नेकपा एमालेका सांसद गुरु बरालले विगतको कुरालाई देखाएर अर्थमन्त्रीले बजेट छेडखानी गर्न नपाउने बताएका छन्।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अर्थमन्त्रीले बजेटको दररेटमाथि छेडखानी गरेर राजश्वलाई तलमाथि पारेको आरोप लगाउँदै यसबारे छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरे।
‘विगतको कुरालाई देखाएर अहिले अर्थमन्त्रीले बजेटको दररेटमाथि छेडखानी भएर राजश्वलाई तलमाथि पार्नुभएको छ, यो चिजबाट उम्किन पाइँदैन’, उनले भने, ‘एउटा संसदीय समिति मार्फत मात्रै यो विषयलाई छानबिन गरेर निरूपित गर्नुपर्छ, अन्यथा यस खालका चलनहरू चलिरहनेछन्, गलत चिजहरूको नजिर र अभ्यास बसिरहनेछ।’
यस्तै, उनले विगतका सबै घटनाहरूलाई दूधको दूध पानीको पानी गरेर छुट्टाउनको प्रतिपक्ष तयार रहेको बताए।
‘देशको अर्थमन्त्रीले आफ्नो विचार अभिव्यक्ति गरिरहँदा विगतको इतिहासलाई केलाएर केही सन्दर्भहरू उठाउनुभयो,’ उनले भने, ‘विगतका सबै घटनाहरूलाई दूधको दूध पानीको पानी गरेर छुट्टाउनको लागि यो प्रतिपक्ष हाजिर छ। त्यसले सत्यापनलाई प्रमाणित गर्न सक्छ, कमजोरी भए सच्याउन चाहन्छ।’
प्रकाशित: २९ जेष्ठ २०८३ ११:५७ शुक्रबार





