राप्रपाका सांसद खुश्बु ओलीले सीमा विवादबारे परराष्ट्र मन्त्री शिशिर खनालको भूमिकामाथि असन्तुष्टि जनाएकी छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले परराष्ट्रमन्त्रीले दिल्ली भ्रमणमा जाँदा दिएको अभिव्यक्ति चित्त बुझ्दो नभएको बताएकी हुन्। उनले परराष्ट्रमन्त्रीले दिल्ली भ्रमणमा जाँदा सीमा विवादका विषयमा पछि बोल्छु भनेको र दिल्ली पुगेपश्चात् समेत यस विषयमा केही बोलेको र चासो नदेखाएको आरोप लगाएकी छन्।
'सीमा विवादका बारेमा परराष्ट्रमन्त्रीज्युले राख्नुभएको कुरामा असमर्थ जनाउन चाहन्छु। दिल्लीको औपचारिक वार्तामा कहीँकतै उहाँले सीमा विवादको विषयमा बोल्नु भएन। भ्रमण सकिएपछि बन्द कोठामा पत्रकारहरूसँग उठाउनु भयो। काठमाडौं फर्केपछि पत्रकारले उठाएपछि प्रेस नोटमा केही भन्नुभएन,' उनले भनिन्, 'विगत चार वर्षमा कुनै न कुनै रूपमा नेपालले लेख्ने प्रेस नोटमा सीमा विवादका विषय जहिल्यै पनि रहँन्थ्यो। पहिलो पटक हाम्रो प्रेस नोटबाट हटेको छ।'
उनले दिल्लीबाट फर्केर पनि केही नबोलेको बताउँदै आगामी दिनमा चीन भ्रमणका बेला सीमा विवादका विषयमा बोल्न परराष्ट्रमन्त्रीलाई आग्रह गरिन्।
प्रकाशित: २९ जेष्ठ २०८३ ११:५९ शुक्रबार





