माङसेबुङ गाउँपालिका–२ रत्नबस्तीका किसान राजेश राईले कफीको बिरुवा बेचेर राम्रो आम्दानी गरिरहेका छन्। उनले यस वर्षमात्र कफीका बिरुवा बिक्रीबाट रु १३ लाख ५० हजार आम्दानी गरे।
पाँच वर्षअघि ‘वाङदेल नर्सरी सेन्टर’ स्थापना गरी कफीका बिरुवा उत्पादन गरिरहेका राई माङसेबुङकै एक असल बिरुवा उत्पादक किसानका रूपमा परिचित छन्। फेवाखोला नजिकै गजुरमुखी–इभाङ–चतुरे सडकको छेउमा पाँच रोपनी जग्गामा बिरुवा उत्पादन गरिरहेका छन्। यस वर्ष उनले ४५ हजार कफीका बिरुवा बिक्री गरे।
कफीको बिरुवा उत्पादन गर्न थालेपछि नर्सरीमै बिरुवा लिन आउने गरेको उनले बताए। कम समय, श्रम र पैसामा धेरै उत्पादन र आम्दानी गर्न सकिने भएकाले कफीको बिरुवा उत्पादनलाई प्राथमिकतामा राखेको उनको भनाइ छ।
कफीको बिरुवा इलामसँगै पूर्वको सङ्खुवासभा र भोजपुर जिल्ला तथा छिमेकी मुलुक भारतको सिक्किमसम्म लैजाने गरिएको छ। बिरुवा विभिन्न पालिका, वडा कार्यालय, फार्म र किसानले खरिद गरी लैजाने गरेको उनको भनाइ छ।
‘बिरुवा उत्पादन गर्न खासै धेरै मेहनत र समय पनि लाग्दैन,’ उनले भने, ‘यहाँ उत्पादित बिरुवा इलाम तथा बाहिरसमेत जाने गरेको छ।’ कफीको बिरुवा प्रतिगोटा रु ३० का दरले नर्सरीबाटै बिक्री भएको उनले बताए।
राईले नर्सरीमा कफीमात्र होइन, अरु वनपैदावार बिरुवासमेत उत्पादन गरिरहेका छन्। उनको नर्सरीमा लाम्पाते, सिमल, पानीसाज, खमारी, उतिसलगायत वनपैदावार र आँप, लिची, कटहरलगायत फलफूलका बिरुवा पनि उत्पादन हुन्छ। वनपैदावार र फलफूलको बिरुवा प्रतिगोटा रु ४० का दरले नर्सरीबाटै बिक्री हुने गरेको उनले बताए।
‘कफीको बिरुवालाई पहिलो प्राथमिकता दिएको छु। अन्य वनपैदावार र फलफूलका बिरुवा पनि छन्,’ उनले भने, ‘एकै ठाउँमा आफूलाई चाहिएको जति बिरुवा पाइने भएपछि ग्राहकलाई पनि सजिलो भएको छ।’ बिरुवा स्याहारसुसार तथा उखेल्ने र बिक्री गर्ने काममा राजेश आफैँ खट्छन्। छोटो समयमा धेरै आम्दानी गर्न सकिने भएकाले बिरुवा उत्पादनमा जोड दिएको उनको भनाइ छ।
उनको नर्सरी फार्मलाई कोशी प्रदेश सरकारको पनि राम्रै सहयोग मिलेको छ। दुई वर्षअघि कृषि ज्ञान केन्द्र इलाममार्फत नर्सरी प्रवर्द्धनका लागि उनले लागत साझेदारीमा रु दुई लाख अनुदान पाए। साझेदारीमा व्यवस्थित टनेल निर्माण गरिएको उनले बताए। कृषि ज्ञान केन्द्र इलामको तथ्याङ्कअनुसार इलाममा एक सय ३५ हेक्टर क्षेत्रमा कफीको व्यावसायिक खेती हुन्छ। रासस
प्रकाशित: २९ असार २०८२ १०:१७ आइतबार





