५ असार २०८३ शुक्रबार
image/svg+xml
कला/साहित्य

कवि तेजप्रकाश श्रेष्ठको ‘जाँगरको कल्पवृक्ष’ लोकार्पण

अग्रज साहित्यकार, कवि तेजप्रकाश श्रेष्ठको नयाँ कवितासङ्ग्रह ‘जाँगरको कल्पवृक्ष’ को लोकार्पण भएको छ।

चिवहाल, ठमेलमा आयोजित एक कार्यक्रममा भुवनहरि सिग्देल, श्रीओम श्रेष्ठ रोदन, प्राडा कपिल लामिछाने, छविरमण सिलवाल, प्रदीप सापकोटा र कवि श्रेष्ठले उक्त कृति सार्वजनिक गरे।

प्रमुख अतिथि अग्रज साहित्यकार, कवि भूवनहरि सिग्देलले नेपाली साहित्यमा श्रेष्ठको पदचापमा हिँड्ने प्रेरणा सबै कवि साहित्यकारले पाएको बताए।

उनले सुन्दर नियात्रा र संस्कृतिमा कलम चलाउने श्रेष्ठले जागिर छोडे पनि कलम नछाडेको भन्दै उनको सक्रियता र क्रियाशिलता देखेर आफूलाई इर्ष्या लागेको बताए।

उनले भने, ‘कल्पनाले विलक्षण कवि बौलाउँछ, त्यसमा तर जोड दिँदा सुन्दर कविता जन्मिन्छ। साहित्य भनेको नेपाल हो,साहित्य भनेको भाषा हो,यसलाई छोड्ने हो भने देश गुम्छ। हामी स्रष्टाहरू अवैतनिक ढंगले देशको सेवा गरिरहेका छौं। तेजप्रकाशबाट अरू पनि कृति जन्मिउँन।’

अर्का वक्ता श्रीओम श्रेष्ठ ‘रोदन’ ले भने, ’साहित्य र नियात्रा साहित्यमा मात्र नभएर संस्कृतिमा पनि सक्रिय योगदान गरेका स्रष्टा तेजप्रकाशको नाम झिकिदिने हो भने अधुरो रहन्छ। उनको कविताप्रतिको प्रेम पनि उच्च रहेछ।

सुनकोशी वाङ्मय प्रतिष्ठानद्धारा आयोजित कार्यक्रममका कृतिमाथि परिचर्चा गर्दै प्राडा लामिछानेले भने,  ‘नियात्राकारमा उच्च छवि बनाएका श्रेष्ठको कविता विधामा द्वन्द्व,छ,सन्त्रास छ, द्वन्द्वका पीडाबाट भयभित जन,कोरोना कहर, दिवंगत आफन्तप्रतिको श्रद्धा सुमन रहेको  छ।’

उनले संस्कृतिका विभिन्न अध्ययनअनुसन्धान गरेका कविले संस्कृतिका विभिन्न विषयले कवितामा विषयवस्तु बनेका बताए।

त्यस्तै युवा समालाेचक प्रदीप सापकोटाले सशस्त्र द्वन्द्वकालीन समयको त्रासदी,सर्वसाधारण मान्छेका मनोदशा, नेपाली राजनीतिका विकृति, नेताहरूको स्वार्थ र आम जनताका निराशालाई कविले कवितामा विषयवस्तु बनाएको बताए।

उनले भने,’कोरोना लगायतका प्राकृतिक विपत्तिहरू,मानवीय संवेदनाका विभिन्न पक्ष, आफन्तहरूको शोक, प्रकृतिप्रेम र पर्याचेत,अग्रज स्रष्टाहरूप्रतिको सम्मान,ह्रासोन्मुख संस्कृति जस्ता विषयमा  कवि तेजप्रकाश श्रेष्ठको कलम चलेको छ। प्रायः कतिपय कविता प्रतिकात्मक रुपमा आएको बताउँदै सापकोटाले कवित्व समसामयिक चेतका बलिया खम्बा हुनुहुन्छ। उमेरको प्रौढतासँगै कविताहरू देखिएको छ । कतिपय कवितामा बिम्ब, प्रतिक र अलंकारहरूको प्रयोग भएका छन्।’

कृतिकार श्रेष्ठले भने, ‘मैले लेखेका कविता कविता हुन कि होइनन् मलाई नै थाहा छैन्।’ विश्वास नलागेर साथीभाइलाई देखाउँदा कविता बनेको छ भनेर उत्प्रेरित गरिदिनाले यो कृतिको रूपमा आएको बताए।

कार्यक्रममा कविहरू सुमन थापा,संगम,विश्व सिग्देल र अग्रज सञ्चारकर्मी एवं लेखक राजेश खनालले जाँगरको कल्पवृक्षका कविताहरू वाचन गरे।

प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन रामसुन्दर देउजाले गरेका थिए। कार्यक्रममा पूर्णबहादुर श्रेष्ठ ह्रदयङ्कृतले स्वागत मन्तव्य राखेका थिए।

जाँगरको कल्पवृक्षलाई सुनकोशी वाङ्मय प्रतिष्ठानले प्रकाशनमा ल्याएको हो।

प्रकाशित: ३० जेष्ठ २०८३ ०८:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App