२७ पुस २०८२ आइतबार
image/svg+xml
शिक्षा

विद्यालयकाे नाममा ‘इन्टरनेसनल’ जोड्न एक तिहाई विद्यार्थी विदेशी हुनुपर्ने

काठमाडौं महानगरपालिकाले विद्यालयको नाम र चिन्हमा एक रूपता ल्याउन विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ कडाइका साथ कार्यान्वयन गर्न संस्थागत विद्यालयहरूलाई निर्देशन दिएको छ।

महानगरका प्रमुख बालेन्द्र साह (बालेन) ले आइतबार बिहान सामाजिक सञ्जाल मार्फत सबै संस्थागत विद्यालयहरूलाई नाम अनुसारको कार्य गर्न र विद्यालयको चिन्हमा एकरूपता कायम गर्न निर्देशन दिएका हुन्।

‘विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ६९,७० तथा सोही नियमावलीको ७० को उपनियम १ र २ ले विद्यालयको नाम र चिन्हमा एक रुपता ल्याउन खोजेको छ ,’ मेयर साहले सामाजिक सञ्जाल मार्फत नियमावली पालना गर्न अवगत गराउँदै उल्लेख गरेका छन् ‘नियम ६९ मा विद्यालयको चिन्ह षट्कोणको हुन्छ। विद्यालय व्यवस्थापन समितिले निर्णय गरी षट्कोणके बीचमा आफ्नो विद्यालयको नाम छुटै चिन्ह राख्न सक्नेछन्।’ 

उनले थप सचेत गराएका छन् ‘नियमावलीको उपनियम २ ले संस्थागत विद्यालयले आफ्नो नाममा इन्टरनेशनल शब्द जोड्न चाहेमा कम्तीमा एक तिहाई सङ्ख्यामा विदेशी विद्यार्थी विद्यालयमा अनिवार्य हुनु पर्नेछ। ’यसै गरी सोही नियममा कुनै संस्थागत विद्यालयले आफ्नो नाममा पब्लिक शब्द जोड्न चाहेमा कम्तीमा एक तिहाई विद्यार्थी पूर्ण छात्रवृत्ति अध्ययनरत रहेको हुनुपर्ने छ। भने कुनै संस्थागत विद्यालयले नेशनल शब्द जोड्न चाहेमा नेपालको कम्तीमा २५ जिल्लाको विद्यार्थी अध्ययनरत रहेको हुनु पर्ने छ।

काठमाडौं शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार नियमावलीले गरेको व्यवस्था अनुसार उपनियम लागु हुनु अगावै यस नियम विपरीतका शब्दहरू जोडेर नामाकरण भैसकेका हकमा नियमावली जारी गरिएको दोस्रो शैक्षिक सत्रको सुरु देखिनै लागू हुने गरी उपयुक्त व्यवस्था पालना गर्न वा पुनः नामाकरण गर्नु पर्ने व्यवस्था छ। तर नियमावली जारी भएको ६ वर्ष पुगिसक्दा पनि कार्यान्वयन प्रभावकारी नभएपछि मेयर साहले सामाजिक सञ्जाल मार्फत निर्देशन दिएका हुन्।

‘नियमावलीको नियम ७० मा विद्यालयको नामकरणको सवालमा समाज तथा राष्ट्रकैलागि उल्लेखनीय योगदान गर्ने वा ऐतिहासिक व्यक्ति ,देवीदेवता, तीर्थस्थल, वा प्राकृतिक सम्पदा आदिको नामबाट नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नु पर्ने व्यवस्था छ,’ कोइरालाले भने ‘तर यो नियम प्रारम्भ हुनु भन्दा अगावै यस नियम विपरीत नामाकरण भइकसेका विद्यालयको हकमा यो नियम जारी भएपछिको दोस्रो शैक्षिक सत्रको सुरु देखिनै लागू हुने गरी पुनः नामाकरण गर्न चाहेमा महानगरपालिकाबाट स्वीकृति लिनु पर्ने छ।’ उनले थपे ‘तर नियमावली कार्यान्वयन भएको ६ वर्षसम्म पनि संस्थागत विद्यालयहरूले नियमको पालना नगरेको पाइयो। त्यही भएर मेयर साहले नियमावली पालना गराई विद्यालय शिक्षामा एकरूपता ल्याउन सामाजिक सञ्जालबाटै आग्रह गर्नु भएको हो।’

मेयर बालेनले सामाजिक सञ्जालमा सबै संस्थागत विद्यालयलाई नियम भित्र रहन आग्रह गरेका छन्। ‘यसैले यी नियमको पालना गर्दै विद्यालयको चिन्ह र नाममा एकरूपता ल्याएर मौलिक र मापदण्ड अनुरूप रहन’ आग्रह गर्दछौँ,’ मेयर साहले भनेका छन् ‘नियमको पालना नभएको खण्डमा कानुनी कारबाही गर्न महानगर बाध्य हुने छ।’

प्रकाशित: १७ वैशाख २०८० १३:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App