४ श्रावण २०८३ सोमबार
image/svg+xml
राजनीति

सांसद खड्काको प्रश्न : सुदन गुरुङलाई 'चोख्याएर' पुनः गृहमन्त्री बनाइयो, सुशासनको बाटोमा सरकार खै?

प्रतिनिधिसभा सदस्य भरतबहादुर खड्काले गृहमन्त्री सुदन गुरुङलाई चोख्याएर पुनः गृहमन्त्री बनाइएको बताएका छन्। उनले शुक्रबार प्रतिनिधि सभामा बोल्दै सरकारले सुशासनको नाराविपरीत काम गरेको बताएका हुन्। 

खड्काले गृहमन्त्री गुरुङको सम्पत्तिसम्बन्धी विषयमा पनि प्रश्न उठाउँदै छानबिन प्रक्रियामा पारदर्शिता नभएको बताएका हुन्। ‘समितिले चोख्याएर प्रतिवेदन बुझायो भन्ने सुनिन्छ, तर उक्त प्रतिवेदन सार्वजनिक नगरी फेरि उहाँलाई गृहमन्त्री बनाइयो,’ उनले भने।  

उनले सरकारको सुशासनको प्रतिबद्धता अनुरुप काम नभएको भन्दै एकातिर सुशासनको नारा, अर्कोतिर प्रश्न उठेका व्यक्तिलाई पुरस्कारस्वरूप पुनः जिम्मेवारी दिने काम भइरहेको बताए।

खड्काले जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठन गरिएको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अधुरो र अपुरो रहेको राष्ट्रिय मानव अधिकार आयोगले समेत छुट्टै छानबिन गरेको बताए। 

उनले मानव अधिकार आयोगको प्रतिवेदनमा हालका गृहमन्त्री सुदन गुरुङ नामसहित आन्दोलनका क्रममा कारागार जलाउने तथा ‘रुफटप’ गाडीमा हात हल्लाउँदै बाहिर निस्किएका व्यक्तिहरूको नाम पनि प्रतिवेदनमा समावेश रहेको भन्दै कार्यन्वयन गर्न माग गरेका हुन्।  

उनले भने, ‘उक्त प्रतिवेदनको कार्यान्वयन कहिले हुन्छ? प्रतिवेदनमा समावेश भएका वरिष्ठ व्यक्तिहरूलाई सम्मान कहिले मिल्छ? सरकारले तयार पारेको सुशासनका १०० कार्यसूचीमा एक साताभित्र जेनजी आन्दोलनको घटना छानबिन गराउने भनिएको अर्को आयोग कहिले बन्छ? त्यो एक साताको समय कहिले आउँछ?' भन्दै उनले सरकारसँग जवाफ मागे। 

प्रकाशित: २९ जेष्ठ २०८३ ११:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App