरेर हेरौं, आम मानिससँग डिल गर्न र व्यावसायिक रूपमा परिपक्क हुनका लागि यसले सहयोग गर्ने छ भन्ने हाम्रो विश्वास छ।’ विविए पाँचौ सेमेस्टरमा अध्ययन गर्ने २९ जना विद्यार्थीले जनही दुई हजारका दरले रकम संकलन गरी लगानी गरेर व्यवसायको सुरुवात गरेको उनले बताइन्।
उनीहरूको स्टलमा आलु पकौडा, आलु चिप्स, चिकेन र भेज मःम, लस्सी, चिया, दुनोट, समोसा, चटपट, पानीपुरी, दही पानीपुरी लगायतको परिकारहरू पाइन्छ। विद्यार्थीहरूमा कम्युनिकेसन क्षमताको विकास गर्ने र स्वदेशमै लगानी गरेर व्यवसाय गर्नका लागि यसले सहयोग पुग्ने उनीहरूको विश्वास छ। व्यवस्थापन क्षमता विकासका लागि अभ्यास स्वरुप सञ्चालन गरिएकाले छिटो छरितो तयार हुने परिकारहरूलाई प्राथमिकता राखेको विविएस तेस्रो वर्षकी टिम लिडर एलिना गौतम बताउँछिन्।
‘विविएसबाट यसरी स्टल राखेको यो पहिलो पटक हो, हामी यसमा १६ जनाले तीन हजारका दरले लगानी गरेका छौं,’ उनी भन्छिन्, ‘किताबबाट सिकेको कुरा जीवनमा उतारौं र म्यानेजमेन्ट स्कीलको परीक्षण गरौं भनेर हो।’ उनीहरूले विशेष परिकारको रूपमा योमरी समावेश गरेका छौं। ‘हामी आफैँलाई त बनाउन आउँदैन, साथीको आमाले बनाउनुहुन्छ, नेवारी खानाको प्रवर्द्धन गरौं भने योमरीलाई प्राथमिकता दिएर बिक्री गरिरहेको छौं,’ उनले भनिन्, ‘मःम, चटपट, पानीपुरी, पकौडा, सेलरोटी लगायतका परिकार बनाएर बिक्री गरेका छौं।’
विद्यार्थीले सञ्चालन गरेका स्टल अवलोकन गरेका सहायक क्याम्पस प्रमुख हिरालाल रेग्मीले विद्यार्थीमा व्यवस्थापकीय कला र आम व्यक्तिहरूसँग डिल गर्ने क्षमताको विकास हुने विश्वास व्यक्त गरे। ‘हामीले क्याम्पसबाट उत्पादन गरेको जनशक्तिले बजारको माग पूरा गरुन् र बजारले उनीहरूलाई सहज रूपमा लियोस् भन्ने हो,’ रेग्मीले भने, ‘विद्यार्थीहरूले यसरी फिल्डमै खटिएर काम गर्दा त्यो सीपको विकास हुनेछ र भोलिका दिनमा उनीहरूलाई सहज हुनेछ भन्ने हाम्रो विश्वास छ।’
विद्यार्थीले नै व्यवसाय सञ्चालन गर्ने भएपछि मेला आयोजक बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङले दुई वटा स्टल निःशुल्क रूपमा उपलब्ध गराएको गुठी व्यवस्थापन समिति अध्यक्ष कुमार खड्काले बताए। ‘विद्यार्थीहरू नै उद्यम यात्रामा लाग्ने भएपछि हामीले विविएस र विविएका विद्यार्थीका लागि दुई वटा स्टल निःशुल्क उपलब्ध गराएका छौं,’ उनले भने, ‘उनीहरूले व्यावसायिक क्षमताको विकास गरेर उद्यम यात्रामा लागे भने हाम्रा लागि पनि गौरवको कुरा हुनेछ।’ चैत्राष्टमी मेला चैत २५ सम्म चल्ने छ।
प्रकाशित: २२ चैत्र २०८१ ११:१० शुक्रबार