२३ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

हिमाली भेगको पदयात्राः एबिसीमा सहज, अन्यत्र सकस

धेरैतिर सकस, सहज ठाउँमा पाहुना खचाखच

अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्ग क्षेत्रमा पदयात्रामा रहेका पाहुना। तस्बिर सौजन्यः दिलीप गुरुङ

हिमपात र वर्षाद्ले गर्दा हिमाली क्षेत्रको माथिल्लो भेग पुगेका विदेशी पर्यटक र उनीहरुका नेपाली सहयोगी समस्यामा परेका छन्। अन्नपूर्ण क्षेत्रको मनाङ र मुस्ताङ सहित म्याग्दीको धवलागिरी तथा गोरखाको मनास्लु सहित बागलुङको ढोरपाटन क्षेत्र पुगेका धेरै पर्यटकलाई हिडडुलमा सकस छ। अन्नपूर्ण क्षेत्रकै अन्नपूर्ण आधारशिविर (एबिसी) क्षेत्रमा भने कुनै समस्या नरहेको व्यवसायीले बताएका छन्। एबिसी क्षेत्रमा भने पाहुना खचाखच छन्।

हिउँ र पहिरोले धेरै पर्यटकको यात्रा असहज बन्न पुगेको व्यवसायीले बताएका छन्। मौसमी खराबीले पर्यटन क्षेत्रमा धेरैतिर समस्या निम्तेको छ भने केही क्षेत्रमा भने सहज छ। सहज रहेको क्षेत्रमा अहिले खचाखच पाहुना रहेको त्यहाँका व्यवसायीले बताएका छन्। हिमाली भेगको धेरैजसो क्षेत्रमा भद्रगोल अवस्था रहेको व्यवसायीको गुनासो छ।  

पदयात्रामा गएका ती विदेशी पर्यटक हिमपात र वर्षाको मारमा परेपछि गन्तव्यसम्म पुग्न सकेका छैनन भने कतिपय फर्किन पनि सकेका छैनन। आउजाउ असहज बनेपछि कतिपय पर्यटकले हेलिकप्टर बोलाएर फर्केका छन्। विभिन्न गन्तव्यमा रहेका पर्यटकलाई अहिले पोखराबाट निजी हेलिकप्टरले धमाधम उद्धार गरिरहेका छन्। उच्च हिमाली भेगमा मंगलबार पनि हिमपात भईरहेको स्थानीयले बताएका छन।  

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को मनाङस्थित संरक्षण अधिकृत लेखनाथ गौतमले मनाङको पदयात्रा निकै नै सकसपूर्ण बनेको बताए। उनका अनुसार पदयात्रामा गएका पर्यटक र उनीहरुको नेपाली सहयोगी पदमार्ग अप्ठेरो हुँदा समस्यामा परेका छन्। उच्च हिमाली भेगमा हिमपात भएपछि पदयात्रामा नजान पनि एक्यापले पर्यटकलाई अनुरोध गरेको छ। पदमार्गका विभिन्न ठाउँमा रहेका पर्यटकलाई सुरक्षित रहन एक्यापले अनुरोध गरेको उनले बताए।  

गौतमका अनुसार पदमार्ग अप्ठेरो हुँदाहुँदै पनि पर्यटकहरु जर्बजस्ती उक्लेका छन्। हरेक दिन मनाङमा पर्यटक थपिएको थपियै रहेको उनले बताए। ‘तलबाट उक्लिने पनि पर्याप्त छन। फर्कने पनि उत्तिकै छन। तर, सबैले तोकिएको पदयात्रा पुरा गर्न पाएका छैनन, हिडडुल निकै नै सकसपूर्ण छ,’ उनले भने, ‘हिडडुल सहज नहुँदा अप्ठेरो छ।’ उनका अनुसार अप्ठेरोमा परेका विदेशी र उनीहरुका नेपाली सहयोगीलाई विभिन्न कम्पनिले हेलिकप्टर पठाएर ठाउँठाउँबाट उद्धार गरिरहेका छन्।  

‘मौसम राम्रो नभएकोले पदयात्रामा नजान हामीले पनि अनुरोध गरेका छौं। सुरक्षित रुपमा जो जहाँ छ, त्यही रहन भनेका छौ। जर्बजस्ती पदयात्रामा निस्कदा बस्ने र खाने समस्या हुन सक्छ,’ गौतमले भने, ‘मौसम सुधार भएपछि मात्र पदयात्रामा जान भनेका छौ।’ उनका अनुसार अहिले पनि दिनमा डेढसय हाराहारीमा पाहुनाहरु मनाङ उक्लेका छन्।

‘पदमार्गका विभिन्न चेकपोष्टमार्फत हामीले पर्यटकलाई जर्बजस्ती पदयात्रामा नजान सचेत गराएका छौ। कतिपय पर्यटक उपयुक्त मौसमको पर्खाइमा छन। केही भने बीचबाटै फर्केका छन,’ उनले भने, ‘अहिले मनाङमा कोही अलपत्र छैन। तर पदमार्गमा हिडडुल सकसपूर्ण छ।’  

उनका अनुसार मनाङ र लम्जुङको सिमाना तालभन्दा माथि मनाङ सदरमुकाम चामेसम्म बाटो निकै नै खराब छ। त्यसले गर्दा पदमार्गको हिडाई सहज छैन। उनका अनुमानमा अहिले मनाङमा विदेशी र उनीहरुका नेपाली सहयोगी गरि एकहजार जना पाहुना छन।  

त्यस्तै अप्ठेरोमा मुस्ताङ पुगेका पाहुना पनि परेका छन्। अहिले मुस्ताङको जोमसोमसम्म स्थलमार्गको यात्रा निकै नै सकसपूर्ण छ। बेनी–जोमसोम खण्डको ठाउँठाउँमा पहिरो झर्दा स्थलमार्गको यात्रा सकसपूर्ण मात्र नभई जोखिमयुक्त पनि बनेको छ। एक्याप मुस्ताङका संरक्षण अधिकृत अशोक सुवेदीले अहिले पोखरा–जोमसोम हवाई यात्रा निरन्तर नरहेको र स्थलमार्गको यात्रा पनि जोखिमपूर्ण हुँदा हिडडुल सहज नभएको बताए।  

‘हवाई यातायात पनि मौसम खराबीले नियमित छैन । धेरैदिनदेखि पोखरा–जोमसोम उडान नै भएको छैन,’ उनले भने, ‘स्थलमार्ग त झनै जोखिमपूर्ण छ। बेनी–जोमसोमको ठाउँमा ठाउँमा पहिरो झर्दा राजमार्ग कुन बेला अवरुद्ध हुन्छ भन्ने नै यकिन हुँदैन।’ ‘बेनी–जोमसोम खण्ड निकै नै अप्ठेरो छ। कतिबेला कहाँ पहिरो खस्ने भन्ने यकिन छैन। बेनी–घाँसाको रुप्से आसपास र काभ्रेभीरमा बढी समस्या हो,’ उनले भने, ‘स्थलमार्ग अप्ठेरो हुँदा मुक्तिनाथ उक्लेका धेरै भारतीय पर्यटकलाई असहज भएकै हो। त्यसबाहेक आन्तरिक र तेश्रो मुलुकका पर्यटकको आउजाउ पनि सहज छैन।’ स्थलमार्ग झन्झट हुँदा मुस्ताङसम्मको यात्रा सजिलो नरहेको उनले बताए।

पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष सुशील पौडेलका अनुसार अहिले अप्ठेरोमा परेका पदयात्रीको हेलिकप्टरबाट उद्धार भईरहेको छ। पौडेलका अनुसार हेलिकप्टरबाट धवलागिरीको बेसक्याम्पमा रहेका पाहुनाको उद्धार गरिएको छ। त्यस्तै मनास्लु क्षेत्रमा अप्ठेरोमा परेका पदयात्रीको पनि हेलिकप्टरबाटै उद्धार भईरहेको छ। पदयात्रामा पाहुना पठाएका कम्पनिले अहिले हेलिकप्टरबाट धमाधम उद्धार गरिरहेको उनले बताए। काठमाडौंका कम्पनिले सरकारी निकायसँग समन्वय गरेर उद्धारको काम गरिरहेको उनले बताए।  

त्यस्तै मनाङको नार र फू क्षेत्रमा रोकिएका पाहुनाको पनि हेलिकप्टरबाटै उद्धार भएको छ। नार र फूमा अहिले केही पर्यटक रहेको उनले बताए। गोरखाको मनास्लुक्षेत्रमा अझै डेढसय जनाजति पर्यटक रहेको उनले बताए। त्यस्तै बागलुुङको पश्चिम क्षेत्र ढोरपाटनबाट डोल्पा जाने रुटमा करिब १ सय जना पर्यटक छन्। धौलागिरी क्षेत्रमा ७० जना जति रहेका छन्।  

‘विभिन्न रुटमा अहिले पर्यटक रोकिएका हुन्। हिडडुलमा समस्या भएपछि कतिपय उनीहरुले हेलिकप्ट मगाएर सुरक्षित सहरमा झरेका छन्,’ पौडेलले भने, ‘पदयात्रीले तोकिएको पदयात्रा पुरा गर्न पाएका छैनन। स्वदेश फर्किने तालिका बिग्रने डरले कतिपय पर्यटकले हेलिकप्टर मगाएर फर्केका छन्।’ विभिन्न पदमार्गमा रहेका पर्यटकहरु सुरक्षित नै रहेको तर, उनीहरुलाई हिडडुलमा भने सकस थपिएको पौडेलले जानकारी दिए।  

एबिसीमा भने खचाखच

हिमाली भेगको धेरैतिरका पदयात्रामा पर्यटकलाई सकस निम्तिँदा अन्नपूर्ण क्षेत्रकै अन्नपूर्ण आधारशिविर (एबिसी) क्षेत्रमा भने पर्यटकको भीडभाड रहेको छ। एबिसी पदमार्गमा यो पटक अहिलेसम्म कुनै समस्या नभएकोले पदयात्रीको भीडभाड बढेको त्यहाँका व्यवसायीले बताए। एबिसी र माछापुच्छ«े आधारशिविर (एमबिसी) क्षेत्रमा अहिले पदयात्रीको घुँइचो रहेको उनीहरुको भनाई छ।  

एमबिसीका पर्यटन व्यवसायी दिलीप गुरुङ अनुसार हिमाली भेगका अन्यत्र समस्या रहेपनि एबिसी पदमार्ग क्षेत्रमा भने यो पटक कुनै समस्या छैन। त्यहाँ सहज रुपमा पदयात्रा भईरहेको उनले बताए। ‘एबिसी क्षेत्रमा अहिले सहज छ। माछापुच्छ«े र अन्नपूर्ण आधारशिविरका होटलमा अहिले खचाखच पाहुना छन्,’ उनले भने, ‘अन्यत्र समस्या निम्तेपछि पाहुना अहिले एबिसीतिर मोडिएका छन्।’ त्यसले गर्दा भीडभाड बढाएको उनले बताए।  

उनका अनुसार एबिसीमा ६ वटा लजमा ३ सय जना पाहुना अट्छन। त्यस्तै एमबिसीका ५ वटा लजमा ३ सय जना पाहुना अट्छन। ‘अहिले सबै तिर भीडभाड छ । हरेक लजमा पाहुना भरिभराउ छन। ६० प्रतिशत नेपाली छन्। बाँकी भारतीय र तेश्रो मुलुकका विदेशी छन,’ उनले भने, ‘अन्यत्र समस्या भएपछि धेरै पाहुना अहिले एबिसीतिर डाइभर्ट भएकोले यहाँ भीडभाड भएको हो।’ पाहुना थपिएपनि बसोबास र खानपिनमा भने कुनै समस्या नरहेको उनले सुनाए।

प्रकाशित: २५ आश्विन २०७९ ०९:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App